देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धन सबथोक होइन 

देशान्तर

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आसन्न संघ र प्रदेशको चुनावमा पनि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको प्रष्ट पारेका छन्। अहिलेको गठबन्धनले स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरेकोमा सन्तुष्ट देखिएको माओवादी आगामी चुनावमा पनि गठबन्धन गरेर संविधान र लोकतन्त्रको रक्षाका लागि भूमिका खेल्ने बताए। देशान्तर साप्ताहिकका लागि मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै नेता पुनले असार १९ गते बस्ने केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने बताउँदै पार्टीभित्र सर्वसम्मत भए आफू महासचिवको दाबीमा नरहेको बताए। तर सर्वसम्मत नभएर चुनाव हुँदा आफू पनि स्वाभाविक प्रतिस्पर्धामा रहेको प्रष्ट पारेका छन्। वर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई असफल पार्ने प्रयासमा लागेको भन्ने कुरा बजार हल्ला मात्रै रहेको बताउँदै अर्थमन्त्रीको सफलता र असफलता माओवादीसँग जोडिएको पनि उनको भनाइ थियो। प्रस्तुत छ : पुनसँग गरेको कुराकानीको सम्पादित अंश।

तपाईंको स्वास्थ्य अहिले कस्तो छ?
म अहिले पूर्णरूपमा स्वस्थ भइसकेको छु। तीन, चार महिनामा भने सामान्य फ्लोअप गर्नु पर्छ। मेरो स्वास्थ्यलाई लिएर अहिले आत्तिहाल्नु पर्ने अवस्था छैन। म नर्मल अवस्थामा फर्किएर काममा लागिसकेको छु।

भर्खरै स्थानीय तहको चुनाव सम्पन्न भएको छ, यसप्रति माओवादी पार्टीको धारणा के हो?

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको नतिजाबाट हामी एकदमै सन्तुष्ट छौं। तर, योभन्दा पनि हामीले राम्रो गर्ने ठाउँ भने थियो। तराई मधेसमा हाम्रो नतिजा विगतको भन्दा बिग्रियो। यो बिग्रनुमा आफ्नै कारण छ। अरूलाई दोष दिन मिल्दैन। हाम्रो अलि बढी प्रभाव रहेका ठाउँहरू रोल्पा, रुकुमजस्ता जिल्लाहरूमा कांग्रेस र एमाले मिलेकाले हाम्रा सिटहरू घटेका छन्। अरू ठाउँमा पनि उम्मेदवारी प्रस्तुति र आन्तरिक सानातिना मतभेदहरू मिलाउन नसक्दा अलि कम जित्यो, यदि हामीले त्यो मिलाउन सकेको भए अझैं राम्रो नतिजा आउने थियो।

तपाईंहरू आफ्नै इलाकामा कमजोर हुनुमा उम्मेदवार छनोटलाई दोष दिने कि अरू पनि फ्याक्टरहरू छन्?

स्थानीय तहको नतिजालाई हेर्दा विगतमा जितेका ठाउँमा कांग्रेस, एमाले र हामीले पनि हारेका छौं। त्यसैले कतै जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम नगरेकाले पनि दण्डित गरेका हुन पनि सक्छन्। साथै हामीले पहिला जितेका जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालनमा कमी कमजोरी गरेका कारणले पनि यस्तो भएको हुन सक्छ भनेर हामीले लिएका छौं। विगतमा अप्ठ्यारो अवस्थामा जित्ने तर पाँच वर्ष आफ्नै नीति, कार्यक्रम र बजेटसहित काम गरेर फेरि जनतामाझ जाँदा ती ठाउँ हार्नु भनेको जनप्रतिनिधिका काम गर्ने शैलीमा कमी जस्तो देखिन्छ। अर्को भनेको जितिसकेपछि ढुक्कै बस्ने गरेर पनि हुन सक्छ।

जितिसकेपछि ढुक्कै भन्दा पनि अहिले त गठबन्धन थियो जितिहालिन्छ नि भनेर पनि होला?

त्यो पनि होला। तर, सबै ठाउँमा गठबन्धन पनि छैन। हारेका ठाउँमा बिना गठबन्धन नै हारेका छौं। त्यसैले हार्नुमा हाम्रो आन्तरिक कारण केही न केही त होला। हिजो एक्लै जितेको ठाउँमा अहिले दुई, तीन वटा पार्टी मिल्दा जितिहालिन्छ भनेर बस्दा हामीले हारेका पनि छौं।

यसअघिको गठबन्धन गर्दा आफू बलियो भएका ठाउँमा दिन नखोजेको जस्तो पनि देखियो, अब संघ र प्रदेशमा कसरी गठबन्धन गर्ने?

सामान्यतया, गठबन्धनको बारेमा कुरा गर्दा हामीले के सोच बनाएका थियौं भने, कांग्रेस एमाले र गठबन्धनका बीचमा प्रतिस्पर्धा छ भने गठबन्धन नगरौं। यदि एक पक्ष, दुई पक्ष वा गठबन्धन मिलेर प्रतिस्पर्धा गर्दा जित्ने अवस्था छ भने त्यो ठाउँमा गठबन्धनको प्राथमिकता दिऊँ भन्ने भएको थियो। पछि महानगर र उपमहानगर केन्द्रीय कार्यदलअन्तर्गत संयन्त्रले टुंग्यायो। त्योअनुसार सफलता हात पारेका छौं। तर स्थानीय तहको विषयमा जिल्ला र प्रदेश कार्यसमितिलाई छोड्ने हो भने आफ्नो आफ्नो इन्ट्रेस्ट पनि हुने रहेछ। केही कुरा कस्तो पनि भयो भने, जो साथी उम्मेदवार बन्नु छ, त्यो नै संयन्त्रमा बस्छ, र उसले आफंैलाई प्राथमिकता दिने या उसले प्राथमिकता दिएका ठाउँहरूमा गठबन्धन गर्न खोज्ने र अरूमा नगर्न खोज्ने अवस्था पनि हुँदो रहेछ। ३५ हजार उम्मेदवार केन्द्रबाट टुंगो लगाउने काम त्यति सहज कुरा पनि होइन। हामीले त समन्वयसम्म गरेका हौं। साथै अहिलेको नतिजामा पर्याप्त गृहकार्य नगरेको जस्तो पनि देखिन्छ। सारमा भन्दा एकअर्कालाई दिन नचाहेको भन्दा पनि एकअर्कालाई दिँदा पनि कतिपय ठाउँमा पराजित भएको अवस्था छ। यसलाई जनताले गठबन्धन नरुचाएको रूपमा पनि लिन सकिन्छ। गठबन्धन हुँदा जितिहालिन्छ भन्ने मानसिकता पनि हावी भएको देख्छु म।

माओवादी केन्द्रका नेता वर्षमान पुनसँग कुराकानी गर्दै देशान्तरकर्मी मुक्तिबाबु रेग्मी

माओवादीले चितवन, एकीकृत समाजवादीले पोखरा, कांग्रेसले ललितपुर र विराटनगर जितेकोलाई मात्रै सफलता मान्ने?
काठमाडौं महानगरपालिका बाहेक पाँचवटै महानगरमा गठबन्धन सफल देखिएको छ। सफल भनेको नतिजा नै हो। उपप्रमुखको रूपमा पनि सफल नै देखिएको छ। तर काठमाडौंमा आउँदा र धरानमा जाँदा स्वतन्त्रले जित्ने कुरालाई जनताले अलिकति नयाँपन खोजेको देखियो। केही अरू ठाउँ, जस्तो जनकपुरमा पार्टीका नेताहरूले गठबन्धनलाई स्वीकार गर्नु भएन र उहाँहरूले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको अवस्था पनि छ। यसरी हेर्दा गठबन्धन मात्रै सबैथोक होइन भन्ने पुष्टि भएको छ। जनताका रुचि फरक पनि हुँदा रहेछन्।

जनताले नयाँ टेस्ट गरे, अब फेरि संघ र प्रदेशको चुनाव आउँदै छ, तपाईंहरूले सोच्नेबेला आयो?

यसमा पार्टीहरूले आफूलाई करेक्सन गर्नैपर्छ। उम्मेदवारी दिँदा या जितिसकेपछि काम गर्दा या आफ्नो पार्टी सञ्चालनमा ध्यान दिनुपर्ने नै देखिएको छ। अर्को कुरा स्वतन्त्रले नै सबै कुरा हुँदैन। पार्टी भनेको राजनीति, दर्शन विचार र कार्यक्रममा आधारित हुन्छ। स्वतन्त्र भनेको त कुनै विचार दर्शनभन्दा पनि तत्काल जनताको प्रतिक्रियात्मक भोटको रूपमा मात्रै आउने हो। एकाध साथीहरू आउनु पनि भएको छ। यसलाई पार्टीहरूले सबकको रूपमा नै लिएका छौं। उहाँहरू स्वतन्त्र भने पनि पार्टी  सिस्टम र व्यवस्थालाई नै मानेर आउनु भएको छ। तर, व्यवस्था सञ्चालन गर्ने पार्टीहरूमा कम,  कमजोरीहरू छन् भन्ने कुरा उहाँहरूले देखाइदिनुभयो। अब संघ र प्रदेशको निर्वाचनमा पनि यस्तै चल्छ भन्ने त मलाई लाग्दैन।

तर, अहिलेदेखि नै स्वतन्त्रहरूले उम्मेदवारी घोषणा गर्दै जानु भएको छ, यसले तपाईंहरूले सोँच्ने बेला भयो होला?
निश्चय पनि। हामीले सोच्नै पर्छ। र विभिन्न क्षेत्रबाट साथीहरू राजनीतिमा आउनुलाई पनि मैले व्यक्तिगत रूपमा राम्रो हो भनेको छु। सायद सबै पार्टीहरूले यसलाई नराम्रो मान्ने भन्दा पनि आफूलाई करेक्सन गर्ने अवसरको रूपमा पनि लिनुपर्छ। हिजो राजनीति फोहोरी खेल हो, एकाध मान्छेले मात्रै गर्ने कुरो हो भन्ने थियो अहिले राम्राराम्रा व्यक्तिहरू राजनीतिमा आउन खोज्नु भएको छ यसले पक्कै पनि देश र समाजलाई राम्रो गर्छ भन्ने मेरो बुझाइ हो। उहाँहरू राजनीतिलाई सुधार गर्छु भनेर आउनु भनेको दलीय र संघीय लोकतान्त्रिक व्यवस्थाको सफलताको रूपमा नै लिनुपर्छ।

कुनै भूमिकामा सफल भएको व्यक्ति राजनीतिमा सफल भएको त देखिएको छैन, रवीन्द्र मिश्रकै उदाहरण पनि दिन सकिन्छ?
विगतको रेकर्ड त्यति सफल छैन। मूलधारका पार्टीहरू कोही २००७ साल, २०३६ साल, कोही २०५२ सालमा र कोही २०६२-०६३ सालमा जनतासँगै रहेर व्यवस्थाविरुद्ध लडेका छन्। उनीहरू नै चुनावमा विजयी हुँदा कहीँ कतै स्वतन्त्रले पनि जित निकालेका छन्। ती स्वतन्त्रहरूले जित्दा कतिपय ठाउँमा पार्टीभित्रका अन्तरविरोध र उम्मेदवार चयन नमिल्दाको अवस्थामा देखिन्छन्। तर, यस पटक महानगर र उपमहानगरमा साँच्चिकै स्वतन्त्र उम्मेदवारले जितेकाले अहिले उहाँहरू (विभिन्न पेसा व्यवसायमा सफल भएका तर अहिले उम्मेदवार घोषणा गर्नेहरूमा) उत्साह देखिएको छ। तर, रवीन्द्र मिश्रलगायतका साथीहरूको असफलता हेर्दा आउँदो संघ र प्रदेशको चुनावमा उहाँहरूको त्यति चल्दैन कि जस्तो पनि लाग्छ। तर फेरि चल्ने नचल्ने भन्दा पनि पार्टीहरूले आफूलाई करेक्सन गर्न भने जरुरी छ। त्यसैले अरू सफल हुन्छन् या असफल हुन्छन् भन्दा पनि पार्टीहरूले ग्राउन्ड रियालिटीलाई बुझेर अघि बढ्नुपर्छ।

अब संघ र प्रदेशको चुनाव कहिले गर्ने?
अब संघ र प्रदेशको चुनाव कात्तिक वा मंसिर भन्ने चर्चा छ। २०७४ साल मंसिर २२ गते निर्वाचन भएकाले त्यो मितिमा पाँच वर्ष पूरा हुन्छ। हामीले शपथग्रहण गरेको फागुनमा भएको हुनाले फागुनमा गर्नुपर्छ भन्ने चर्चा गर्दा सामान्य कानुनी विषयहरू पनि उठेका छन्। हाम्रो भू-बनोटअनुसार कि हिउँद कि गर्मी सिजनमा मात्रै चुनाव गराउन सकिन्छ। त्यसैले कि कात्तिक मंसिर कि फागुन पछि वैशाख भित्र हो। तर अलि बढी सम्भावना कात्तिक मंसिरकै छ।

अबको चुनावमा पनि फेरि गठबन्धनमै जाने हो?

हो। आउँदो संघ र प्रदेशको चुनावमा हामी गठबन्धन गरेर नै जान्छौं। किनभने हामीले जुन उद्देश्यका लागि गठबन्धन गरेका थियौं त्यो उद्देश्य अझैं आवश्यक जरुरी र सान्दर्भिक छ।  हामी राजनीतिक स्थायित्व र संविधानको रक्षा गर्न र तीव्र आर्थिक विकासका लागि वातावरण बनाउनका लागि अस्थिरता नआओस् भन्ने हिसाबले नै हामी प्रतिबद्ध छौं। खासगरी केपी ओलीजीले दुई पटक संसद् विघटन गरेपछि देश राजनीतिक अस्थिरतातर्फ गएपछि नै यो गठबन्धन बनेको हो। यसबीचमा स्थानीय निर्वाचन पनि आयो हामीले गठबन्धन गरेर सफलता पनि हासिल गर्‍यौं।  संघ र प्रदेशमा पनि हामी गठबन्धन गरेर जान्छौं। त्यसरी जाँदा नै संविधान र लोकतन्त्रको रक्षा पनि हुन्छ। र विकास निर्माण र समृद्धिका लागि काम गर्ने वातावरण बन्न सक्छ। नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि वृद्धि हुन्छ। र आन्तरिक स्थायित्व पनि कायम हुन्छ र तीव्र गतिमा आर्थिक विकासको काममा हामी लाग्न सक्छौं भन्ने विश्वास छ।

वाम गठबन्धन कि वामलोकतान्त्रिक, तपाईंहरूसँग च्वाइस पनि छ?
च्वाइसभन्दा पनि वाम लोकतान्त्रिक गठबन्धन नै चलिरहेको छ, यही नै अहिलेको आवश्यकता पनि हो। विगतको भन्दा यसलाई जनताले रुचाएको र आवश्यकता महसुस गरेको पनि देखिन्छ।

सिट बाँडफाँट कसरी गर्ने, तपाईंहरू भित्रभित्र छलफलमा हुनुहुन्छ?

सामान्य छलफल सुरु भएको छ। जसले जहाँ जितेको छ सामान्यतया स्थानीय तहमा गरिएको जसरी अहिले पनि त्यस्तै गर्नुपर्छ होला। तर कतिपय यस्ता ठाउँहरू पनि छन्, सिट त्यसलाई कायम गरे पनि एकाध ठाउँमा भने हेरफेर गर्नुपर्छ।

जसले जहाँ जितेको छ, भन्दा त, पहिलो दल एमाले, त्यसबाट फुटेर बनेको दल एकीकृत समाजवादीले एमालेले जितेको ठाउँमा स्वाभाविक रूपमा हाम्रो पहिलो दाबी हुन्छ भनेर तर्क गर्छ ? यसरी गठबन्धन गर्दा तपाईंहरूको साइज त पुरानै हुने भएन र?

हुँदैन। माओवादीले संसदीय चुनावमा ३७ सिट जितेको छ। कांग्रेसले ६३ सिट जितेको छ। एकीकृत समाजवादीको १४ सिट छ भने जनता समाजवादीको पनि त्यही हाराहारी छ। यही प्राथमिकताको आधारमा हुन्छ। सामान्यतया प्राथमिकता यो सिटमा हो। त्यसपछि झन्डै १०० सिट बाँकी हुन्छ। त्यहाँको मतभार हेरेर भागबन्डा गर्छौं। केही सिट यताउति पनि हुन्छ। हामीले स्थानीय तहमा पनि यो मोडलका गठबन्धन गरेका थियौं। कतिपय ठाउँमा गठबन्धनमा रहेका अरू पार्टीको मत २० हजार छ, एउटा पार्टीको मत ५ हजार मात्र छ, तर त्यो मत निर्णायक छ। अरू ठाउँभन्दा त्यहाँ पपुलर उम्मेदवार छ, जित्ने सम्भावना छ भने एकताको आवश्यकता हेरेर गठबन्धनको मर्मअनुसार ५ हजार मत भएकालाई पनि नेतृत्व दिएका छौं।

माओवादी र कांग्रेसले मात्रै गठबन्धन गर्न पाए हुन्थ्यो जस्तो लागेको छ रे हो?

हाँस्दै। त्यस्तो छैन। यो बाहिरी हल्लाहरू मात्रै हो। यो सबै गठबन्धन नचाहने शक्तिले आशंका गराएर गठबन्धन भत्काउनका लागि चलाइएका हल्लाहरू होलान्। ठूला दलहरू कांग्रेस र माओवादीले अलिअलि हेपे कि, हामीलाई साइजअनुसारको सम्मान पाएनौं कि भन्ने अरू साथीहरूलाई लाग्न सक्छ। एकाध त्यस्ता सार्वजनिक अभिव्यक्तिहरू पनि आएका छन्। यदि त्यस्तो भएको छ भने करेक्सन गर्नुपर्छ हामी करेक्सन गर्न तयार छौं। तर मूलरूपमा गठबन्धनलाई बलियो बनाएर जाने सवालमा माओवादी र कांग्रेस एक छ।

माओवादी र कांग्रेस मिलेर एकीकृत समाजवादीले हामीलाई एक्ल्याए भन्छ?

स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धन अलि जटिल नै हो। त्यो जटिलताका कारणले त्यस्तो पनि देखिएको होला। संघबाट जहाँ मिलाइयो, महानगर र उपमहानगरपालिकामा पर्याप्त साथ दिएर नै भएको छ। केही उपमहानगरहरूमा पार्टीकै नेताहरूको असन्तुष्टिका कारण बिग्रिएका छन्। यसको उदाहरण जनकपुर हो। बाँकी ठाउँमा एउटा पार्टीको मत अर्को पार्टीमा शतप्रतिशत त जाँदैन भने मतदाताको त आफ्नो च्वाइस पनि हुन्छ। एउटा पार्टीको मतदाता गठबन्धन हुँदैमा अर्को पार्टीको उम्मेदवारलाई मत दिन्छन् भनेर ग्यारेन्टी गर्न पनि सकिँदैन। तर सामान्यतया मतदाताहरूले गठबन्धनलाई रुचाउनु भयो यो भने खुसीको कुरा हो।

माओवादी पार्टीको पदाधिकारी चयनलगायतका कुराहरू किन अड्कियो?

यही असार १९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। त्यसमा नै हामीले सबै कुरा टुंगो गर्छौं।

पदाधिकारी चयन त संघ र प्रदेशको निर्वाचन पछि मात्रै भन्ने कुरो पनि छ त?

होइन। अब हामीले पार्टीको स्थायी कमिटी बनाउँछौं, पोलिटब्युरो बनाउँछौं। र हामीले पदाधिकारी पनि बनाउँछौं। त्यही एजेन्डा राखेर नै हामीले केन्द्रीय कमिटीको बैठक बोलाएका छौं।

म त केपी ओलीकै क्याबिनेटमा थिए। क्याबिनेट छाडेर आएँ। अहिले हुन लाग्याभन्दा पहिला नै ढुक्कै पाँच वर्षका लागि मन्त्री भएको थिएँ।

तपाईंका कारणले रोकेको हो पदाधिकारी चयनको काम?

होइन, मेरो कारणले पदाधिकारी चयनको काम रोक्नुपर्ने अवस्था होइन र छैन पनि। म बिरामी भएर चीनमा उपचार गरिरहेका बेला माओवादी केन्द्रको महाधिवेशन भयो र म महाधिवेशनमा सहभागी हुन पनि पाइनँ। त्यसक्रममा म पनि महासचिवको आकांक्षी छु भनेर भनेकै थिएँ। त्यतिबेला समझदारी हुन्छ भने म मान्छु पनि भनेको थिएँ। पार्टीले मबाहेक अरूलाई महासचिवको जिम्मा दिँदा म मान्छु नै भनेको थिएँ। हाम्रो महाधिवेशनको बीचमा कोभिडको तेस्रो लहर पनि बढेर आयो र महाधिवेशन छोट्ट्याउनु पर्ने भयो। त्यो कारणले पनि त्यतिबेला पदाधिकारी चयनको काम नटुंग्गिएको हो। गएको केन्द्रीय समितिको बैठक स्थानीय तहको निर्वाचनको मुखमै बसेको थियो। त्यसले गर्दा पदाधिकारी चयनमा हामीले धेरै वर्कआउट गर्न पनि पाएनौं। त्यसमा जति मेहनत गर्नुपर्ने गर्न पाएनौं अब असार १९ को बैठकबाट सबै कुरा टुंगो गर्छौं। अब पदाधिकारी चयन गर्दा पहिलो प्राथमिकता समझदारी हो त्यो हुन नसकेमा मतदानबाट भए पनि टुंगो लगाउँछौं।

अर्को व्यक्ति महासचिव भनेको को, तपाईंले कसैलाई सिफारिस गर्नुभएको छ? 

मेरो आफ्नै व्यक्तिगत च्वाइस त भएन। तर यो साथीको नाममा समझदारी बन्यो भने म त्यो सहमतिको बाधक बन्दैन भनेर अध्यक्षलाई स्पष्टरूपमा भनेको पनि छु।

तपाईंले नै अध्यक्ष प्रचण्डलाई चलाउनु भएको छ, छायाँ अध्यक्ष भनेको वर्षमान पुन भन्छन् नि, हो?

यो हल्ला मात्रै हो। अध्यक्षको छायाँ भन्ने कुरा पनि हुँदैन।

तपाईंले जनार्दन शर्मालाई महासचिव बन्न रोक्न खोज्नु भएको कुरा मिडियामा आएको थियो नि?

यो मिडियामा आएको कुरा मात्रै हो। महासचिवका लागि जनार्दनजी, शक्ति बस्नेतजी, देव गुरुङजीहरू आकांक्षी हुनुहुन्छ। उहाँहरूले आकांक्षा राख्नु अन्यथा पनि होइन। तर, अध्यक्षले बसेर सबै साथीहरूलाई यसरी गरौं भनेर भूमिका दिँदा सबैले मान्ने अवस्था छ। त्यसैले नेताहरू बसेर कोही वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव बनाएर जाँदा हुन्छ।

तपाईं र जनार्दनबीचको सम्बन्ध कस्तो छ?
मेरो र जनार्दनबीचको सम्बन्ध ठीकै छ। मैले पार्टीको अर्थ र योजना विभाग पनि सम्हालिरहेको छु। उहाँ पार्टीबाट पठाएको अर्थमन्त्री पनि हुनुहुन्छ। बेलाबेलामा उहाँसँग छलफल भइरहन्छ।

पार्टीबाटै जनार्दनलाई असफल बनाउने प्रयास भएको छ, त्यसमा वर्षमानको हात छ भन्छन् नि?
नेपाल हल्लाको देश पनि भन्छन्। अगाडि देखेको भन्दा पनि पछाडि के हुँदैछ भनेर षड्यन्त्रको रूपमा हेर्ने गरिन्छ। षड्यन्त्रको सिद्धान्तअनुसार यो सामन्तवादको सांस्कृतिक विशेषता पनि हो। अगाडि देखिएको यथार्थ भन्दा पनि पर्दा पछाडि केही चल्दैछ भन्ने आशंका गर्ने बानी छ। आफैं हिँडिरहेको अवस्थामा पनि पछाडिबाट कसैले हिँडाउँदै छ भन्ने सोचाइ पनि रहेको पाइन्छ। मेरो र जनार्दनजीको बीचमा व्यक्तिगत रूपमा साथीको रूपमा राम्रो सम्बन्ध छ।  मैले असफल किन बनाउने ? हामीले नै यो मेहनतका साथ गठबन्धन बनाएका छौं। म त केपी ओलीकै क्याबिनेटमा थिए।

क्याबिनेट छाडेर आएँ। अहिले हुन लाग्याभन्दा पहिला नै ढुक्कै पाँच वर्षका लागि मन्त्री भएको थिएँ। त्यस्तो छोडेर अब ४, ५ महिनालाई हुन खोज्यो भन्नु कुतर्क मात्रै हो। हामीले त्यतिबेला छोडेर आएपछि अर्को मन्त्रिमण्डलमा त स्वतः हाम्रो दाबी भनेको भए पार्टीले मान्थ्यो, मान्न सक्थ्यो। तर हामीले दाबी त गरेनौं। अहिले आएर वर्षमान फेरि मन्त्री हुन खोज्यो अरे भन्ने कुरा हल्ला मात्रै हो। मैले त जनार्दनजीलाई असहयोग गर्नुपर्ने कारण नै छैन। किनभने जनार्दनजी व्यक्ति होइन। उहाँ त प्रचण्डको प्रतिनिधि हो। उहाँ बदनाम हुँदा प्रचण्ड बदनाम हुने हो र समग्रमा माओवादी नै बदनाम हुने हो। अर्थमन्त्रीको रूपमा सफल हुनुभयो भने पार्टीलाई नै राम्रो हुन्छ। असफल हुनु भयो भने पार्टीलाई नै नराम्रो हुन्छ। त्यस अर्थमा पनि हामीले त सहयोग गर्नै पर्छ। वरु पार्टीभित्र आलोचना गर्ने, सुझाव दिने, यहाँ पुगेन भन्ने हो त्यो आफ्नो ठाउँमा छ।

जनार्दन शर्माको अर्थमन्त्री पदलाई कसरी टिप्पणी गर्नुहुन्छ?
यसमा मैले असहयोग गरेको छु, मेरो जनार्दन शर्मासँग मिलेको छैन भनेको हुनाले यसमा बोल्दा अन्य अर्थ लाग्छ। स्वतन्त्ररूपले केही नभएको अवस्था भएको भए मैले उहाँको पक्षमा वा उहाँका कमजोरीका विषयमा भन्न सक्थे। तर अहिले सबैले यी दुईको बीचमा प्रतिस्पर्धा छ भनेर भनी राखेकाले यो विषयमा बोल्दा राम्रो हुँदैन। सम्बन्धको कुरा गर्नुहुन्छ भने उहाँसँग मेरो एकदम राम्रो छ।

अमुक व्यक्ति रिसाउलाभन्दा पनि तपाईंले पनि अर्थमन्त्री भएर चलाइसक्नु भएको छ, अहिलेको अवस्थाबारे पनि जानकार हुनुहुन्छ, आलोचनात्मक चेतबाट हेर्दा के पाउनुहुन्छ?
खासगरी कोभिड-१९ पछिको विश्व अर्थतन्त्र नै संकटमा छ। अमेरिकामा बीसौं वर्षपछि उच्च महँगी भएको छ। हाम्रो छिमेकी भारतमा पनि त्यत्तिकै मूल्यवृद्धि छ। श्रीलंका एक ढंगले अर्थतन्त्र नै कोल्याप्स भएको अवस्था छ। पाकिस्तान पनि त्यही बाटोमा गइरहेको छ। यस्तो अवस्थामा नेपालमा अर्थमन्त्री भएपछि जनार्दनजीलाई सुरुमै भनेको थिए, वूढापाकाको भनाइअनुसार तपाईं भूतले खाजा खाने बेला अर्थमन्त्री हुनुभयो भनेर। त्यसैले तपाईंले फुकेर कदम चाल्नु होला भनेर सुझाव पनि दिएको थिएँ। अर्को कुरा रुस र युक्रेनको युद्धका कारण ६० वटा देशले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाए। कुनै पनि बेला हामी खाद्यान्न संकटमा पर्न सक्छौं। त्यसैगरी पेट्रोलियम पदार्थको ठूलो निर्यातकर्ता त रुस हो। त्यो युद्धका कारण पनि ग्यास र पेट्रोलियम पदार्थको एकदमै ठूलो मूल्यवृद्धि भएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको कुनै पनि उत्पादनको मूल्य बढ्नु हो। यसमा उहाँले सबै कुरा बुझेर अलिकति कोसिस गर्दा राम्रो हुन्थ्यो। यसमा व्यक्तिको भूमिका पनि हुन्छ। उहाँले कति गर्नु भएको छ त्यो सबैले देख्नु भएको छ। म यत्ति भन्छु जनार्दनजी सजिलो अवस्थामा अर्थमन्त्री बन्नु भएको होइन।

माओवादीले अर्थ मन्त्रालय सम्हालेकाले अन्तर्राष्ट्रिय निकायले नपत्याएकाले मन्त्रिमण्डल पुनर्गठन गर्दा अर्थ कांग्रेसले लिने कुरा सुनिन्छ?
यो विषयमा म जानकार छैन। यसमा अप्ठेरो के छ भने माओवादी भनेका जनयुद्ध ब्याकग्राउन्डबाट आएका हो। म अर्थमन्त्री हुँदा मलाई पनि गुरिल्ला अर्थमन्त्री भन्थे। म गुरिल्लै हो। अर्थमन्त्री त गुरिल्ला होइन नि। अहिले जनार्दन शर्मालाई पनि गुरिल्ला अर्थमन्त्री भन्छन्। उहाँ पनि गुरिल्ला कमान्डर नै हो। आज उहाँ अर्थमन्त्री हुनुहुन्छ। एउटा पब्लिक प्रसेप्सन पनि हुन्छ नि। त्यसैले अरूलाई जसरी माओवादी ब्याकग्राउन्ड सजिलै स्वीकार्य नहुने भएकाले अलि बढी मेहनत गर्नुपर्छ।

गुरिल्ला भए पनि वर्षमानसँग सहज, जनार्दनसँग असहज भनेर प्रधानमन्त्रीसमक्ष रिपोर्टिङ भएको सुनिन्छ?
अहिलेको मुख्य कुरा परिस्थितिको दोष हो। सबै काम गर्न नसकिए पनि लोकतन्त्रमा मुख्य कुरा संवाद गरेर अघि बढ्नु पर्छ। अहिलेका अर्थमन्त्रीजीले कुरा स्पष्ट गर्नुपर्छ। उहाँले स्पष्ट गर्नुभयो भने त हामीले डिफेन्स गर्छौं। गठबन्धनले पनि गर्छ। अहिलेको ओपन सोसाइटमा उहाँले किन भन्सार दर बढाए, किन घटाए भनेर जानकारी गराउनुपर्छ।

एमसीसी पारित भयो, एसपीपी नलिने भनेर सरकारले निर्णय गर्‍यो, यस्ता विषयहरू किन आइरहन्छन्?
एसपीपी चर्चामा आयो, सरकारले निर्णय गरेर यो सहयोग नलिने स्पष्ट गरिसकेको छ। यसका लागि सरकारलाई धन्यवाद दिन्छु। हाम्रो भू-राजनीतिक अवस्था एकदमै जटिल छ। विगतमा पनि जटिल थियो, अहिले अन्तर्राष्ट्रिय र भूराजनीतिक द्वन्द्व बढेर गएपछि हामी त्यसको केन्द्रमा जस्तो छौं। यसरी हेर्दा स्वतन्त्र परराष्ट्र नीति, असंलग्न परराष्ट्र नीति हाम्रो अस्तित्व र स्वाधीनताको रक्षाका लागि अरू बाटो छैन। अर्को कुरा के पनि स्पष्ट हुनुपर्छ भने आर्थिक सहयोग र विकासको सहयोग सबैसँग लिनुपर्छ र त्यसका लागि खुला पनि हुनुपर्छ। सैनिक या यस्तै सामरिक खालको गठबन्धन कोहीसँग पनि हामीले गर्नु हुँदैन। हामी सबैको मित्र हो, कसैसँग नजिक र कसैसँग टाढा पनि छैनौं।

यो अवस्था आउनुमा त हाम्रो नेतृत्वको दोष त होला नि होइन?
अन्तर्राष्ट्रिय शक्ति केन्द्र वा राष्ट्रिय शक्ति जसले पनि पहिला आफ्नो हित हेर्छ। त्यसैले अहिले हामीले हाम्रो राष्ट्रिय हित हेर्ने हो। अहिले अरू कसैले प्रस्ताव गर्‍यो भन्दा दबाबको रूपमा लिने या मान्नै पर्ने जरुरी पनि छैन। यस्तो प्रस्ताव गर्ने देशहरूले पनि आफ्नो स्वार्थ र हित हेरेका हुन्छन्। हामीले मित्रहरूको स्वार्थ र हित हेर्ने होइन कि हाम्रो हित मात्रै हेर्ने हो। हाम्रो हित र मित्रहरूको हित मिल्दा सँगै काम गर्ने हो। नमिल्दा हामीले अस्वीकार गर्न सक्नुपर्छ।