देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमतिको यौनसम्बन्ध ‘बलात्कार’ नहुने भन्दै अदालतले दियो सफाई

देशान्तर

२०७७ साल फागुन १९ गते कास्की जिल्ला अदालतमा जबरजस्ती करणीको एउटा मुद्दा दायर भयो । एक बालककी आमासमेत रहेकी २७ वर्षीया महिलाले १७ वर्षका किशोरलाई प्रतिवादी बनाएर दिएको जाहेरीको आधारमा सरकार वादी भएर किशोरविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

१७ वर्षका किशोरले फ्रुटीमा नशालु पदार्थ मिसाएर खान दिई आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिई प्रहरी प्रतिवेदनका आधारमा चलेको बलात्कारसम्बन्धी मुद्दा करिब एक वर्षपछि फैसला भयो । कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले किशोर र महिलाबीच आपसी सहमति मै शारीरिक सम्बन्ध कायम भएको देखिएको भन्दै उमेर पुगेकी महिलासँग आपसी सहमतिमा भएको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने ठहरमात्र गरेन, प्रतिवादी किशोरलाई सफाई दियो ।

हालसालै प्रमाणीकरण भएको उक्त फैसलाको पूर्ण पाठमा उमेर पुगेकी महिलाले उमेर नै नपुगेका किशोरसँग आपसी सहमतिमा राखेको शारीरिक सम्पर्क बलात्कार हुन नसक्ने भन्दै वादीको अभियोग दाबी नपुग्ने ठहर गरिएको छ ।

पोखराका १७ वर्षीय किशोर राजेश सुनार (परिवर्तित नाम) टिभी मर्मतको काम गर्थे । टिभी मर्मतकै काम गर्ने क्रममा एकदिन आफ्नो साथी सविन नेपालीले एउटा टिभी बिग्रेको छ, गएर हेरिदिनुपर्‍यो भनेको कारण साथीसँगै नीता नेपाली (परिवर्तित नाम)को घरमा गए । नीताको घरमा गएर बिग्रेको सामसुङ कम्पनीको टिभी बनाएर फर्किए । टिभी बनाइसकेपछि फेरि पनि बिग्रेको समयमा बोलाउनुपर्छ भनी नीताले नै राजेशको मोबाइल नम्बर मागिन् । राजेशले आफ्नो नम्बर दिएर  घर फर्किए ।

टिभी बनाएर फर्किएको भोलिपल्टदेखि नीताले राजेशलाई कहिले के, कहिले के बहानामा फोन गरिरहन थालिन् । २७ वर्षको उमेर (तत्कालीन समयमा) पुगी एक बच्चाको आमासमेत रहेकी नीताले राजेशसँग माया प्रेमको कुरा गर्न थालिन् । १७ वर्षको उमेर भए पनि विवाह गरिसकेका राजेशले पनि नीतासँग माया प्रेमकै कुरा गर्न थाले । मोबाइलमै उनीहरुबीच माया प्रेमको कुराकानी हुन थाल्यो र भेटघाटसमेत हुन थाल्यो । उनीहरुबीच शारीरिक सम्पर्कको कुरासमेत भयो । किशोर र महिलाबीच शारीरिक सम्पर्क राख्ने सहमति भएपछि किशोर नीताको महिलाको घरमा टिभी बनाउने नाममा जान थाले ।

पति वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका कारण २०७७ माघ १२ गते नीताले राजेशलाई आफ्नै घरमा आफूसँगै राखिन् । नीताकै घरमा गएर राजेश महिलासँगै बसेको कुरा महिलाका आफन्त तथा छरछिमेकले थाहा पाए । यो कुरा थाहा पाएलगत्तै महिलाका आफन्त र छरछिमेकले सो कुरा वैदेशिक रोजगारीमा गएका उनका पतिलाई समेत बताइदिए ।

पतिले श्रीमतीको व्यवहारबारे जानकारी पाएलगत्तै श्रीमतीलाई फोन गरेर के भएको हो भनी सोधे । नीताले उक्त किशोर टिभी बनाउने मान्छे भएको र टिभी बनाउन आएको तर नबसेको जिकिर गरिन् । यद्यपि रात सँगै बसेको र भोलिपल्ट मात्रै गएको कुरा छिमेकीले थाहा पाएपछि नीता त्यहाँ बस्न नसक्ने अवस्थामा पुगिन् ।

त्यसपछि नीताले राजेशलाई नै फोन गरेर ‘हामी दुईको सम्बन्ध छिमेकी, आफन्त र पतिले थाहा पाए, अब यहाँ बस्न नसक्ने भयो, मलाई विवाह गरेर अन्तै राख भनिन् । तनाबमा आएका राजेशले पनि ‘जिम्मेवारी’ लिँदै नीतालाई पोखरा महानगरपालिका १३ काहुँखोलामा रहेको एक घरमा कोठा भाडामा लिएर राखिदिए ।

२०७७ माघ १५ गते राजेश र नीता दुवैजनाले केही सामान किनी काहुँखोलास्थित भाडामा लिइएको घरमा गए र श्रीमान श्रीमतीकै हैसियतामा बसे । कोठा सरेर बसेकै दिन उनीहरुले त्यहीँ खाना बनाएर खाए । त्यसको भोलिपल्ट बिहान ७ बजे राजेश दैनिक कामकाजका लागि त्यहाँबाट निस्किए । त्यही क्रममा राजेशलाई नीता घरबाट हराएकी छन् भनेर फोन आयो । उनको खोजी भइरहेको कुरा फोनबाट थाहा पाएपछि राजेशले नीतालाई पनि सो कुराबारे बताए । त्यसपछि नीता पनि घर जान्छु भनेर राजेशसँगै निस्किइन् । राजेशले नीतालाई पृथ्वीचोकमा लगेर छाडे । अनि राजेश र नीता आ–आफ्नै घरमा गए ।

राजेशले नीतालाई लिएर गएको हल्ला राजेशको परिवारमा पनि फैलिइसकेको थियो । राजेश र नीता फोनमा बोल्ने गरेको कुरा राजेशको आमालाई पनि थाहा थियो । राजेश घरमा पुग्नेबित्तिकै आमाले त्यसबारे सोधेपछि राजेशले सबै कुरा बताइदिए । त्यसपछि राजेश उक्त दिनभर घरमै बसे । त्यसको भोलिपल्ट राजेशकी आमाले काहुँखोलामा रहेको डेराकोठामा गएर नीता र राजेशका लागि लिइएको सबै सामान लिएर घर गइन् । घरधनीले यो सामान किन लगेको भन्दा मेरो छोराले अर्काकी श्रीमती लिएर बसेछ, त्यही थाहा भएर यो सबै सामान घर लैजान लागेको उनले बताइन् ।

त्यसको भोलिपल्ट अर्थात् माघ १७ गते नीताले राजेशको आमासँग कुरा गरेर ‘तपाइँको छोराले मसँग एक लाख रुपैयाँ लिएर गएको छ र कोठाको सामान किन्दा अर्को एक लाख १५ हजार खर्च भएको कारण २ लाख १५ हजार दिनुहोस्’ भनेकी थिइन् । तर राजेशको आमाले उक्त रकम नदिने भनेपछि नीताले केही व्यक्तिहरुलाई पठाएर जबरजस्ती २ लाख १५ हजार दिनुपर्छ भनी कागज बनाए । जबरजस्ती २ लाख १५ हजार दिनुपर्ने भनी कागज बनाएपछि राजेशको परिवार नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको क्रान्तिकारी युवा सङ्गठनका कास्की जिल्ला अध्यक्ष राजकुमार सुनारसँग गुहार माग्न पुगे । सुनारले दुवै पक्षलाई बोलाएर छलफल गराउने प्रयास गरे पनि नीता छलफलमा उपस्थित भइनन् । बरु नीताले प्रहरी कार्यालयमा राजेशविरुद्ध जबरजस्ती करणीको कसुरमा जाहेरी दिइन् । ratopati