देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदले बनायो दुई वर्षमा दुई कानुन

देशान्तर

काठमाडौं । बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक र बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन मंगलबार प्रतिनिधिसभाले स्वीकार गरेको छ ।

यी दुबै विधेयक ७ जेठ २०७६ मा प्रतिनिधिसभामा दर्ता भएका थिए । दुबै विधेयकलाई प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले संशोधनसहित पारित गरेको दुबै विधेयक प्रतिनिधिसभाले स्वीकार गरेसँगै संघीय संसदभित्रको कानुन निर्माणको प्रक्रिया पूरा भएको छ । अब सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।

संसदको मुख्य काम नै सरकार निर्माणपछि कानुन निर्माण गर्नु हो । तर, पछिल्ला दुई वर्ष सदनमा कानुन निर्माणको माहोल राजनीतिक रुपमा तयार नभएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । परिणामतः दुई वर्षपछि बल्ल प्रतिनिधिसभाले दुई वटा कानुन निर्माणको प्रक्रियालाई पूरा गरेको छ ।

संघीय संसद सचिवालयका अनुसार १३ साउन २०७७ मा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ को कानुन निर्माण प्रक्रिया पूरा गरेयता कुनै पनि विधेयकलाई अन्तिम रुप दिन सकेको छैन ।

प्रतिनिधिसभाले पनि २०७७ साल असार ११ गते ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को कानुन निर्माण प्रक्रिया पूरा गरेको थियो । त्यसपछि एकैपटक मंगलबार दुई वटा कानुन निर्माणको प्रक्रिया पूरा गरेको हो ।