देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फलेबास नगरपालिका स्थायी केन्द्रमा सर्‍यो

देशान्तर

पर्वत । पाँचवर्षे कार्यकाल सकिनै लाग्दा पर्वतको फलेबास नगरपालिकाले आफ्नै स्थायी केन्द्रबाट प्रशासकीय सेवा शुरु गरेको छ ।

लामो समयको रस्साकसीपछि गत साउनमा केन्द्र विवाद टुंग्याएको नगरपालिकाले स्थायी केन्द्र झकलकमा अस्थायी संरचना निर्माण गरेर सेवा शुरु गरेको जानकारी दिएको छ ।

नगरपालिकाले सभाहलसहित १० ओटा कोठा निर्माण गरी सेवा शुभारम्भ गरेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । नगरपालिकाको पक्की प्रशासकीय भवन निर्माणको चरणमा छ । नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेबास सिँचाइ आयोजनाको कार्यालयबाट सेवा सञ्चालन भइरहेको थियो ।

कार्यपालिकाको बहुमतले २ वर्षअघि अस्थायी रूपमा फलेबास–५ खानीगाउँमा रहेको केन्द्र सोही वडाको झकलकस्थित सार्ने निर्णय भएको थियो । नगरसभाको दुई तिहाइ बहुमतले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै नगर उपप्रमुख मञ्जु अधिकारी न्यायालय पुगेकी थिईन् । अधिकारीले आफ्नो घरनजिकै केन्द्र राख्ने गरी परमादेशको माग गर्दै गत चैत २२ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिईन ।

त्यसको २ दिनपछि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रशासकीय भवन तत्कालका लागि निर्माण कार्य अगाडि नबढाउन आदेश दिएको थियो । त्यसको विरुद्धमा गत वैशाख ९ मा उक्त रिट खारेज गरिपाऊँ भन्दै नगरपालिकाको कार्यालयले सर्वोच्चमै निवेदन दियो ।

उक्त निवेदनउपर सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि चैत २५ मा न्यायाधीश भण्डारीले गरेको आदेश खारेज गरी कार्यपालिकालाई नियमानुसार अघि बढ्न परमादेश दिएपछि नगरपालिकाले स्थायी केन्द्रमा संरचना निर्माणको प्रक्रिया अघि बढाएको हो । साँघुरा संरचनाबाट गुज्रिएको नगरपालिका अब ६० रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गामा सार्न पाएपछि नगरवासी र पदाधिकारी खुसी छन् ।

भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको प्रशासनिक भवन निर्माण कार्य भने अहिले तीव्र गतिमा अगाडि बढेको छ । तीन तलाको प्रशासकीय भवन ४२ कोठे हुने भएको छ । गत भदौमा निर्माण सम्झौता भएको भवन रू.९ करोड २ लाख रुपैयाँको लागतमा १८ महीनामा सक्ने गरी जुम्ले थान एन्ड आचार्य बिल्डर्सले जिम्मा लिएको प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बताए ।

नगर प्रमुख पदमपाणि शर्माले जनताको अपेक्षा र भावनालाई बुझेर स्थायी केन्द्रको टुंगो लगाएको उल्लेख गर्दै आफ्नै कार्यकालमा सेवा शुभारम्भ गर्ने सपना पूरा भएको बताए । शून्यबाट शुरु भएको नगरपालिकाले पहिलो कार्यकालमा उपलब्धिमूलक काम गरेको उनले दाबी गरे ।