देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यक्तिवादी सोचबाट मुक्त हुन प्रवक्ता महतको आग्रह

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसमा प्रवक्ता डा प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले समग्र पार्टीलाई असर पर्ने भएकाले सो सोचबाट मुक्त हुन आग्रह गरेका छन् । बट्टारमा नुवाकोट साहित्य प्रतिष्ठानको १५ औँ वार्षिकोत्सव, कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा आज उहाँले म भए ठीक अरु भए बेठीक भन्ने व्यक्तिवादी प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

डा महतले पार्टीको कार्यकर्ता भइसकेपछि व्यक्तिवादी सोचबाट माथि उठ्नुपर्नेमा जोड दिए। उनले भने, “ हालै भएको स्थानीय तह निर्वाचनमा व्यक्तिवादी सोचको कारण पार्टीले क्षति बेहोरेको छ । अब सङ्घ प्रदेशको निर्वाचन आउँदै छ । पार्टीलाई सफल बनाउन व्यक्तिवादी सोचबाट मुक्त हुनैपर्छ ।”

पूर्वमन्त्रीसमेत रहेका प्रवक्ता डा महतले कसैलाई देउता र कसैलाई दैत्य बनाइदिने अहिलेको प्रचलनबाट पनि जोगिनुपर्ने बताए। महतले भने ,“कसैलाई क्षणभरमै देउवा बनाइन्छ । त्यसको आलोचनासमेत गर्न पाइँदैन । कसैलाई अनायासै दैत्य बनाइन्छ । न कोही देउता हुन्छ, न दैत्य । सत्य खोज्ने धैर्यता हामीमा छैन ।”

उनले रासायनिक मलमा अरु देशप्रति निर्भर हुँदा अहिले अभावको समस्या आइरहेको बताए । उनले सरकारले अब रासायनिक मल कारखानाको स्थापना गर्नमा ढिलो गर्न नहुनेसमेत बताए। डा महतले प्राकृतिक खेती गर्ने र गाईबस्तुको थोरै मलबाट धेरै जग्गामा रासायनिक मलसरह काम गर्ने प्रविधि पनि विदेशतिर रहेकाले त्यसलाई प्रयोग गर्नसकेमा रासायिक मलको अभाव झेल्न नपर्ने बताए ।

कार्यक्रममा डा महतले विभिन्न स्रष्टालाई सम्मान गरेका थिए । कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले लेख्नुभएको समयचक्र हाइकु सङ्ग्रह विमोचनसमेत गरिएको थियो । कार्यक्रममा अमृता स्मृति, कविन्द्र घिमिरे, अकिन्चन राई, बुनु लामिछाने, अन्जना पौडेललगायतले रचना वाचन गरेका थिए ।