देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसी करिडोर प्रसारण लाइन २२० केभीमा सञ्चालन

देशान्तर

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले एकैदिन २२० किलो भोल्ट (केभी) का तीनवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमशः २६० एमभीए र ६० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् ।

साथै कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा-तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि प्रदेश १ का पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए ।

२२० केभी प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे।

‘मोरङ-सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहबी सब-स्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहबी सब-स्टेसनको लोड इनरुवा सब-स्टेसनमा सार्न सकिने भएकाले उद्योगहरुलाई थप विद्युत् दिन सकिन्छ साथै भोल्टेज, ट्रिपिङलगायत समस्या समाधान हुन्छ,’ घिसिङले भने, ‘संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत् आयोजनाहरुका विद्युत् गृह पनि ट्रिपिङ हुने समस्या थियो, अब त्यो समस्या पनि समाधान हुनेछ ।

कोसी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेसनमार्फत भारततर्फ समेत निर्यात गर्न सकिनेछ ।’

नेपाल सरकारको लगानी र विश्व बैंकको सुहलितपूर्ण ऋणमा नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सब-स्टेसनको निर्माण गरिएको हो ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सब-स्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

इनरुवा सब-स्टेसन सञ्चालनमा नआएकाले इनरुवा-वसन्तपुर-तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको थियो ।

प्रसारण लाइन र सबस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङको भनाइ छ ।

सुनसरी-मोरङ औद्योगिक करिडोरको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सब-स्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् ।

इनरुवा सब-स्टसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जीआईएस) ४०० केभी सब-स्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सब-स्टेसन निर्माण सम्पन्न भएपछि पूर्व-पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सब-स्टेसन अर्को ठूलो हब बन्नेछ ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सब-स्टेसनमा जोडिनेछ ।

कोसी करिडोरअन्तर्गत वसन्तपुर-ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सब-स्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताए ।

कोसी करिडोरको २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एकतर्फ मात्र तार तानिएको छ ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारतीय एक्जिम बैंकले दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोसी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ ।

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत्‌लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।

प्रदेश १ का भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।