काठमाडौं । आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लोभ र डर देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाबाट अर्थमन्त्रीमा थमौती पाएका जनार्दन शर्माका अपरिपक्व नीति, अल्पज्ञान र आर्थिक उच्छृंखलताका कारण मुलुकको अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा उनले चालेका कदमहरूमाथि प्रश्न त उठेको छ नै, एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका उनका कर्तुतका कारण सिंगो सरकार नै अप्ठेरोमा पर्ने अवस्था सिर्जना भएको छ ।
सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसमा अर्थमन्त्री शर्माका कारण मुलुकको अर्थतन्त्र बिग्रिन थालेको भन्दै अर्थमन्त्री परिवर्तन गर्न दबाब बढेपछि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले दुई महिनाअघि नै अर्थमन्त्री फेर्ने योजना बनाएका थिए र सोहीअनुसार माओवादीका अध्यक्ष दाहालसँग छलफल गरेका थिए । अर्थमन्त्री परिवर्तन गर्न सहमत भएका दाहालले पार्टीभित्र छललफल नै चलाउँदै अर्थमन्त्री कांग्रेसलाई छाडेर अर्को मन्त्रालय लिने वा अर्थमा अर्को नेतालाई पठाउने विषयमा सुझाव मागेका थिए ।
प्रधानमन्त्री आफूसँग सन्तुष्ट नभएको र आफ्नै पार्टीका अध्यक्ष पनि अर्थमन्त्री परिवर्तन गर्न सहमत भएको भेउ पाएका शर्माले त्यसपछि लगातार दाहाललाई डर र लोभमा पारी प्रभावमा पार्न सफल भएको माओवादीकै नेताहरू बताउँछन् । अध्यक्ष दाहालले अर्थ छाडेर परराष्ट्र मन्त्रालय लिने वा अर्थ मन्त्रालयमा माओवादीकै अर्का नेता वर्षमान पुनलाई पठाउने विषयमा नेताहरूसँग आन्तरिक रूपमा सुझाव मागेपछि शर्माले पार्टीको आन्तरिक समीकरण, पदाधिकारी चयन र तीनै तहका चुनावमा पार्टीले भोग्नुपर्ने आर्थिक संकटलगायतका विषयमा डर र लोभ एकसाथ देखाएको बझिएको छ ।
शर्माकै अवरोधका कारण पार्टीमा पदाधिकारी चयन रोकेका दाहालले शर्मालाई चुनावी खर्च जुटाउने जिम्मेवारी दिएको र त्यसैका लागि सरकारी आयोजना, निजी क्षेत्र तथा वित्तीय क्षेत्रसँग मोलमलाई गरेको देखिएको छ । पछिल्लो पटक अछामका पृथ्वीबहादुर शाहको नाममा अमेरिकाबाट आएको ४० करोड रुपैयाँ छुटाउन नेपाल राष्ट्र बैंकलाई लिखित रूपमै निर्देशन दिएको सार्वजनिक भएको छ । शाहको नाममा आएको आएको रकमका बारेमा सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले छानबिन गरिरहेका बेला शर्माले दिएको लिखित निर्देशनबाट उनी कतिसम्म गैरजिम्मेवार रहेछन् भन्ने पुष्टि भएको छ ।
नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार संस्था मात्रै नभई वित्तीय नियामक निकाय पनि हो । सरकारको नीति, वार्षिक बजेट र सरकारले अवलम्बन गरेका नीतिबाट सिंगो अर्थतन्त्रमा परेको प्रभावको मूल्यांकन गर्ने निकाय पनि राष्ट्र बैंक नै हो । तर, अर्थमन्त्रीले नै राष्ट्र बैंकलाई नै गलत गर्न निर्देशन दिएपछि उनी कतिसम्म असंवेदनशील र गैरजिम्मेवार छन् भन्ने छर्लंग भएको छ ।
अघिल्लोपटक ऊर्जामन्त्री हुँदा नियुक्त भएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान सिंहले लोडसेडिङ अन्त्य गरिदिएपछि त्यसको जश आफूले लिएर प्रचारबाजी गरेका व्यक्ति हुन् शर्मा । त्यसैको आडमा अहिले अर्थमन्त्री बनेका शर्माले एकपछि अर्को गर्दै बदनामी मात्रै कमाइरहेका छन् ।
आफ्नो योजना सफल नभएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्न सफल भएका शर्माले त्यसका लागि प्रधानमन्त्री देउवालाई प्रभावमा पारेको बुझिएको छ । राष्ट्र बैंकका पदाधिकारीहरूको कार्यशैलीका बारेमा सार्वजनिक रूपमा आलोचना गर्ने पहिलो अर्थमन्त्री बनेका शर्मा राष्ट्र बैंक सञ्चालक समितिमा सरकारकै तर्फबाट सदस्य रहेका व्यक्तिहरूलाई पनि नियन्त्रणमा राख्न नसकेको तथ्य सार्वजनिक भएको छ । आफूले नियालेर नहेर्ने र सार्वजनिक रूपमा नै दोषारोपण गर्दै हिँड्ने शर्मामा अर्थमन्त्री बन्ने योग्यता नै नरहेको भनेर आम मानिसले टीकाटिप्पणी गर्न थालेका छन् ।
अर्थमन्त्री शर्माको कार्यशैलीबाट निजी क्षेत्र सन्तुष्ट छैन । वित्तीय संस्थाहरू रुष्ट छन् । उनी अर्थमन्त्री भएदेखि नै ओरालो लागेको पुँजीबजार अहिलेसम्म उठ्न सकेको छैन । सेयरबजारका बारेमा आफैं अन्टसन्ट बोल्ने र त्यतिमात्रै नभएर माओवादी अध्यक्ष दाहाललाई समेत अन्टसन्ट बोल्न लगाएर विवादमा तान्ने काम पनि शर्माले गरिरहेका छन् । सेयरबजारका बारेमा दिएको अभिव्यक्तिका बारेमा त दाहालले पछि सार्वजनिक रूपमा नै स्पष्टीकरण दिनु परेको थियो ।
अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन् । बजार भाउ बढेको बढ्यै छ । इन्धनको मूल्य एकै महिनामा दुई पटकसम्म बढेको छ । बजारमा बेथिति छ । अर्थ मन्त्रालय मातहतका कुुनै पनि नियामक निकायको निगरानी छैन । अर्थ मन्त्रालयकै कर्मचारीहरूसँग उनको राम्रो सम्बन्ध छैन । शर्माले अर्थतन्त्रको बारेमा नजान्दा सन्तुलन खस्किँदै गएको जानकारहरूको भनाइ छ । यति हुँदाहुँदै पनि उनी आफू असफल भएको तथ्यलाई ढाकछोप गर्न उद्धत रहेको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया