देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धन गर्दा सबैलाई फाइदा हुन्छ भन्ने छैन

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले आसन्न संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेर अघि बढ्ने कुरा पक्का भइसकेकाले अहिले कांग्रेसले पनि आन्तरिक तयारी गरिरहेका बताएका छन् । मंसिर ४ गतेभित्र चुनाव हुने तय भएपछि अहिले शीर्ष नेतृत्वहरू सिट बाँडफाँडको छलफलमा रहेको बताउँदै नेता कँडेलले सबैले आफूलाई मात्र फाइदा पुग्ने गरी गठबन्धनको कुरा गर्न नहुनेमा जोड दिए । उनले गठबन्धन गर्दा आवश्यक परे आफू पनि त्याग गर्न तयार रहेको बताउँदै गठबन्धनले सबै व्यक्तिलाई मात्रै फाइदा पुग्ने गरी काम गर्न पनि आग्रह गरे । संविधान र लोकतन्त्रको रक्षाका लागि पनि अहिलेको गठबन्धन आवश्यक रहेको उनको भनाइ छ । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले केन्द्रीय सदस्य कँडेलसँग गरेको कुराकानीको सम्पादित अंश :

पहिले नागरिका विधेयकको कुरा गरौं । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भयो राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन अब कार्यान्वयनमा आउँछ । साँच्चिकै आवश्यक थियो ?

यदि यो अहिलेको सदनको सबैभन्दा महत्वपूर्ण विधेयकमध्ये रहेको नागरिकता विधेयक हो । लामो समयदेखि अन्योल अवस्थामा रहेको र हजारौं युवाहरू बेरोजगार भइरहेको अवस्थामा र ती नागरिकहरू जसले विगतमा नागरिकता पाएका थिए र उनका सन्ततिले पाउन सकेका थिएनन् । त्यसकारण यो निकै नै महत्वपूर्ण विषय थियो । र हामीले प्रतिबद्धता पनि जाहेर गरेका थियौं कि कुनै पनि हालतमा संसद्बाट यो विधेयक पास गर्छौं । हुन त लामो समयसम्म झन्डै दुई ढाइ वर्षसम्म हामीले छलफल ग¥यौ । लगभग लगभग सबै बुँदाहरूमा हाम्रो सहमति हुँदै गर्दा केही विषयमा सहमति हुन सकेन र फरक मतसहित हामीले त्यसमा हाम्रो धारणा राख्यौं र बहुमतबाट त्यतिबेला पास ग¥यांै ।

त्यतिबेला राज्य व्यवस्था समितिमा तपाईंहरूले लामो समयसम्म छलफल गर्नुभयो । सहमति भएन फरक मतसहितको प्रतिवेदन संसद्मा पुग्यो त्यो फिर्ता लिएर अहिले ल्याउँदा सबैले ओनरसिप लिए त अहिलेको अवस्थामा ?
– हैन हैन लामो सयमसम्म जुन किसिमले सहमति हुनुपर्ने थियो । तर जुन किसिमले जुन रूपमा विगतदेखि नै तत्कालीन राजा वीरेन्द्रको समयदेखि धेरै परिवर्तन भयो निकै नै सरकारमा विभिन्न राजनीतिक दलले नेतृत्व गर्न पायो सरकारको । त्यसलाई निष्कर्षमा पुर्‍याउन सकेन । र अहिले हामी यो सदनमा अन्तिम अन्तिम समय अब निर्वाचन पनि अगाडि आइसकेको अवस्थामा र विगतमा पनि केपी ओलीको सरकारले पनि अध्यादेशमार्फतबाट जुन यसलाई सम्बोधन गर्नपर्ने थियो त्यसो गर्न सकेको अवस्था थिएन र हामीले झन्डै सात लाखको हाराहारीमा चाहे हिमाल होस्, पहाड होस् या तराई होस् हरेक ठाउँमा नेपाली नागरिकहरू जसले नागरिकता पाएका थिए तर उनका सन्तानले पाउन सकेका थिएनन् त्यसलाई हामीले थाँती राखेर भए पनि जुन विधेयक थियो त्यसलाई फिर्ता लिएर तत्काल अर्को विधेयक ल्याएर संसद्बाट पास गरका छौं ।

तर बिग्रिसकेपछि परिवर्तन गर्दा त नमिल्ला नि यो पनि भन्छन् अहिले ?

– त्यो त भोलि संशोधन प्रस्ताव भए पनि सदन त चल्छ । र संविधान अपरिवर्तनीय होइन भने बाँकी कुरालाई नि अपरिवर्तनीय छ भन्न मिल्दैन । त्यो त समय आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ । त्यसकारण भोलि हामी विभिन्न राजनीतिक दलका साथीहरू, नेता, अग्रजलगायत सबैजना बसेर छलफल गरौं । हामी यो देशमा पाँच वर्ष, सात वर्षभन्दा पनि हामीले कतिको गर्ने, कति राख्दा उपयुक्त हुन्छ लगायतको विषयमा अर्को पटकलाई बहसको विषय बनाउन सकिन्छ । छलफल गर्न सकिन्छ र त्यही छलफलको आधारमा हामीले यसलाई निकास दिन सक्छौं । अहिले सबैभन्दा ठूलो मत के भन्दा जन्मसिद्धका आधारमा जसले नागरिकता पाइरहेका छैनन् । केही नेपाली नागरिक जसले जन्मसिद्ध नागरिकता पाएका थिए आज उनीहरूको अवस्था हेर्ने हो भने यति दर्दनाक थियो, पीडादायक थियो जसले गर्दाखेरि हामीलाई बारम्बार हरेक सांसदलाई उनीहरूले म्यासेजको माध्यमबाट या फोन गरेर हामीले कहिले नागरिकता पाउँछौं ? के हामी नेपाली नागरिक हुन सक्दैनौं ? के हाम्रा बुवाआमा मात्र नेपाली नागरिक भन्ने र उनका सन्तानले नागरिकता नपाउने ? लगायतका प्रश्नहरू उठिरहेका थिए । जुन ठूलो पीडा थियो त्यसबाट अब उनीहरूले निकास पाएका छन् ।

अब कतिले लिन्छन् त नागरिकता ?

मोटामोटी ६–७ लाखकोे हाराहारीमा यस्ता समस्या देखा परेका छन् । योभन्दा माथि छैन । तराईमा अलि बढी होला तर देशभर यस्ता समस्या छन् ।

अब सँगसँगै बाबु पहिचान नभएकालाई ससर्त वशंजको नागरिकता भनेको छ । यसलाई बुझाइदिनुस् न ?
– नेपाली आमा जो नेपाल भूमिमा जन्मेको र उसको पुर्खाहरू नेपाली वंशजका नागरिकहरू हुन् । उनले विवाह गरिन् उनका छोराछोरी जन्मिए तर छोराछोरीको बाबु पहिचान हुन सकेन । ती महिलाको श्रीमान् बिदेसियो भने उनी श्रीमान्को घरमा नगइकन माइती नेपालमै बसिन् र स्वघोषणा गरेर नेपालमै बसिन् भने त्यस्ता आमाका सन्तानले पनि नेपालमै बसे भने वंशजको आधारमा नगारिकता पाउने हो । भोलिको दिनमा यदि बाबु पत्ता लाग्यो भने पुरानो वंशजको नागरिकता बुझायो भने जन्मसिद्ध आधारमा नगरिकता दिने प्रावधान राखिएको छ ।

गैरआवासीय नेपालीहरूले पनि राजनीतिक र प्रशासनिक अधिकारबिनाको नागरिकता पाउने भनिएको छ, त्यो भनेको के हो ?
गैरआवासीय नेपालीलाई नागरिकता दिने कुरा पनि निकै नै बहस भएको विषय हो । नागरिकता विधेयक संसद्का दुवै सदनबाट पारित भइसकेपछि गैरआवासीय नेपालीहरू पनि निकै हर्षित छन् । विदेशमा रहने नेपालीहरू जसले आफ्नो बौद्धिक तथा आर्थिक पहिचान बनाएका छन् त्यो पहिचान नेपालसँग जोडिएको हुनाले तिनका सन्ततिहरू नेपाली बन्नबाट बञ्चित हुन नपरोस् भन्ने नै हो । त्यसैले त्यस्ता व्यक्तिहरूलाई गैरआवासीय नेपालीको रूपमा व्याख्या गरेर राजनीतिक अधिकार (उम्मेदवार बन्न र कार्यकारी पदमा पुग्न) बाहेक सामाजिक तथा आर्थिक हिसाबले उसले काम गर्न पाउने अधिकार दिइएको छ । तर त्यस्ता व्यक्तिले उच्च ओहोदामा जान नपाउने साथै नियुक्त हुन पनि नपाउने भनिएको छ । उहाँहरूले यहाँ उद्योगधन्दा कलकारखाना खोल्न पाउनुहुन्छ । यसरी उहाँहरूले लगानी गर्नुभयो भने नेपालको आर्थिक विकासमा पनि योगदान पुग्छ ।

नागरिकताका कारण देश सिक्किमीकरण फिजीकरण हुँदैछ भन्छन् हो ?
देश सिक्किमीकरण वा फिजीकरण हुन्छ भनेर भन्ने कुरा विरोधका लागि विरोध मात्रै हो । नेपाल दुई ठूला राष्ट्रको बीचमा स्वतन्त्र हैसियतले रहेको देश हो । नेपाल कहिल्यै पनि कसैको अन्डरमा रहेन । त्यसकारण यहाँ सिक्किम हुन्छ, फिजी हुन्छ भन्ने कुराहरूमा कुनै आधार छैन । तर, आर्थिकरूपमा हामी धराशायी भयौं भने मुलुकलाई आर्थिकरूपमा बलियो बनाउन सकेनौं, प्राकृतिक स्रोत साधनको प्रयोग गर्न जानेनौं भने अप्ठेरो भने हुन्छ । त्यसैले हामीले नेपालीको आयस्रोत बढाउने गरी काम गर्नुपर्छ । आर्थिकरूपमा सबल भइएन भने देश कतै श्रीलंकाको बाटोमा जाँदै त छैन भनेर कल्पना त गरिन्छ तर अवस्था त्यस्तो छैन । हामीले अहिले जलस्रोतको माध्यमबाट हामीले बिजुली उत्पादन गरिरहेका छौं । त्यो उत्पादन गरिएको बिजुली हामीले निर्यात पनि गरिरहेका छौं यसले अर्थतन्त्रलाई टेवा पुर्‍याएको छ । हामीसँग जडीबुटीको पनि प्रचुर सम्भावना छ । हामीले यसलाई सही सदुपयोग गर्न सकिरहेका छैनौं । यसलाई सदुपयोग गर्न सक्यौं भने यहाँको आम्दानी पनि बढ्छ । त्यसकारण फिजीकरण र सिक्किमीकरणको कुरा सम्भव पनि छैन ।

प्रसंग बदलौं ।
आसन्न चुनावमा पनि गठबन्धन त हो नि ?
स्थानीय तहमा जुन गठबन्धन भयो, सुरुमा त केही प्रश्नहरू पनि उठेका थिए । पार्टीभित्र पनि पक्ष र विपक्षमा कुराहरू उठेकै हुन् । समग्रमा हेर्ने हो भने गठबन्धनमा रहेका राजनीतिक दलहरूले गठबन्धनबाट चुनावमा जाँदा त्यसको व्यापक फाइदा उठाएकै छौं । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र जनमोर्चाले फाइदा उठाएकै हुन् । स्थानीय तहको परिणामले सबै उत्साहित पनि भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा जुन गठबन्धन भयो र उहाँले सफलतापूर्वक अगाडि लैजानु भयो । यसबाट पनि हामी के भन्न सक्छौं भने गठबन्धन सफल हुँदा एमाले पछि धकेलियो । त्यसकारण हाम्रो यो गठबन्धनलाई राम्रो तरिकाले अघि बढाउनका लागि सबैलाई समेटेर सम्मानजनकरूपमा अगाडि लैजानुपर्ने अवस्था पनि छ । त्यसैले गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू बसेर यसलाई अगाडि बढाउँछन् भन्ने कुमार हामी विश्वस्त छौं ।

एक्लाएक्लै प्रतिस्पर्धामा किन जान नचाहने तपाईंहरू ?
गठबन्धन नभई नहुने भन्ने कुरा होइन । हामी २०७४ मा निर्वाचित भएर आयौं । तर संघलाई जसरी दुई दुई पटक विघटन गरियो, त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीतको काम गरेकाले अरू राजनीतिक दलहरू संविधानको रक्षाका लागि गोलबद्ध भएर गठबन्धन गरेका हुन् । त्यसैको आधारमा गठबन्धनको स्वरूप पनि तयार भयो । हामीले स्थानीय तहको निर्वाचनमा गठबन्धनको अभ्यास गरिसकेपछि संघमा एक्लै प्रतिस्पर्धा गर्न नसक्ने कुरा त होइन । हरेक राजनीतिक दलहरूको आफ्नो आफ्नो पोजिसन छ । हामी प्रतिस्पर्धामा जान सक्छौं । जसरी हामीले स्थानीय तहमा मुलुक बनाउन र संविधान रक्षाका लागि अभ्यास गरेका थियौं त्यसैले अझैं एक पटक केन्द्रको चुनावमा पनि गठबन्धन गरेर अघि बढ्नु पर्छ भन्ने हो ।

कसरी सिट बाँडफाँड गर्ने ?
सम्मानजनक सिट बाँडफाँड गर्ने हो । जसले जहाँ जितेको छ त्यहाँ उसको दावा हुन्छ ।
त्यसो भए कति जिल्लामा त कांग्रेसका उम्मेदवार नै नहुने भए होइन त ?
जहाँ हामी कमजोर छौं, त्यहाँ हामीले सेक्रिफाइस गर्नै पर्छ । गठबन्धनमै रहेका दलहरू हामीभन्दा बलियो छन् भने त्यसमा हामीले छोड्नु पर्छ । कुनै पनि दल चुनाव जित्नका लागि लड्ने हो । यहाँ मेरो दाबी हो भाग पनि मेरै हो, चुनाव जिते पनि हारे पनि म नै भन्ने भावना त्याग्नु पर्छ ।

गठबन्धन हुँदा जितिहालिन्छ भन्ने मानसिकता पनि त छ ?
यो दाबी स्वाभाविक हो । अहिले पनि गठबन्धनमा जाने कि नजाने भन्ने कुरा त भइरहेको छ ।
तर, केही नेताले फलानाका लागि गठबन्धन गरेर छोड्न सकिँदैन पनि त भन्दै छन् ?
जसले पाउँदैन उसलाई पीडा हुनु स्वाभाविक हो । उम्मेदवार बन्नका लागि उसले राजनीतिक लगानी गरेका हुन्छ तर नपाउँदा पीडा त सबैलाई हुन्छ नै । गठबन्धनको कुरा गर्ने हो भने हामीले पीडालाई पनि थाँती राखेर अघि बढ्नु पर्छ । सबैले फाइदै फाइदा खोजेर हुँदैन । आवश्यक परे हामीले पनि त्याग गर्नुपर्छ ।

गठबन्धन गरेर चुनाव जितेपछि सरकार स्थिर होला त ?
गठबन्धन गरेर चुनावका लागि अघि बढ्दा हामीले पार्टीको स्ट्रेन्थ छ त्यसको आधारमा अघि बढ्छौं । बहुमतको सरकार बनाउने गरी हामीले पाइला चाल्नुपर्छ । भोलि समय र देशको आवश्यकताअनुसार कसैले पनि बहुमत पाउन सकेन र यही गठबन्धन नै सरकारमा पनि अघि बढ्नुपर्ने अवस्था रह्यो भने सहमति र सम्झौता गरेर अघि बढ्नै पर्छ । समय र परिस्थितिले भोलिको दिनमा बताउनेछ ।

सत्तारूढ गठबन्धनभित्र रहेका कम्युनिस्टहरूले आन्तरिक गठबन्धन पनि भन्दैछन् त ?
पहिला हामीले पाँच राजनीतिक दलहरू मिलेर गठबन्धन गरेका हौं । अहिले गठबन्धन भित्रकै कम्युनिस्टहरूले फेरि आन्तरिक गठबन्धन गर्ने कुरा गरेका छन् ।

त्यो भनेको उहाँहरूले हामीसँगको बार्गेनिङ पावर बढाउनका लागि मात्रै हो ।