देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गुटगत भेलाको काम छैन्’

देशान्तर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गुटगत भेला गर्दा पार्टी नै कमजोर बन्ने टिप्पणी गरेका छन् । संस्थापन इतर पक्षले काठमाडौंमा भेला गरि वर्तमान सभापतिले पार्टी सञ्चालन र सरकार सञ्चालन गर्न असफल रहेको निष्कर्ष निकालेपछि प्रवक्ता महतले यस्तो प्रतिक्रिया दिएका हुन । आसन्न संघ र प्रदेशको चुनावमा पनि गठबन्धन हुने पक्का रहेको बताउँदै सिट बाँडफाँडको विषयमा भने अझै प्रष्टसँग छलफल नभएको बताए । सोमबारदेखि सुरुहुने केन्द्रीय समितिको बैठकले कोषाध्यक्ष र बाँकी केन्द्रीय सदस्य मनोनयनका साथै भ्रातृ संस्थाहरुलाई पूर्णता दिने विषयमा निर्णय हुने पनि उनको भनाईं छ । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले प्रवक्ता महतसँग गरेको कुराकानीको सम्पादित अंश ।

नेपाली कांग्रेसमा अब गुटगत भेलाहरु सुरु भए है, संस्थापनइतर पक्षले सुरु ग¥यो होइन त ?
यसले नेपाली कांग्रेसलाई फाइदा गर्दैन् । हामी अब आम निर्वाचनमा जाँदैछौं । स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न पनि गरेका छौं । अपबादबाहेक समग्रमा हामीले गरेको स्थानीय तहको गठबन्धन पनि सफल नै रह्यो । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । बढो अप्ठ्यारो परिस्थतिमा देशको अवस्था पुगेकोबेला नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको बेला सबैले उहाँको नेतृत्वमा सरकार बनाउने परिस्थीति बन्यो । तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेका विकृति र असंवैधानिक कामकारबाहीहरुलाई रोक्न सफल भएको अवस्थामा हामी सबै खुसी हुनु पर्ने हो । अब आम निर्वाचन हुँदैछ, यस्तो बेलामा हामी सबै एकीकृत भएर जानु पर्ने बेला हो । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान भइसकेको छ । केही गुनासोहरु भए सोही बैठमा प्रस्तुत गरेको भए हुन्थ्यो । पार्टीसभापतिसँग स्पष्ट बहुमत हुँदा हुँदै पनि सहमतिबाटै सबै कुरा निर्णय गर्दै आउनु भएको छ । यस्तो अवस्थामा असन्तुष्ट हुनुपर्ने अप्ठेरो मान्नु पर्ने र विपक्षीको जस्तो आलोचना गर्नुपर्ने अवस्था थिएन ।

अर्को पक्षले त गठबन्धनकै नाममा पार्टीलाई घाटा भयो भन्छ त, यसमा सत्यता छ ?
यसमा कुनै पनि सत्यता छैन । उहाँहरुलाई मात्रै होइन सबैलाई थाहा छ । विगतमा भएको स्थानीय तहको निर्वाचन र अहिलेको निर्वाचनको नतिजा हेर्दा पनि त प्रष्ट हुन्छ नी । हामीले २०५१ सालको स्थानीय तहको निर्वाचन पछि सबैभन्दा ठूलो उपलव्धि हासिल गर्न सकेका छौं । त्यसैले अहिले गठबन्धन गर्दा नेपाली कांग्रेसलाई घाटा भयो (हाँस्दै) भन्ने कुरामा कुनै सत्यता छैन । गठबन्धनमा रहेका पनि दलहरुको कारण अपबाद बाहेक उहाँहरु हामीसँग र हाम्रो उहाँहरुसँग गुनासो होला । समग्रमा यो एक लयमा गयो र यसले पार्टीले धेरै सिट जित्न सफल भएको कुरामा खुसी हुनु पर्छ होला ।

अब आम निर्वाचन हुँदैछ, यस्तो बेलामा हामी सबै एकीकृत भएर जानु पर्ने बेला हो । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान भइसकेको छ । केही गुनासोहरु भए सोही बैठमा प्रस्तुत गरेको भए हुन्थ्यो ।

पार्टीभित्रको सन्तुलन मिलाउन नसक्ने, अनि गठबन्धन गरेर धेरै जित्यो भन्ने, अलि मिलेन की ?
हामीले गठबन्धनलाई मात्रै सन्तुलन गरेको भन्ने कुरा उहाँहरुको आरोप हो । हरेककुराहरु त सभापतिले छलफलबाट निर्णय गरिरहनु भएको छ । महानगरपालिकाको टिकट जुन हिसाबले वितरण भयो त्यो वितरण गर्दा धेरै दिन लगाएर छलफल गरिएको थियो । त्यो छलफलमा डा. शेखर कोइराला पनि सहभागि हुनुभएको थियो । सबैलाई चित्त बुझाएरै सभापतिले निर्णय गर्नुभएको छ । उहाँले बहुमत छ भनेर पेलेर निर्णय गर्नुभएको छैन । पार्टीभित्र सन्तुलन नगरेको कहाँ होर ।
अर्को पक्षले ४० प्रतिशतको भाग खोजेको हो त ?
४० प्रतिशतको कुरा जुन उहाँहरुले गर्दैहुनुुहुन्छ, फेरि विधान अनुसार चल्नु प¥यो भनि राख्नु भएको छ । विधानमा ४० प्रतिशत दिने व्यवस्था कहाँ छ र? पार्टी त विधान अनुसार चल्ने हो ।
विधानको व्यवस्था पनि भन्ने, ४० प्रतिशत पनि माग गर्ने भयो, होइन त ?
सभापतिको उम्मेदवार बनेका बेला डा. शेखर कोइरालाले नै अब भागबन्डाको राजनीति हुँदैन भन्नु भएको थियो । विगतमा भागबन्डा गर्दा पार्टीलाई राम्रो गरेन त्यसैले मैले अन्त्य गर्छु भन्ने नारामै चुनाव लड्छु भन्नु भएको थियो । सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले सबैलाई चित्त बुझाएर सर्वसम्मत तरिकाले निर्णयहरु गर्दै आउनुभएको छ । त्यही सर्बसम्मत निर्णयका आधारमा स्थानीय तहको निर्वाचनमा केन्द्रले टिकट दिने ठाउँमा केन्द्रले र प्रदेशमा उहाँहरुको बहुमत भएको ठाउँमा त बहुमतले निर्णय लादेर अघि बढेको अवस्था छ । उहाँहरुले यस्तो गर्दा पनि सभापति देउवाले केन्द्रमा त्यसरी अघि बढ्नु भएको छैन । सबैलाई मिलाएर सहमतिमै अघि बढीरहनु भएको छ ।

अहिले आरोप प्रत्यारोपहरु सुरु भएको अवस्थामा पनि तपाईं पार्टी ठिक ठाक छ भन्ने निष्कर्षमा हो ?
हामीले प्रत्योरोप गरेकै छैनौं । हामीमाथि आरोप आको आई छ । पार्टीभित्र गाली गलोज गरेर एक अर्कालाई चित्त दुःख्ने कुरा गरेकै छैनौं । आरोप आइसकेपछि हामीलाई पत्रकारहरुले सोधिसकेपछि त्यसको उत्तर दिने काम मात्रै हामीबाट भएको छ । हामी आरोप प्रत्यारोपमा उत्रिएका छैनौं र उत्रिदैनौं पनि । आरोप प्रत्यारोपले पार्टीलाई फाइदा गर्दैन । अब हाम्रो केन्द्रीय समितिको बैठक सोमबारलाई आह्वान भएको छ त्यहाँ नै सबै कुराहरु राख्दा हुन्छ । हामीले स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धनको विषयमा तथ्यांकबाट जाँउ न । हामी गठबन्धनमा जाने विषय त सर्बसम्मत निर्णय हो नी । सर्बसम्मत निर्णय भइसकेपछि त्यसमा प्रश्न उठाउनु त आफैले गरेको निर्णयलाई चुनौति दिनु हो । निर्वाचनको मुखमा विपक्षीले गर्ने आलोचना जसरी पार्टी भित्रकै साथीहरुले गर्दा यसले नेपाली कांग्रेसलाई नै फाइदा गर्दैन ।

अहिलेको कांग्रेसभित्रको गुटगत भेला भनेको आसन्न निर्वाचनको टिकट सुरक्षित गर्नका लागि भनेर बुझ्दा के हुन्छ ?
टिकटको कुरा पनि त शेरबहादुर जीले जहिले पनि सबैलाई चित्त बुझाएर अघि बढ्नु भएको छ । टिकटको कुरा त संसदीय वोर्ड छ, त्यहाँबाट छिनोफानो हुने हो । त्यो बोर्डबाट टिकटको निर्धारण हुन्छ । उहाँहरुलाई लागेको कुरा त संसदीय बोर्डमा बसेर भन्ने ठाउँ त छदै छ । उहाँहरु बाहिर यसरी आउन जरुरी नै छैन ।

आरोप प्रत्यारोपले पार्टीलाई फाइदा गर्दैन । अब हाम्रो केन्द्रीय समितिको बैठक सोमबारलाई आह्वान भएको छ त्यहाँ नै सबै कुराहरु राख्दा हुन्छ । हामीले स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धनको विषयमा तथ्यांकबाट जाँउ न । हामी गठबन्धनमा जाने विषय त सर्बसम्मत निर्णय हो नी ।

सोमबारको केन्द्रीय समितिको बैठकका एजेण्डा के के हुन् ?
एउटा त गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समिक्षा गर्ने हो । यो सफलता पछि अब आगामीदिनमा कसरी जाने भन्ने विषयमा हामी केन्द्रीत हुन्छौं । र समग्र कार्यकर्ता पंक्तिको निष्कर्ष पनि आउँदो निर्वाचनमा पनि गठबन्धन गरेर जान उपयुक्त हुन्छ भन्ने सबैको भावना पनि छ । हाम्रो ४० प्रतिशत सिट समानुपातिक निर्वाचनका माध्यमबाट प्रतिनिधित्व गर्ने निर्वाचन व्यवस्था छ । यस्तो अवस्था भएको बेला कुनै पनि एउटा पार्टीले बहुमत ल्याउने सम्भावना छैन । अहिलेकै भोट प्रतिशतलाई हेर्ने हो भने पनि कुनै एक दलको बहुमत आउँदैन । त्यसैले गठबन्धन गरेर अघि बढ्नु पर्ने आवश्यकता महसुस गरिराख्या छन् ।

केन्द्रीय समितिको अबको बैठकले विभागहरु गठन गर्ने, विधान अनुसार पार्टी चल्ने कुरा गर्छ ?
विधान अनुसार कोषाध्यक्ष मनोनित गर्ने कुरा यही केन्द्रीय समितिको बैठकबाट तय हुन्छ । त्यसैगरी ३३ मध्य अहिलेसम्म १३ जना मात्रै केन्द्रीय सदस्य मनोनित गरिएको छ । अरु बाँकी केन्द्रीय सदस्य पनि मनोनित गर्ने कुरा आउँछ । यति समयभित्रै मनोनित गर्नुपर्छ भन्दा पनि यसलाई चाँडो गर्नुपर्छ भन्नेमा हामी छौं । कोषाध्यक्ष र केन्द्रीय सदस्य मनोनित गर्ने कुरा पार्टी सभापतिलाई अधिकार दिइएको विषय हो । कोषाध्यक्ष मनोनित गर्ने कुरा सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय समितिबाट अनुमोदन गर्ने विषय हो । यो बैठकबाट विषय टुंगिन्छ । विभाग गठनको विषय अलि ढिला भएको छ, तै पनि अब विभागहरुले गठन गरेर पूर्णता पाउँछन् । विभाग गठन लगाएतका विषयहरु उठाउने कुरालाई हामीले अन्यथा ठान्या छैनौं । हामी निर्वाचनमा लाग्दा यी कुराहरु अल्झिएका थिए ।

कांग्रेसको नर्सरी नै अहिले बलियो छैन, भ्रातृ संस्थाहरुमा अध्यक्ष मात्रै चयन गरेर त चल्दैन होला ?
अब हामी भ्रातृ संस्थाहरुलाई पूर्णता दिनुपर्छ । पूर्णता दिने सवालमा सभापति जीले अहिले अग्रसरता पनि लिनुभएको छ । सरसल्लाहबाटै संयोजक तोकेको अवस्था छ । अब त्यसलाई पूर्णता दिँदा यो उ नभनेर काम गर्ने साथीहरुलाई ल्याउनुपर्छ ।

सत्तारुढ गठबन्धन गठबन्धनमै आसन्न चुनावमा जान्छ ?
हो, हामी गठबन्धनको पक्षमा छौं । तर कसरी जाने भन्ने विषयमा हामी छलफल गर्दैछौं ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन गर्दा गर्दै पार्टीको चुनाव चिन्ह विर्सन थाले भन्नु भएको छ फेरि ?
यस्ता अभिव्यक्ति नेताहरुबाट आइराख्छ । पार्टी पंक्ति नै चुनावमा केन्द्रीत भएको बेला चिन्ह विर्सने अवस्था आउने त होइन । गठबन्धनमा जाने त रणनीतिक कुरा हो । यो कुनै भावनात्मक विषय होइन ।
यसरी कुरा गर्दा गठबन्धन गरेपछि अलि बढी पाइन्छ भन्नेमा सहयात्री दलहरु पुगेका हुन् त ?
सहयात्री दलहरुको पनि रणनीति हुन सक्छ, गठबन्धन गर्दा बढी भन्दा बढी हामीले प्राप्त गर्न सकौं । बढी भन्दा बढी परिणाम ल्याउँ भन्ने सबैको लक्ष्य हुन्छ । तर यथार्थको धरातलमा उभिएर हामीले निर्णय गर्न सक्नुपर्छ । त्यहाँको बस्तुस्थितिलाई पनि आधार मानिनुपर्छ । कसैले पनि अतिसयोक्तिपूर्ण तरिकाबाट आफ्नो ‘स्ट्रेन्थ’ भन्दा ज्यादा खोज्दा चुनावमा भोट ‘ट्रान्सफर’ गर्दा समस्या आउँछन् भन्ने कुरा सबै दलका नेताहरुले पनि बुझ्नु पर्छ । यो विषय त छलफल गरेर निष्कर्षमा पुग्ने कुरा हो ।

तपाईंहरु गठबन्धनमा सिट बाँडफाँडको विषयमा प्रवेश गरिसक्नु भयो ?
अहिले हामीले सिट बाँडफाँडको कुरा गरेका छैनौं । सैद्धान्तिक निर्णयहरु पनि भएको छैन । यद्दपि शीर्ष नेताहरुकोबीचमा यसरी जानुपर्छ भन्ने विषयमा छलफल भने प्रारम्भ भएको छ । अब गठबन्धन दलका आ आफ्ना केन्द्रीय समितिमा छलफल गरेर निर्णय होला । त्यही निर्णयको आधारमा हामी कसरी जाने भन्ने निर्णय आउँछ ।

अहिले स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरिरहेका छन्, यस प्रति तपाईंको टिप्पणी के हो ?
ठूलो संघर्ष र बलिदानपछि हामीले लोकतान्त्रिक व्यवस्था स्थापना ग¥याछौं । लोकतान्त्रिक पद्दति ल्याउने, त्यसमाथि प्रहार हुने त्यसलाई परास्त गरेर फेरि स्थापित हुने जुन लामो संघर्ष भयो, २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनपछि जसरी लोकतान्त्रिक शासन व्यवस्था र संविधानको सुनिश्चितता भयो, त्यसैको प्रतिफल सबैले आ आफ्नो आकंक्षा अनुसार उम्मेदवार हुने, पार्टीमा आवद्ध नभएर स्वतन्त्र उम्मेदवार हुने, जसलाई जे इच्छा लाग्छ, त्यो अनुसार जनतामा गएर परीक्षणमा उत्तिर्ण भयो भने त्यो ठाउँमा पुग्ने पनि व्यवस्था हाम्रो संविधानले नै गरेको छ । त्यसको उपयोग आ आफ्नो तरिकाले सबैले गर्न पाउँछन् । त्यसमा हामीले अन्यथा मान्ने कुनै कुरा छैन ।

अन्यथा भन्दा पनि राजनीतिक दलहरुले कमजोरी स्वीकार गरेर समिक्षा गर्ने र आफूलाई सुधार गर्ने बेला भएन ?
स्वतन्त्रहरु चुनावमा पहिला पनि प्रतिस्पर्धामा आउँथे । देशैभरी पार्टीको उम्मेदवारमात्रै चुनावी प्रतिस्पर्धामा उत्रिएको अवस्था थिएन । पार्टीबाट स्थान नपाउँदा पनि स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा आउँथे । कतिपय समयमा सफलता पनि प्राप्त गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौंको सफलताले हामी सफल भइहाल्छौं भन्ने सोच उहाँहरुमा पलाएको छ । अहिलेको यो गतिविधीलाई राम्रोसँग हेरिरहेका छौं, मूल्यांकन गरिरहेका छौं । पार्टीहरुले गर्न नसकेर यो अभियान चलेको त होइन भन्ने कुरा तर्फपनि हामी सजग छौं ।

आम युवाहरुको अपेक्षा भनेको अहिलेका पार्टीहरु गतिशील बनेर अघि बढ्नु पर्छ भन्ने छ । यसैगरी जनता केन्द्रीत राजनीति अघि बढोस भन्ने भावना पनि अहिले देखिएको छ । त्यही कारण जनताले पनि एउटा विद्रोहको नाममा जनताले स्वतन्त्रलाई मत दिएर जिताएका हुन् । त्यस विषयमा हामी पनि सचेत भएर सोँची रहेका छौं ।

अब तपाईंहरु स्वतन्त्र भन्दा कसरी राम्रो गर्ने भन्ने समिक्षामा हो ?
हामीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणामका विषयमा समिक्षा गर्दा कसरी पार्टी प्रति आकर्षण गराउन सकिन्छ भन्ने विषयमा पनि केन्द्रीत हुन्छौं । हामी भित्र रहेको कमीकमजोरीलाई समिक्षा गरेर अघि बढ्नु पर्छ । पार्टीलाई गतिशील बनाउँदै जनताको अपेक्षाको कसीमा सहि तरिकाले उत्रने खालले अघि बढ्नु पर्छ ।

अन्त्यमा, तपाईंले नुवाकोटबाट चुनाव लड्ने रे हो ?
चुनाव लड्ने विषयमा अहिले मैले कुनै निर्णय गरेको छैन । कतिपय साथीभाइले अनुमानका आधारमा पत्र पत्रिकामा समाचारहरु लेख्नु भएको छ । यसमा सत्यता छैन । मैले कसैलाई चुनाव लड्छु भनेर भन्या पनि छैन ।