देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धनमा करेक्सन आवश्यक छ 

देशान्तर

एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले गठबन्धनका बीचमा करेक्सन गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । आसन्न निर्वाचनमा पनि गठबन्धन गर्ने विषयमा आफूहरू तयार रहेको बताउँदै तर यसका लागि अन्य दलहरूको भूमिकामा पनि भर पर्ने प्रष्ट पारे । देशान्तरसँग कुरा गर्दै खतिवडाले स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेसको दम्भका कारण पनि नतिजा सोचेजस्तो हात पार्न नसकिएको गुनासो गरे । 

एकीकृत समाजवादीको स्थायी समितिको बैठकले के निर्णय गर्‍यो ?
हामीले स्थायी समितिको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा र यसको ट्रेन्ड आगामी दिनमा हाम्रा सम्भावनाहरू गठबन्धनभित्र देखा परेका तनाव एकता समस्या र सम्भावनाहरू आगामी निर्वाचनका विषयहरूलाई समेटर एउटा समीक्षा प्रतिवेदन तयार भएको थियो, त्यही प्रतिवेदनमा आधारित रहेर अरू सम्पूर्ण दिशा तय गर्ने काममा लागियो ।

स्थानीय तहको निर्वाचनमा तपाईंहरूले अपेक्षा गरेजस्तै नतिजा आयो त ?
स्थानीय तहको निर्वाचनअन्तर्गत महानगर र उपमहानगरको निर्वाचनमा गठबन्धनभित्र भएका व्यहारहरू, त्योभित्रको सिट बाँडफाँड गर्दा गरिएका तालमेलका कुराहरूलाई हेर्दा प्रमुख र उपप्रमुखको रूपमा ठीकै रह्यो । वडाहरूमा ठीक भएन । वडाहरूमा निकै धेरै अव्यवस्था देखियो । यो कुरालाई हामीले पार्टीको बैठकमा राम्रोसँग इंगित गर्‍यौं ।  खासगरी मुख्य ठूला दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रभित्र आआफ्ना प्रकारका समस्याहरू रहे । कांग्रेसभित्रको तीव्र अन्तरविरोधको कारणले गर्दा पनि हामी अप्ठेरोमा पर्‍यौं ।

 नेकपा एकीकृत समाजवादी बनिसकेपश्चात् अथवा नेकपा एमाले विभाजन भएपश्चात् देशैभर एक्लै चुनाव जितिहाल्छु नि किन अरूको साथ सहयोग चाहियो भन्ने दम्भ नेपाली कांग्रेसमा देखियो । कांग्रेसको दम्भ वा मनोविज्ञान जे भने पनि त्यो कुराले पनि हामीलाई अप्ठेरोमा पार्‍यो । माओवादीभित्र एक प्रकारले हीनताबोधले ग्रस्त मनोविज्ञान रहेछ भन्ने कुरा हामीले स्थायी कमिटीको बैठकमा चर्चा गर्‍यौं । हरेक ठाउँमा एकीकृत समाजवादीलाई ताछेर कमजोर बनाएर आफ्नो पोजिसन जोगाउने कुरामा नेपाली कांग्रेसलाई पनि उचाल्ने काममा माओवादी केन्द्र लाग्यो भन्ने हाम्रो समीक्षा रहेको छ ।

भनेको, कांग्रेस र माओवादी मिले एकीकृत समाजवादीलाई एक्लै बनाए होइन त ?
त्यो एकदमै प्रष्ट देखिन्थ्यो । जिल्लाजिल्लामा भएको स्थानीय तहको निर्वाचनको समयमा हामीले देखे भोगेको कुरा हो । सातै प्रदेशमा छरिएर रहनु भएका स्थायी कमिटीका सदस्यहरूले केन्द्रीय कमिटीका सदस्यहरूले र जिल्लाको रिपोर्टसहित उहाँहरूले प्रस्तुत गर्दाखेरि के देखियो भने नेकपा माओवादी केन्द्रका कार्यकर्ताले अधिकांश ठाउँमा नेकपा एकीकृत समाजवादीलाई सकेसम्म कमजोर बनाएर प्रस्तुत गर्ने काममा र नेपाली कांग्रेसलाई अलग ढंगले उचाल्ने काममा लागेको हाम्रो आम बुझाइ रहेको छ ।

कांग्रेस माओवादीको भूमिका राम्रो भएन पनि भन्ने, अबको चुनावमा कसरी अगाडि बढ्ने त ?

यसका दुई वटा पाटा छन् । पहिलो कुरा गल्ती राजनीतिक दलहरूले गर्न सक्छन्, कमजोरी हुन सक्छ, विवाद हुनसक्छ, मनोविज्ञानका कतिपय कुराहरू समेट्न नसक्दाखेरि कतिपय वस्तुगत विश्लेषण गर्न नसक्दा समस्या हुन सक्छ, त्यो कुरालाई करेक्सन गरेर नै गठबन्धन गरेर अघि बढ्नु पर्छ । यसैमा हामीले प्राथमिकता दिन्छौं । दोस्रो कुरा गठबन्धन एक्लैले गरेर हुने कुरा होइन । गठबन्धन गर्नका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पनि रुचि हुन पर्‍यो । हाम्रो त रुचि छँदै छ । हामी त गठबन्धनका मुख्य अभियन्ता नै हौं । यस्तो बेलामा अरु सबैको मनोविज्ञान हाम्रो मनोविज्ञानसँग मिल्दै गयो, अथवा सम्झौता योग्य भयो, नयाँ विषयहरू आए भने गठबन्धन अगाडि बढ्छ । गठबन्धन आजको आवश्यकता पनि हो । तर अरूले चाहेनन् भने हामीले मात्रै चाहेर त अघि बढ्दैन ।

गठबन्धन अगाडि बढ्नका लागि अन्य दलहरू कति इमान्दार बन्छन्, त्यसका आधारमा तपाईंहरू अघि बढ्ने होइन त ? 
बिलकुल । एक्लै चुनावमा जाने कुरा त हामी आजैदेखि तयारीमा छौं ।  स्थायी समितिको बैठकले पनि एक्लै चुनावमा जाने गरी अघि बढ्ने विषयमा छलफल गरेको छ । हामी एक्लै चुनाव लड्न समर्थ भएर नै कार्यकर्तालाई परिचालन गर्नका लागि योजना बनाउने हो । हामी बैसाखीहरूबाट मात्रै  हिँड्नु पर्छ भन्ने सोँच राख्दैनौं । एउटा निश्चित समय थियो । अझैं पनि त्यो समय भएकाले गठबन्धन पनि गर्नुपर्ने अवस्था छ । यो गठबन्धन हाम्रा कारणले गरिएको होइन, सबैका कारणले गरिएको हो र राष्ट्रिय आवश्यकताले गरिएको हो । तर, एक्लै चुनाव लड्ने कुरा त कसैले रोक्न पनि सक्दैन ।

अर्को पक्षलाई निषेध गर्नका लागि गठबन्धन गर्नु कतिको जायज ?
यो प्रवृत्तिलाई पराजित गर्नका लागि गरिएको गठबन्धन हो । एउटा राजनीतिक पार्टीभन्दा पनि त्यो पार्टीको नेतृत्वले राष्ट्रिय राजनीतिमा बोकेको प्रवृत्तिले कत्तिको घातक र कत्तिको हानिकारक छ, त्यसले मुलुकलाई कुन दिशातिर लगिरहेको छ भन्ने विषयबाट यो विषय सिर्जित भयो । अब प्रवृत्तिलाई पराजित गर्नुपर्ने, प्रवृत्ति पराजित गर्नका लागि त्यो प्रवृत्ति बोक्ने राजनीतिक नेतृत्वलाई पराजित गर्नको निम्ति आम जनताले फलानो पार्टीलाई पराजित गर्नुपर्छ भनेर व्यावहारिक जनबोली जनताले बोले । तर सच्चाई के हो भने राष्ट्रिय राजनीतिमा रहेको प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि पनि गठबन्धन आवश्यक छ । प्रतिगमनकारी शक्तिहरू संगठित हुने हो भने लोकतन्त्र र अग्रगमन सही दिशामा जान सक्दैन र त्यसलाई पराजित गर्नुपर्छ भन्ने हो ।

तपाईंहरूको गठबन्धन के सफल भयो त ?
मूल  राजनीतिक कुरामा इमान्दारिता देखियो । तर व्यवहार गर्ने पदीय स्वार्थहरूमा त्यो इमान्दारितामा  झल्किएन । तर आम रूपमा एउटै बुझाइ छ त्यसमा भिन्नता छैन ।

कसरी यसलाई अलि प्रष्ट पार्नुस् त ?

अर्थात् प्रतिगमनकारी शक्तिलाई पराजित गर्नका लागि हामी सबै मिलेर जानुपर्छ भन्ने कुरामा सबैको एकमत छ । पदहरू विभाजन गर्ने बेलामा, चुनाव लड्ने बेलामा सबैलाई समेटर लिएर जानुपर्छ भन्ने कुरामा कमजोरी देखियो । आज पनि यदि हामीले गठबन्धन गर्दा नेकपा एमालेको ठाउँमा एकीकृत समाजवादीको आफ्नो प्रकारको हक त लाग्थ्यो नै । तर एकीकृत समाजवादीमा आउने भोटलाई उम्मेदवारसहित दिएर केन्द्रीकृत गर्न सकेको भए नेकपा एमालेले अहिलेको भन्दा झन्डै ७०–८० सिट गुमाउने थियो । अहिलेको परिणाम हेर्दा त्यस्तो देखिन्छ ।

तपाईंहरू नयाँ पार्टी भएकाले अरू दलले नपत्याएका होलान् नि ?
त्यो भन्न सकियो । तर जहाँ गर्न सकिन्थ्यो, वडामा वडाध्यक्ष, मेयर उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष दिन सकिन्थ्यो, त्यस्तो शून्यता पनि होइन । कुरा के हो भने माओवादी र कांग्रेसले गरेको व्यहार राम्रो भएन भन्नेमा हामी प्रष्ट छौं ।

अब संघ र प्रदेशको चुनाव कहिले गर्ने ?
मौसमको हिसाबले हेर्ने हो भने कात्तिकको अन्तिम वा मंसिरको पहिलो साता चुनाव गर्नुपर्छ ।  यो समयमा गर्न सकिएन भने पहाडी तथा हिमाली जिल्लामा मौसमका समस्याहरू आउँछन् । मंसिरमा गर्न सकिएन भने फागुनको अन्तिम वा चैततिर चुनाव पुग्ला ।
तपाईंहरूले नयाँ पठाउने मन्त्रीहरू कहिले शपथ लिन्छन् ?
बजेट पारित भएपछि मन्त्रिमण्डल हेरफेर गर्ने सहमति भएको हो । त्यसैकारणले पहिला रोकियो अब यो चाँडै हुन्छ ।

तर, तपाईंहरूले पहिला पठाएका मन्त्रीहरूले नमान्दा रोकियो भन्छन् त ?
मुख्य कुरा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नमानेको हो ।   हाम्रो पार्टीबाट पहिला सरकारमा सहभागी भएका मन्त्रीहरू फिर्ता हुन तयार हुनुहुन्छ । यो त पार्टीको निर्णय पनि हो ।

अरू पार्टीले पनि मन्त्री हेरफेर गर्न लागेका हुन् ?
सुन्दा व्यवहारमा हेर्दा र छलफल गर्दा अरू दलहरू पनि त्यो प्रक्रियामा हुनुहुन्छ भन्ने देखिन्छ । हामीले त निर्णय नै गरिसकेको हुनाले परिवर्तन गर्नु पर्‍यो, पर्‍यो ।

अब, एसपीपी परियोजनाप्रति तपाईंहरूको धारणा के हो ?
एसपीपी परियोजना नेपालले सम्झौता गर्नु हुँदैन । यो सम्झौता अघि बढाउने काम ईश्वर पोखरेल रक्षामन्त्री भएका बेला भएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला अमेरिकाबाट कन्भिन्स गर्नका लागि नेपाल पनि आएका थिए । त्यतिबेला रक्षामन्त्री रहनुभएका ईश्वर पोखरलेले हामी स्टेट पार्टनरसिप प्रोग्राममा जान तयार छौं भन्नु भएको थियो । ईश्वर पोखरेल एक्लै हुनुहुन्न त्यो बेला नेकपा एमाले पनि थियो । त्यतिबेला हामी पनि थियौं तर हामीले असन्तुष्टि त्यतिबेलादेखि नै जनाएका हौं । हामीले विरोध गर्दा पनि उहाँले हामीलाई सम्झनु भएन । यसका लागि केपी ओली, ईश्वर पोखरेल र प्रदीप ज्ञवाली सबैभन्दा बढी जिम्मेवार हुनुहुन्छ । तर अहिले आएर उहाँहरूले गोहीको आँसु चुहाउँदै हुनुहुन्छ । अब ईश्वर पोखरेलले बोलेका कुराहरू आउँदै जालान् र उहाँको अनुहार गिर्दै जाला ।

अमेरिकी सेना नेपाल आउँछ भन्ने भय हो ? 
राष्ट्रिय हित भन्ने कुुरामा ध्यान दिनुपर्छ । आजसम्म कुनै पनि नेताहरूले आफूले गरेको सम्झौतालाई राष्ट्रहित विरोधी हो पनि भनेर भनेका छैनन् ।  राष्ट्रहित विपरीत सम्झौता गर्छु या गरेँ पनि भनेका छैनन् । एमसीसीमा पनि राष्ट्रहित देखिएको थियो । एसपीपीमा राष्ट्रहित देख्ने व्यक्ति तथा नेताहरू पनि होलान् । अरू नदेख्ने होलान् । भोलि अरु सन्धिमा पनि यस्तै होला । विगतमा महाकाली सन्धिमा पनि राष्ट्रहित देख्ने र नदेख्ने थिए । विचारमा भिन्नता भएपछि राष्ट्रहितको परिभाषामै भिन्नता आउने रहेछ ।  त्यसकारण यो सबैकुरा विचारसँग सोच्ने प्रणालीसँग जोडिएको हुन्छ ।

अहिलेको अवस्थामा वाम एकताको सम्भावना छ ? 
नेपाली कांग्रेस दिनदिनै अलोकतान्त्रिक हुँदै गयो भने वाम एकताको सम्भावना बढ्दै जान्छ । संविधानमा उल्लेख गरेका समाजवादका विचारहरूलाई छोड्दै जान थाल्यो भने विभिन्न साम्राज्यवादी शक्तिहरूसँग साँठगाँठ बढाउँदै जान थाल्यो भने पुँजीवादी नीतिलाई लागू गर्नका लागि सघनतातर्फ जान थाल्यो भने राजनीतिले नयाँ कोर्स लिन सक्छ । अनि एक्लै चुनाव जितिहाल्छु भनेर कांग्रेस अघि बढ्न खोज्यो भने वाम एकताको पक्षतिर पनि जान सक्छ ।  राष्ट्रको हितका लागि साझा दृष्टिकोण भएसम्म आउँदो चुनावमा वाम गठबन्धनको सम्भावना कमजोर देखिएको छ ।

अहिलेको सरकारले कस्तो काम गरिरहेको छ ? 
यो सरकार ठूलो काम गर्न र उपलब्धि हासिल गर्नका लागि बनेकै होइन । यसले नयाँ ड्रिम लिएर हिँड्न सक्ने सरकार होइन । त्यस्तो ड्रिम भएको भए त यो पटकका बजेटमा देखिनुपर्ने थियो । यो सरकारले एमालेले विगतमा भएको बजेटलाई कार्यान्वयन गर्ने चरणमा थियो । त्यसैले नयाँ केही छैन । अब दुई चार महिनापछि चुनाव हुन्छ, यस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय कारण मुलुक गम्भीर चपेटमा परेको छ ।  त्यसैले यो सरकारसँग आशावादी हुने ठाउँ छैन । यो सरकार लोकतन्त्र जोगाउन, प्रतिगमनलाई परास्त गर्न र संविधान जोगाउनका लागि मात्रै बनेको हो ।

तर जनजीविकाको सवालमा सरकार असफल भन्छन् त ?
सफलता र असफलताको कुरा गर्ने हो भने सबै सरकार सफल नै हुन्छन् भन्ने होइन । नर्मल कामचलाउ सरकार हो । यसले उल्लेख्य प्रगति गर्न सकेको छैन ।