देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गठबन्धन अहिलेको आवश्यकता नै हो’

देशान्तर

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गठबन्धन अहिलेको आवश्यकता रहेको बताएकी छिन् । अहिलेको निर्वाचन प्रणाली अनुसार कुनै पनि दलले बहुमत ल्याएर संघीय सरकार बनाउन नसकिने भएकाले पनि गठबन्धन गरेर अघि बढ्दा मुलुकले स्थिर सरकार पाउने कुराको भने ग्यारेन्टी हुनुपर्नेमा जोड दिइन् । २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले माओवादीसँग गठबन्धन गरेर प्रतिस्पर्धा गर्दा चुनावी सफलता हासिल गरे पनि केपी ओलीका कारण स्थिर सरकार सञ्चाल हुन नसकेको बताउँदै आफूहरुले एमालेबाट विद्रोह गर्नुको एक कारण त्यो पनि रहेको उल्लेख गरिन् । सत्ता गठबन्धनमा अहिले सिटवाँडफाँटको विषयमा छलफल भइरहेको बताउँदै सबै मैले भनेको नै हुनुपर्छ भन्ने पक्षमा एकीकृत समाजवादी नभएको पनि प्रष्ट पारिन् । आउँदो निर्वाचनमा आफूले गुल्मीबाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरिरहेको पनि बताउँदै तर गठबन्धनले निर्णय गरेपछि मात्रै सबै कुरा प्रष्ट हुने बताइन् । सवै १६५ संघीय सिटमा गठबन्धन गर्नुपर्नेमा जोड दिँदै यदि त्यसो गर्न नसकिएका जति सिटमा गठबन्धन हुन्छ गर्ने बाँकी सिटमा मित्रवत प्रतिस्पर्धा गर्ने कुरा पनि हुनसक्ने आँकलन झाँक्रीले गरेकी छिन् । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले एकीकृत समाजवादीकी सचिव झाँक्रीसँग गरेको कुराकानीको सम्पादित अंश :

चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ? 

मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले अनुमानित कार्यतालिका पनि प्रकाशित गरिसकेको छ । धेरै महत्वपूर्ण निर्णयहरू सर्वदलीय सहमति र कतिपय कुराहरू कानुनले निदृष्ट गरेका आधारमा टुंगो लाग्छ । मंसिर चारको तयारीका लागि हाम्रो पार्टी एकीकृत समाजवादीले पनि कामहरू पनि गरेको छ । सचिवालयको बैठकले घोषणापत्र मस्यौदा समिति बनाएको छ । त्यसैगरी निर्वाचनमा उम्मेदवार छनोटका लागि नामहरू कलेक्सन गर्नेदेखि लिएर उम्मेदवारका लागि मापदण्ड बनाउनका लागि समिति पनि बनाइएको छ ।  पार्टी पुनर्गठन पछि हामीहरू विभिन्न हिसाबले सुस्ताएको अवस्था थियो । आक्रामक हिसाबले काम भइरहेका बेला कोरोना लगायतका कारणहरूले हामी अलि सुस्ताएका थियौं । एकै पटक गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गएका थियौं । त्यसकारण हाम्रा भेला तथा बैठकहरू र गठन पुनर्गठनको काम बाँकी नै छन् । यही कामका लागि योजना बनाएर हामीले केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेका छौं । अहिले सबै मानिसहरू फिल्डमा जाने अवस्था बनेको छ । हामी निर्वाचनका लागि तयार छौं ।

सिट बाँडफाँट कसरी गर्ने ?
सिट बाँडफाँटका लागि सत्तारूढ गठबन्धनले कार्यदल बनाएको छ । सिट बाँटफाँटमा हामी एकदमै फ्लेक्जिवल छौं । हामीले बटम लाइन बनाएर आफ्नो प्राप्तिको कुरालाई भन्दा पनि यो निर्वाचनमा गठबन्धनको मर्म भावनालाई बुझेर हार्दिकतापूर्वक अगाडि बढ्ने र निर्वाचन पछि पनि गठबन्धनमा सरकार बनाउनुपर्ने हुन्छ । पोस्ट इलेक्सनको ‘कम्फर्टेबल पोजिसन’लाई पनि ध्यान दिनुपर्ने भएकाले सिट बाँडफाँटका विषयमा उदारतापूवर्क छलफल गर्न चाहन्छौं  । यस्तो उदारतापूर्वक छलफल गर्दा एकीकृत समाजवादीको कमजोरीको रूपमा कसैले मान्ने भन्ने कुरा रहनु हुँदैन । पार्टीका आआफ्ना अस्तित्व त हुन्छन् नै । कोही  ठूलो पार्टी होला कोही सानो पार्टी होला । विशिष्ट अवस्थामा पार्टीहरू निर्माण हुने गर्छन् । हाम्रो पार्टीको निर्माणको उद्देश्य पनि अरु पार्टीको जस्तै सामूहिक देखिएको छ । तर अहिलेको फरक पृष्ठभूमि र फरक राजनीतिक परिस्थितिमा हाम्रो पार्टी निर्माण भएको हुनाले यो नै हाम्रो बटम लाइन हो योभन्दा तलमाथि हुँदैन भन्दैनौं । हाम्रा पूर्ववत् ‘अन्डरस्ट्यान्डिङ’हरू छन् तीबाट हामी अगाडि जान्छौं होला ।

भनेको गठबन्धनमा सम्मानजनक उपस्थिति खोज्यो हो ?
हो । हाम्रो पार्टी जुन परिस्थितिमा निर्माण भएको छ त्यसैका आधारमा हामीले गठबन्धनमा सिट बाँडफाँट गर्दा हामीले त्यसैअनुसार पाउनु पर्छ । हाम्रो कारणले कसैलाई अप्ठेरो पार्नेभन्दा पनि हाम्रो कारणले गठबन्धनमा मिलाउने अवस्था सृजना हुने परिस्थिति पनि छ हामी त्यो बाटोतर्फ पनि छौं ।

सत्तारूढ गठबन्धन भित्र उपगठबन्धनको कुरा कत्तिको सान्दर्भिक हो ?
शीर्ष नेताहरूको नेतृत्वमा लेफ्टहरू (कम्युनिस्ट)को गठबन्धन बनाऔं भन्दा म मन्त्री पनि थिएँ । त्यतिबेला मेरो भनाइ पनि के थियो भने ‘हामी विचारधारा मिल्ने दलहरूले हामी यसो गर्छौं भनेर प्रधानमन्त्री र अरू दलहरूलाई पनि भन्नुपर्छ ।’ यसको उद्देश्य भनेको हामीले गरेको कामले सत्तारूढ गठबन्धनमा शंका नउब्जाओस् भन्ने नै हो ।
तर, तपाईंले भनेको गठबन्धन भनेको कांग्रेससँग बार्गेनिङका लागि गरिएको हो भनिन्छ ?
कांग्रेससँग बार्गेनिङका लागि सत्तारूढ कम्युनिस्टको गठबन्धन बनाएको भन्ने बुझाइ गलत हो । त्योभन्दा पनि नेपालमा वामहरूको विंग्सहरू धेरै भए । एमालेको नेतृत्व दक्षिणपन्थी विसर्जनवादतर्फ गयो भनेर हामीले त्यो पार्टीबाट विद्राहे गरेका थियौं । नेतृत्वको कारण हामीले एमालेभित्र पटकपटक प्रश्नहरू उठाएका थियौं र अहिले हामीले छोडेर पनि आयौं । एमाले पार्टी कसैले चाहेर वा नचाएर जे भने पनि एउटा शक्ति छ । त्यसबाहेक अरू थुप्रै वाम घटकहरू छन् । धैरे वटा वामघटकहरू बेग्लाबेग्लै रहनुभन्दा एउटा मोर्चा बनाउनुपर्छ भन्ने हो । पार्टी त अहिले तत्कालै बन्ने अवस्था छैन । कतिपय अवस्थामा हाम्रा पूर्वाग्रहले पनि काम गरेका छन् । त्यसकारण एउटै पार्टी बन्ने अवस्था त आजै नहुन सक्छ । तर एउटा साझा विचार राख्न सक्नेहरूले एकै ठाउँ निर्वाचन लड्ने मोर्चा हुन्छ कि भन्ने अभ्यास गर्न खोजेको हो । त्यो परिपक्व भएर आकार ग्रहण गरिसकेको अवस्था छैन । अहिले संवादको चरणमा भने छ । तर गठबन्धनको ठूलो दल नेपाली कांग्रेसलाई दबाब दिनका लागि यो गरियो भनेर बुझ्नु हुँदैन । त्यसरी बुझियो भने राम्रो पनि हुँदैन । एउटै पार्टीले निर्वाचनमा बहुमत पाउने कुरा हाम्रो निर्वाचन प्रणालीका कारण राम्रो पनि हुँदैन । त्यसैले निर्वाचन पछिको सरकार चलाउने गठबन्धन पनि हुन आवश्यक छ ।

पाँच वर्ष स्थिर सरकार कसरी दिने त जनतालाई ? 
हामीले दुई प्रकारको निर्वाचन प्रणाली अवलम्बन गरेका छौं । हामीले मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक) अनुसार हामीले चुनावमा प्रतिस्पर्धा गर्दैछौं । यो निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना त्यति हुँदैन । समानुपातिक प्रणालीअनुसार सिट बाँडफाँट गर्दा बहुमत नपुग्ने भएकाले हाम्रो संविधानले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सकिने व्यवस्था गरेको छ । गठबन्धन चाहेर पनि नचाएर पनि आवश्यकता हो ।
२०७४ सालको चुनावमा पनि नेकपा एमालेले गठबन्धन गरेको थियो । त्यतिबेलाको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले माओवादी केन्द्रले गठबन्धन गरेका थिए । संसारभर गठबन्धनको कल्चर छ । हाम्रै छिमेकी देश भारतमा पनि गठबन्धनको अभ्यास लामो छ । भारतमा भाजपा र कांग्रेस आईले पनि देशैभर सबै ठाउँमा उम्मेदवार उठाउँदैनन् ।  त्यसकारण गठबन्धनको अभ्यास डेमोक्रेसीमा अलि लामो समयपछि मात्रै स्वाभाविक मान्न सकिन्छ । हाम्रो जस्तो सानो सोँच भएर सबै चीज मलाई चाहिन्छ भनेर भन्दा गठबन्धनलाई राम्रो गर्दैन ।
सबैले सबै क्षेत्रमा उम्मेदवारी दिँदा त चुनाव जितिन्छ भन्ने पनि त छैन । त्यसकारण आफूलाई सहज हुने ठाउँमा उम्मेदवारी दिने र आफूले लिएको सिट निश्चित र सुरक्षित गर्ने हिसाबले जान सकियो भने अझ भन्ने हो भने इमान्दारिताका साथ गठबन्धन गर्ने हो भने शतप्रतिशत सिटमा जित निकाल्न सकिन्छ । त्यहाँ हामीले कस्तो उम्मेदवार दिन्छौं त्यसमा पनि केही भर भने पर्छ ।

गठबन्धन गरेर जाँदा स्थिर सरकार दिनुहुन्छ कि हुँदैन ?
सरकारको स्थायित्वको कुरा त हामीले संविधान निर्माण गर्ने बेलामै गरेका छौं । त्यही स्थायित्वका लागि जनताले म्यान्डेट पनि दिए ।  त्यहाँ बहुमत आएर पनि सरकार स्थिर व्यक्ति पटकपटक बदल्ने काम त्यतिबेला नेकपा एमालेले गरेपछि हामीले पार्टी छोडेका हौं । त्यसकारण व्यक्तिको स्थायित्व होइन सरकारको स्थायित्व हुनुपर्छ । अहिले नै धेरै सिट लिएर हार्नुभन्दा सम्मानजनक सिट लिएर जित्ने गरी अघि बढ्नु पर्छ ।

सम्मानजनक सिट भन्या कति, संख्या हो ? 
संख्याभन्दा पनि पूर्ववत् अवस्थामा गरेका केही सहमतिहरू होलान् । गठबन्धनको सिट बाँडफाँटमा दुई वटा प्रस्पेक्टिभबाट छलफल भइरहेको छ । १६५ वटै निर्वाचन क्षेत्रमा चुनेर गठबन्धनबाट उम्मेदवारी दिने र समर्थन गर्ने गठबन्धनका दलहरूबाट अरूले उम्मेदवारी नहाल्ने । अर्को प्रस्पेक्टिभ भनेको केही सिटमा गठबन्धन गर्ने र केही सिटमा छोड्ने । हामीले जहाँ पाउँछौं त्यहाँ उम्मेदवारी दिन्छौं । जुन कुरा सबैका लागि सम्मानजनक हुन्छ । १६५ सिटमै गठबन्धन नभएर ८०–८५ सिटमा मात्रै गठबन्धन भयो भने हामीले त्यसैअनुसार मित्रवत् प्रतिस्पर्धा पनि गर्छौं । तयारी त पार्टीले १६५ सिटकै गर्छ तर गठबन्धनमा रहेकाले सिट बाँडफाँट नभइकन यति सिटमा उम्मेदवारी दिन्छौं भन्ने मिल्दैन ।

स्थानीय तहको जस्तै मित्रवत् प्रतिस्पर्धामा पनि जान सकिन्छ ?
मित्रवत् प्रतिस्पर्धा हुन सक्छ । तर त्यसरी जाँदा गठबन्धनलाई फाइदा हुन्छ कि हुँदैन त्यो पनि हेर्न जरुरी छ । गठबन्धनमा जाने हाम्रो सैद्धान्तिक सहमति हो । कसरी जाने भन्ने मोडालिटीमा छलफल भइरहेको छ मोडालिटी फाइनल भएको छैन । मोडालिटी फाइनल नभई सिट कसले कति लिने भन्ने कुराको टुंगो लाग्दैन । अहिले नै यति हो भनेर दावा र दलिल गर्न मिल्दैन । सार्वजनिक रूपमा भन्ने भन्दा पनि यो विषयमा दलहरू बसेर निर्णय गरेपछि मात्रै भन्न मिल्छ ।  समाजवादी पार्टी गठबन्धनलाई जोगाउने र मिलाउने ‘कि’ को रूपमा रहेको छ । त्यसैले हाम्रा दावाहरू राखेर गठबन्धनलाई असहज होइन कि सहज बनाउने भूमिकामा रहन्छौं ।

तपाईं कहाँबाट उम्मेदवार बन्ने ?
म गुल्मीबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छु । तर म उम्मेदवार बन्ने विषय गठबन्धनले पनि निर्णय गर्नुपर्छ । आफू जन्मे हुर्किएको ठाउँ भएकाले गुल्मी २ बाट उम्मेदवार बन्ने तयारी गरिरहेकी छु ।

गुल्मीमा एकीकृत समाजवादीको संगठन त बलियो छैन भन्दैछन्, चुनौती रहेछ ?
चुनौतीरहित राजनीति त कतै हुँदैन । २००३ सालमा स्थापना भएको नेपाली कांग्रेस ऐतिहासिक पार्टी हो नि । २०७४ को चुनावमा १६५ स्थानमा प्रतिस्पर्धा गर्दा २३ सिट मात्रै जितेको थियो । कांग्रेसलाई पनि त चुनौती थियो नि ।

त्यतिबेला त तपाईंहरूले गठबन्धन गरेर खुम्चाइदिएको नि ?
हो, अहिलेको निर्वाचनमा पनि हामीले गठबन्धन गरेर अहिले अरू कसैलाई खुम्च्याउन सक्छौं नि त ।

स्थानीय तहको चुनावको गठबन्धनबाट के पाठ सिकेर अब गठबन्धनमा जान लाग्नुभयो त ?
हामीले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट सिकेका कुराहरू व्यवहारमा लागू गर्दैछौं । त्यतिबेला भएको गल्तीहरू सच्याउने चरणमा छन्, त्यतिबेला जे भयो राम्रो भयो भन्नेमा छौं । केही कुराहरूलाई हामीले सिकेर अघि पनि बढ्दैछौं ।
आसन्न निर्वाचनमा घोषणापत्र संयुक्त कि छुट्टाछुट्टै ?

अँ…. । अहिले त चुनावी घोषणापत्र आफ्नोआफ्नो ड्राफ्टको चरणमा छ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा हामीले पनि गति बढाउँछौं होला । त्यतिबेला पोस्ट इलेक्सन एलायन्सको लागि पनि केही काम गर्नलाई नीतिगत रूपमा सरकार जसले चलाए पनि पाँच वर्ष चलोस् भन्ने उद्देश्यले घोषणापत्र बन्न सक्छ ।
चुनाव चिह्न एउटै भन्ने सम्भव छ ?
चुनाव चिह्न एउटै भन्ने कुरा सम्भव छैन । हामीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत आफ्नो पार्टीलाई पनि मत माग्नुपर्छ । एउटै चुनावी चिह्नभन्दा कानुनी जटिलताहरू पनि छन् । अहिलेको नेतृत्व त्यो तहसम्म खुला भएर अघि बढ्न सक्ने हो भने चुनाव चिह्न एउटै सम्भव छ, होइन भने दलीय व्यवस्थामा दलको नेता चुन्ने कुरा हुन्छ, कानुनअनुसार दलको ह्विप लाग्छ । एउटै चुनाव चिह्न बनाएर चुनाव त जित्ने तर भोलि कार्यान्वयनमा जाँदा मनमुटाव भएर एकले अर्कालाई कारबाही गर्ने अवस्था आयो भने झनै भद्रगोल हुन्छ ।

वर्तमान सरकारको समीक्षा कसरी गर्नुहुन्छ ?
म वर्तमान सरकारबाट बाहिरिएको झन्डै डेढ महिना भयो । मेरो मुखबाट समीक्षा गर्दा राम्रो नहोला । मैले आफू मन्त्री हुँदा पनि आफूले गरेका कामको समीक्षा अरूले गर्ने हो भन्ने मान्छे हुँ । मैले बनाएको टिम, मेरो नेतृत्वले त सरकारमा हुँदा शतप्रतिशत इफोर्ट लगाएरै काम गरेको हो । कस्तो काम भयो भन्ने मूल्यांकनको जिम्मा तपाईंहरूलाई हो । तुलना गरेर हेर्दा हामीले विगतको सरकारलाई किन रिप्लेस गरेका थियौं भन्ने प्रश्न हो । विगतको सरकारबाट नचलेर हामीले यो सरकार बनाएका हौं । अहिलेको भन्दा राम्रो गर्न सकिन्थ्यो कि सकिँदैनथ्यो भन्ने कुरा जहिले पनि धेरैभन्दा धेरै काम गर्ने कुरा त रहिरहन्छ । यो सरकारले पूर्ण खोप बनाउन सफल भयो । अघिल्लो सरकारको नीतिका कारण हामीले आर्थिक समस्याबाट जुधिरहे पनि अर्थतन्त्रलाई त सही बाटोमै राख्न सफल भएका छौं ।

महँगी नियन्त्रण गर्न त सकेन नि ?
महँगी नियन्त्रणका धेरै प्रयासहरू भए । हाम्रो देशमा महँगी बढ्नुमा विश्व अर्थतन्त्रकै प्रभाव हो । रुस र युक्रेनको युद्धका कारण पेट्रोलियम पदार्थको अभाव हुँदा र अन्तर्राष्ट्रिय मुद्राको सञ्चिति कम हुँदा यस्तो भएको हो । तर पनि सरकारले सकेको जति काम गरिरहेको छ ।