देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बञ्चरेडाँडामा प्रहरीविरुद्ध स्थानीयको माइकिङ

देशान्तर

काठमाडौं – बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् ।

काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् ।

उनीहरुले महानगर स्थानीयको माग प्रति गैर– जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न र दमन रोक्न माग गरेका छन् ।
उनले माग पुरा नभए स्थिति मुठभेडतर्फ जाने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंबाट गएका कुनैपनि गाडीले फोहोर फाल्न सकेका छैनन् ।

अहिले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाको क्षेत्रमा सडकमा युवाहरु जम्मा भएका छन् भने डाँडा-डाँडामा महिला र वृद्धवृद्धाहरु गएर बसेका छन् ।

काठमाडौं महानगरपालिकाले सोमबार बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको थियो । २ सय ५० भन्दा धेरै प्रहरी परिचलान गरेर २ सय ३ गाडी फोहोर विसर्जन भएको थियो ।

काठमाडौं महानगरपालिका अनुसार ककनी गाउँपालिकाको कागते गाउँभन्दा माथि फोहोर बोकेर गएका गाडीहरु लाइन लगाएर राखिएको छ । काठमाडौं परिसर, नुवाकोट र धादिङबाट प्रहरी आएपछि मात्रै महानगरको फोहोरको गाडी एकैचोटी बञ्चरेडाँडा लैजाने तयारी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरले आज २ सय ५० गाडी फोहोर लोड गरेको छ । जुन गाडीहरु कागतेसम्म पुग्दैछन् ।

जिल्ला नुवाकोटका अनुसार ४०-५० जना प्रहरी बञ्चरेडाँडामै रहेका छन् । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले आवश्यक परे मात्रै ब्याकअप फोर्स खटाउने तयारी भएको बताएका छन् ।