देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तयारी

देशान्तर

प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तरको भ्रमण हुन सकेको छैन ।

नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको कूटनीतिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको भ्रमणअघि प्रधानसेनापति प्रभुराम शर्मा वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ । सैनिक स्रोतका अनुसार शर्माले असारको पहिलो वा दोस्रो साता भ्रमण गर्ने गृहकार्य भइरहेको छ । शर्मा अमेरिका भ्रमणको दौरान संयुक्त राष्ट्रसंघमार्फत नेपाल शान्ति स्थापनामा संलग्न इजरायललगायतका केही मुलुकमा पनि पुग्ने स्रोतले जनाएको छ ।

नेपालले आउने कात्तिक/मंसिरलाई आधार मानेर संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने र त्यसको करिब १ सय २० दिनअघि नै निर्वाचन घोषणा गर्नुपर्ने भएकाले देउवाको भ्रमण छिट्टै हुन लागेको हो । निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री औपचारिक भ्रमणमा जान मिल्दैन । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले भ्रमणका सम्बन्धमा दुवै पक्ष सकारात्मक रहेको बताए । ‘तर अहिले नै कहिले भ्रमण हुन्छ वा हुन्न भन्ने बेला भइसकेको छैन,’ उनले भने ।

नेपालबाट राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा २०५९ मा देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् । नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा (२०७५ पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकाबाट उच्च तहको नेपाल भ्रमण नभए पनि पछिल्लो समय अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले यही जेठ ६–८ मा नेपालको भ्रमण गरेकी थिइन् । उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी थिइन् ।

यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोलीले वैशाख ९–११ मा नेपाल भ्रमण गरेको थियो । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ वैशाख ६ मा आएर पर्सिपल्ट फर्किएका थिए । संसद्बाट फागुन १५ मा एमसीसी सम्झौता अनुमोदन गर्नुअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आएका थिए । यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले दुई पटक (सन् २००७ र २००८) नेपालको व्यक्तिगत भ्रमण गरेका थिए । उनी त्यस बेला कार्टर सेन्टरको संस्थापकका रूपमा आएका हुन् । अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्रेउले सन् १९७० मा नेपालको भ्रमण गरेका थिए । सन् १९७५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हिलारी (फस्ट लेडीको हैसियतमा) आएकी थिइन् ।

अमेरिकाका लागि पूर्वराजदूत सुरेश चालिसे दुई मुलुकबीच हुन लागेको उच्चस्तरीय भ्रमणलाई एकदम सकारात्मक रूपमा हेर्नुपर्ने बताउँछन् । ‘अमेरिका एउटा यस्तो देश हो, जोसँग नेपालको कुनै पनि विवाद छैन । ७५ वर्षको कूटनीतिक सम्बन्धको यात्रामा उनीहरूले हामीलाई औलो उन्मूलनमा सहयोग (सन् १९५१) देखि एमसीसी परियोजनासम्म उपलब्ध गराएका छन्,’ उनले भने । चालिसेले जति उच्चस्तरीय भ्रमण भयो, त्यति नै दुई मुलुकबीचको सम्बन्ध नजिक हुने बताए । ‘अझ जो बाइडेन (अमेरिकी राष्ट्रपति) को नेपाल भ्रमण होस्,’ उनले भने ।