देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ववासीका समस्या समाधान गर्छु

देशान्तर

मध्यपुर थिमीका मेयर पदका उम्मेदवार सुरेन्द्र श्रेष्ठसँग हामीले कुराकानी गरेका छाै‌ं ।

 

चुनावी प्रचारप्रसारमा कसरी केन्द्रित हुनुभएको छ ?
हामीले संयुक्त रूपमा चुनावी प्रचारप्रसार तीव्र पारेका छौं । हामीले घरदैलो अभियानलाई तीव्रता दिएका छौं । सुरुमा केही समस्या देखिएको थियो त्यो समस्या समाधान गरेर हामी पूरै चुनावी मैदानमा उत्रिएका छौं ।

नेपाली कांग्रेसको अवस्था के हो ?
भक्तपुरमा नेपाली कांग्रेसको संगठन मजबुत छ । त्यसमा पनि मध्यपुर थिमी नेपाली कांग्रेसको गढको रूपमा पनि चिनिन्छ । पाँच दलीय गठवन्धन केन्द्रबाट नै बनेर आएको हुनाले पहिलाभन्दा अहिले झनै मजबुत अवस्था देखेका छौं । मध्यपुरमा विगत पाँच वर्षको नेतृत्वबाट यहाँका मतदाता वाक्क भएको अवस्था थियो । अहिले गठबन्धनले यहाँ जनताले चाहेको राम्रो नतिजा हाम्रो पक्षमा दिन्छन् भन्नेमा धेरै हदसम्म ढुक्क छौं ।

कसरी गढ, २०७४ मा हारेको होइन र ?
हामीले २०७४ को चुनावमा दुई तिहाई बहुमतका साथ जित्दै गर्दा मेयर भने गुमाएका थियौं । त्यतिबेला मेयरका प्रत्यासीको बिरोधमा विपक्षीले छुट्टै गठबन्धन गरेको थियो । त्यतिबेला नेमकिपा, राप्रपा, एमाले र माओवादीबीच मेयर पदमा गठबन्धन भएको थियो । त्यति हुँदा पनि अरू पदमा हामी विजयी भएका थियौं ।

ज्वाईं जेठान चुनावी मैदानमा हुनुहुन्छ, कस्तो छ प्रतिस्पर्धा ?
ज्वाईं जेठान भनेको घरको नाता हो । राजनीतिका कुरा गर्दा उहाँ एमाले र म कांग्रेस हो । हामीले निरन्तररूपमा ३० वर्ष राजनीति ग¥यौं । त्यही मूल्यांकनका आधारमा आज हामीलाई पार्टीले टिकट दिएको छ । बीपी कोइरालालाई जेलमा राखेर सहोदर दाजु त प्रधानमन्त्री भएको देशमा यो नाताभन्दा पनि विचारको लडाईं हो । बिचारको लडाईंमा जनताले मूल्यांकन गर्ने छन् ।
त्यसो भए आफन्तलाई भोट हाल्न गाह्रो हुने भयो होइन ?
आफन्तलाई भोट हाल्न खासै गाह्रो हुँदैन । परिवर्तन गर्ने कुरा हो, सोँचको कुरा हो । त्यसैले क्षमताअनुसार मूल्यांकन गरेर मत दिन्छन् ।

तपाईंका एजेन्डा के हुन् ?
काठमाडौं, भक्तपुर र ललितपुरको बीचमा रहेको ऐतिहासिक नगरी मध्यपुर थिमी हो । परापूर्वकालकै नगर भए पनि पर्यटकीय रूपमा यसलाई त्यति चिनाउन सकेनौं । यो क्षेत्रमा धेरै समस्याहरू छन् । शिक्षाको समस्या छ । शिक्षाका पूर्वाधारहरू भए पनि यहाँका विद्यार्थीहरू काठमाडौं र ललितपुरमा पढ्न जाने अवस्था रहेको छ । त्यसलाई हामीले सुधार गरेर यहाँका विद्यार्थीलाई यही पढ्ने वातावरण बनाउन जरुरी छ । मध्यपुरमा राम्राराम्रा सामुदायिक विद्यालयहरू पनि छन् । ती विद्यालयहरूमा प्रभावकारी भूमिका खेल्नु पर्नेछ । स्वास्थ्यको कुरा पनि छ । देशभरिमा एउटा मात्रै नगरपालिकाको अस्पताल यही छ । यहाँको नेपाल कोरिया मैत्री अस्पतालमा सबै पूर्वाधारहरू भए पनि सुलभ तरिकाले मध्यपुरवासीलाई सेवा दिन सकेका छैनौं । त्यसैगरी फोहोरमैला व्यवस्थापनका कुराहरू भए, सम्पदा पुनर्निर्माणका कुराहरू पनि गर्नु पर्नेछ । ज्येष्ठ नागरिक र युवाहरूका कुराहरूलाई संकल्पपत्रको रूपमा हामीले जनतासामु सार्वजनिक गरेका छौं ।

संकल्पपत्रमा मिठा कुराहरू मात्रै हुन्छन्, वास्तविकता के हो ?
मैले मतदातासँग भेट्दा प्रस्टरूपमा भनेको छु, ‘यो गठबन्धनलाई निरन्तरता दिएर हामीले जारी गरेको संकल्पपत्रअनुसार प्रतिबद्ध भएर काम गर्नेछु ।’ पाँच वर्षपछि फेरि जनतासँग उभिँदै गर्दा हामीले गरेका कार्यहरू ठीक भएन भने जनताले नै हामीलाई त्यसको परिणाम दिनु हुनेछ । त्यसैले पाँच वर्षपछि जनतासँग हामी शिर ठाडो बनाएर जाने प्रण पनि गरेका छौं ।

त्यहाँ अहिले तीव्र सहरीकरण भएको छ, यसलाई कसरी व्यवस्थापन गर्ने ?
मध्यपुर थिमीमा बालकुमारी, बोडेलगायतका ठाउँ सांस्कृतिक ठाउँहरू हुन् । त्यसबाहेक अरू जम्मै स्थान विकास आयोजनाको रूपमा बसोबासका लागि विकसित सहरको रूपमा विकास भएको छ । त्यो सहरमा अहिले जुन तरिकाले बस्ती विस्तारहरू भइरहेका छन्, बसाइँसराइ गर्ने क्रम पनि जारी छ । त्यो ठाउँलाई एउटा नमुनाको सहर बनाउने योजना पनि बनाएका छौं ।

भूमिहीनहरूको पनि त समस्या छ होइन ?
यहाँ स्ववासीहरूको समस्या हो । यहाँ २०५४ सालमा स्ववासीको समस्या समाधान गर्ने विषयमा राजनीतिक दलहरू लागेका हौं । त्यतिबेला म पनि जनप्रतिनिधि थिएँ । २०५४ पछि २० वर्ष स्थानीय तहको निर्वाचन नहुँदा ठूलो समस्या आयो । स्ववासी (घर भएका पुर्जा नभएका)हरूको समस्या समाधानका लागि लालपुर्जा वितरण गर्नुपर्छ । यहाँ नापी भए पनि पुर्जा वितरण गर्न सकिएको छैन । पछिल्लो नेतृत्वले पनि यसमा काम गरेन । त्यसले गर्दा यहाँका मानिसको मुख्य ध्यान भनेको पुर्जा वितरणमा रहेको छ । त्यसैले हामी निर्वाचित भयौं भने यो समस्या ६ महिनाभित्र समाधान गर्छौं ।