देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेश सरकारको बजेट पारित

देशान्तर

काठमाडौं – लुम्बिनी प्रदेश सरकारको आव २०७९र८० को बजेट आज प्रदेशसभाबाट वहुमतले पारित भएको छ । बैठकमा सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो ।

असार १ गते प्रस्तुत बजेटमा प्रदेशसभा सदस्यहरूले विभिन्न चरणमा छलफल गरेका थिए ।सरकारले आगामी आवका लागि रु ४२ अर्ब ६३ करोड सात लाख, कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कूल बजेटको ३१.२६ प्रतिशत, पुँजीगत खर्चतर्फ रु २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कूल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान प्रस्तुत गरेको थियो ।

यस्तै वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रु चार अर्ब ८३ करोड लाख, कूल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११।३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको थियो ।

यसअघि बजेटमा प्रदेशसभामा उठेका विभिन्न विषयमा जवाफ दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागिनै आगामी वर्षको बजेट प्रस्तुत गरिएको बताए । उनले प्रदेश सरकारको आफ्नो नीति तथा कार्यक्रम विचार दृष्टिकोणअनुसार नै बजेट प्रस्तुत गरिएको बताए। उनले लुम्बिनी प्रदेश सरकारले लिएका कार्यक्रमले आम लुम्बिनीवासीको मागलाई सम्बोधन गरेकाले त्यसलाई कार्यान्वयनमा सबै लागेर सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले जनताको जीवनस्तर परिवर्तन गर्ने गरी बजेटले सम्बोधन गरेको दाबी गरे । लुम्बिनी प्रदेशका आम जनतालाई समृद्धि गर्नका लागि विभिन्न कार्यक्रम अगाडि सारिएको बताउँदै उनले सबैको साझा अभियानको रुपमा बजेटलाई दिन अपिल गरे । यस्तै आजको प्रदेशसभाबाट प्रदेश प्रहरीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चारसम्बन्धी विधेयकसमेत पारित भएको छ । ती विधेयक कानुन समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेको थियो ।