देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली आकाश सुरक्षित छ : पर्यटनमन्त्री

देशान्तर

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ४१ औं त्रैवार्षिक महासभालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।

क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए ।

आईकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अंक विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताए ।

उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिवद्धता रहेको मन्त्री श्रेष्ठले बताए । नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको भन्दै उनले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

यसअघि मन्त्री श्रेष्ठले आईकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजा र आईकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले ईयूले नेपाललाई उडान सुरक्षा सूचीमा राखिरहनुको औचित्य नरहेको बताएका थिए ।