देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताले हराएपछि ओलीको बर्बराहट

देशान्तर

काठमाडौं । चुनावअघि नेपाली कांग्रेस र सत्ता गठबन्धनविरुद्ध विष वमन गर्दै गठबन्धनलाई एक्लै हराइन्छ भनेर गुड्डी हाँकेको एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा मतदाताले वास्तविक धरातलमा खुम्च्याई दिएपछि मतपरिणाम स्वीकार गर्न विभिन्न बहानाबाजी गर्दै लाज छोप्ने उपायको खोजीमा लाग्न थालेका छन् । मतदानको दिनमा समेत गठबन्धनका लागि अनपेक्षित परिणाम आउनेछ भनेर ठोकुवा गरेका ओलीलाई मत परिणाम उनकै प्रतिकूल आएपछि यसअघि बोलेका कुराबाट जोगिन र चुनावी नतिजा स्वीकार्न निकै कठिन मात्रै भएको छैन, सरकार र सरकारमा रहेका दलहरू विरुद्ध तथानाम र अनर्गल आरोप लगाउन थालेका छन् ।

सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस र गठबन्धन आबद्ध दलहरूको कमजोर आन्तरिक तयारी र उम्मेदवार चयन तथा व्यवस्थापनमा देखिएको कमजोरी फितलोपनको फाइदा उठाउँदासमेत एमाले २०५ स्थानीय तहभन्दा बढीमा जित निकाल्न सकेन । कांग्रेस र गठबन्धन दलहरूले अझ बलियो तालमेल गरेको भए एमाले अझ थोरै पालिकामा सीमित हुने थियो । कांग्रेस र गठबन्धनको कमजोरी फाइदा उठाएको एमालेले आफू दोस्रो स्थानमा खुम्चिए पनि त्यसलाई स्वीकार गर्न विभिन्न बहानाबाजी गरिरहेको छ । एमालेले एकातिर निर्वाचनमा बुथ कब्जा भयो भन्दै हिँडेको छ भने अर्कोतर आफ्नै दल सबैभन्दा ठूलो भएको परस्पर विरोधी कुरा गर्न छाडेको छैन ।

पार्टी किन हा¥यो भन्ने कारण खोज्न लाग्नुको साटो एमालेका नेताहरूले पराजयलाई कुण्ठाको विषय बनाउँदै सत्तापक्षले सत्ताको दुरुपयोग र धाँधली गरेर आफूलाई हराएको बताउन लागिपरेका छन् । जनतामा बाँडेका विभिन्न आश्वासनलाई विश्वास गर्दै आम जनताले २०७४ सालमा सबै तहका निर्वाचनमा एमालेलाई ठूलो दल बनाएका थिए । त्यतिबेला पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए । तर, त्यतिखेरको चुनावमा कांग्रेसले हा¥यो । कांग्रेस र देउवाले त्यतिखेर नै धाँधली गर्न सक्थे । उनले हार स्वीकारे, आरोप लगाउने काम गरेनन् । तर, जनताको अभिमतलाई अपमान गर्दै दुईदुई पटक संसद् विघटन गरेर संविधान र कानुनको धज्जी उडाएको एमालेलाई अझै जनताले किन मतदान गरिरहेका छन् भनेर खोज्नुपर्ने बेलामा त्यसका नेताहरू भने कुतर्क गरेर आफैं माथि पर्न लागिपरेका छन् ।

देउवा नेतृत्वको तत्कालीन सरकारले ७० वर्षबाट घटाएर ६५ वर्षमै ज्येष्ठ नागरिक भत्ता दिने, मिर्गौला, क्यान्सर, मेरुदण्डलगायत दीर्घकालीन रोग लागेकालाई मासिक पाँच हजार रुपैयाँ दिने भनिएको थियो । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री भए । प्रधानमन्त्री भएलगत्तै ओलीले ज्येष्ठ नागरिक र दीर्घकालीन रोगीको हितमा देउवाले गरेका निर्णय खारेज गरे । तर, निर्वाचनका बेला बूढापाकालाई भत्ता दिने पार्टी को भनिरहनु पर्दैन भन्दै एमालेका नेता भाषण गर्दै हिँडे । ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता सपनामै बित्यो । त्यहीनिर ज्येष्ठ नागरिकले एमाले र तिनका नेता फटाहा रहेछन् भनेर थाहा पाए ।

आफ्नो आफन्तलाई मन्त्री र राजदूत नियुक्ति गर्ने, जनताले तिरेको कर पनि आफ्नै क्षेत्रमा लगेर भ्युटावर बनाउने काममा लगाउने, कोरोना महामारीका बेला जनतालाई राहत दिनुको साटो भ्रष्टाचार र कमिसनमा लिप्त भएर देश र जनतामाथि एमालेले खेलवाड गरेको कुरा आम जनताले भुलेका थिएनन् र अझै छैनन् । ओलीले यसबीचमा अहंकार र दम्भमा पार्टी र देशलाई अप्ठेरोमा पार्नुको साथै व्यक्तिगत स्वार्थ पूरा नभएपछि संसद् विघटन र संसद्लाई बन्धक बनाउने काम मात्र गरेनन् आफ्नै पार्टीका शीर्ष नेतालाई पार्टी छाड्न बाध्य बनाए । तर, एमाले अध्यक्ष केपी ओलीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै आफ्ना कुण्ठा व्यक्त गरे । आफ्नो जिम्मेवारी र भूमिकालाई पूर्णरूपमा बेवास्ता गर्दै आफैंलाई ठालु ठान्दै तीन घण्टा लामो भाषणमा फेरि पनि भ्रम नै छर्ने प्रयास गरे ।

आफूले सरकारको नेतृत्व गर्दा नगरेका कामको दोषसमेत वर्तमान सरकारमाथि थोपरेका ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाको हालै सम्पन्न नेपाल भ्रमणको आलोचना गरेर आफूलाई उत्तरी छिमेकी मुलुक चीनतर्फ ढल्केको छनक दिए । सरकारमा रहँदा दक्षिण ढल्केका ओलीले केही महिनामै झुकाव परिवर्तनको संकेत गरेको देखिएको विश्लेषकहरूले बताएका छन् ।
त्यतिमात्र होइन नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्वजनिक नगरेको भनेर सरकारको आलोचना गरे । जबकि दुई वर्षअघि तयार भएको प्रतिवेदन सार्वजनिक गर्न ओलीले कुनै चासो देखाएनन् । अहिले देउवा नेतृत्व सरकार बनेको १० महिना प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आलोचना मात्र गरेनन् कूटनीतिक मर्यादाको सीमा बाहिर गरेर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्छ भन्ने जस्ता हल्का कुरा गर्न पछि परेनन् । यसले ओली र उनको नेतृत्वमा रहेको एमाले जनतालाई भ्रमित गर्ने काममा मात्रै उद्धत छन् भन्ने स्पष्ट हुन्छ ।