देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस भित्रै विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएको छ ।

शुक्रवार आज काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो ।

महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताए । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु चुनावको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरे ।

महामन्त्री थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढङ्गले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको सङ्घर्षको आवश्यकता बोध हुन थालेको दाबी गरे। उनले युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने शाहस थपिएको भन्दै युवाहरुलाई निराश नबनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

महामन्त्री थापाले भने, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ । हाम्रो आफ्नै पार्टीभित्र सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढङ्गले हेरिएन भन्नेछ।’

महामन्त्री थापाले सरकारले डेङ्गी नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे । उनले सरकार मात्र चुनाव लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताए ।

उनले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर विरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेङ्गी नियन्त्रण र न्यूनीकरणका लागि पहल हुन नसकेको बताए । महामन्त्री थापाले डेङ्गीका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्ने बताए ।

उनले सरकारसँग देशभरको डेङ्गी सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएका दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे ।

महामन्त्री थापाले सरकारले महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।