देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनाव जित्नका लागि माओवादी रोजेँ : वामदेव गौतम

देशान्तर

काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन् ।

आउँदो चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताएका हो । उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताए ।

सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रूपमा रहने बताए । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको उनको भनाइ छ । उनले भने, ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नका लागि म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो ।’

हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरू सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको गौतमले दाबी गरे । उनले इमानदारिताका साथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तर पनि गठबन्धन अगाडि नै रहने दाबी गरे ।

चुनाव जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबै कुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै चुनावमा पराजित गर्न लागिपरेको बताएका थिए ।

राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहनुभएका गौतमले आफ्नो पार्टी नेकपा ९माओवादी केन्द्र० को चुनाव चिह्न लिएर चुनावमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताए ।

मङ्गलवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिह्न दिने सहमति गरेको थियो ।