देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साम्राज्यवादको नयाँ अवतार 

देशान्तर

रसियाका तानाशाह ब्लादिमिर पुटिनको महाशक्ति राष्ट्र बन्ने उग्र राजनीतिक महŒवाकांक्षाको परिणाम छिमेकी राष्ट्र युक्रेनमाथि भयानक एवं बर्बर आक्रमण गरेको छ । राष्ट्रपति पुटिनको युक्रेन माथि आक्रमण गरिने छैन भनेर गर्दै आएको प्रतिबद्धता विपरीत अस्ति आफ्ना सेनालाई युक्रेनमाथि आक्रमण गर्ने आदेश दिए पछि रसियन सेनाले युक्रेनमाथि एकै पटक जल, थल र हवाई आक्रमण सुरु गर्‍यो र अहिलेसम्म युक्रेनमा ठूलोमात्रामा मानवीय एवं भौतिक क्षति पुर्‍याएको छ । कयौं युक्रेनी सैनिक जवानका साथै सयौं निर्दोष जनता मारिएका छन् । लाखौं युक्रेनी जनता आफ्नो देश छाड्न विवश भएका छन् । युक्रेन माथिको यो बर्बर रसियन हस्तक्षेप विश्वव्यापी शान्ति र मानवताविरुद्धको अपराध हो । रसियाको यो पासविक कदमको विश्वव्यापी रूपमा विरोध भइरहेको छ ।

साना तथा कमजोर राष्ट्रमाथि ठूला शक्ति राष्ट्रले गर्ने यस्ता हस्तक्षेप र आक्रमणले त्यहाँको जनताको जीवन पाउने अधिकारमाथि हस्तक्षेप त गर्छ नै, राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकताको अनादर मात्र गर्दैन, मानवता नै संकटमा पर्दछ । रसियाको आफ्ना छिमेकी राष्ट्रप्रतिको मिचाहा प्रवृत्तिले पुर्वी युरोपको एक सुन्दर स्वतन्त्र देश युक्रेन मानवता विरुद्धको यस्तै दुर्नियति भोग्न विवश भएको छ ।

सोभियत संघकालीन शैलीमा आफ्नो शक्ति र क्षेत्रलाई विस्तार गर्ने महŒवाकांक्षाले केही वर्ष अगाडि मात्र युक्रेनकै अधीनमा रहेको क्रिमियालाई अनेक षड्यन्त्र गरेर रसियाले आफ्नो देशमा गाभेको थियो । त्यस घटनाप्रति विश्व मूकदर्शक भएर बसेको थियो । त्यस बेलादेखि नै रसिया र युक्रेनका बीचमा तनाव हुँदै आएको थियो । केही महिनादेखि रसियाले युक्रेनलाई तर्साउन, दबाब दिन युक्रेनको छिमेकी राष्ट्र बेलारूससँग मिलेर सैन्य अभ्यास गर्दै आएको थियो । केही दिन अगाडिमात्र रूसले त्यहाँबाट केही सेनालाई हटाएको नाटक गर्‍यो । त्यसको लगत्तै रूसले गएको सोमबार राति पूर्वी युक्रेनका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको एकतर्फी घोषणा गरेर युक्रेनमाथि हस्तक्षेप प्रारम्भ गरेको थियो । त्यसको दुई दिनलगत्तै युक्रेनमाथि आक्रमण गरेर आफ्नो विस्तारवादी एवं तानाशाही प्रवृत्तिलाई दुनियाँका सामु उजागर गरेको छ । युक्रेनमाथिको रूसी आक्रमण यो विश्व शान्ति र मानवताकै लागि ठूलो चुनौती हो ।

युक्रेनमाथि रसियाले बर्बर आक्रमण गरिरहँदा युद्धलाई रोक्न संयुक्तराष्ट्र संघको कारगर भूमिका देखिएन । विश्वमा शान्ति, भाइचारा, आपसी सद्भाव र सहयोगको वातावरण निर्माण गर्दै मानव अधिकारको संरक्षण, शान्ति र भाइचारा बनाइराख्न भनेर गठन भएको संयुक्तराष्ट्र संघ आफ्नो दायित्व निर्वाह गर्नबाट चुकेको कुरा युक्रेनको प्रसंगले समेत पुष्टि गरेको छ । विगतमा आफ्नै देशको राजनीतिक स्वार्थले नै किन नहोस्, विश्वमा प्रजातन्त्र, मानव अधिकार र राष्ट्रको स्वतन्त्रताको पक्षमा भूमिका खेल्दै आएको भनिएको महाशक्ति राष्ट्र अमेरिकासहित उसको गठबन्धन राष्ट्र नाटो र सिंगो विश्व युक्रेनमाथि रसियाले गरेको बर्बर आक्रमणको केवल मूकदर्शक भएर बसेको देखियो, अर्को दुःखद् पक्ष हो । युक्रेनले नाटो राष्ट्रको सदस्यता लिने प्रयास गरेकै कारण यो कहालिलाग्दो दुःखद् नियति भोग्नु परेको छ ।

कुन राष्ट्र समूहसँग निकट रहने वा कुन सुरक्षा छाताभित्र बस्ने, त्यो नितान्त त्यस देशले निर्धारण गर्ने विषय हो । तर त्यसै विषयलाई लिएर छिमेकी राष्ट्रमाथि आक्रमण गर्ने र त्यसरी बर्बर आक्रमण भैरहँदा केवल वक्तव्य जारी गर्ने र रसिया माथि सफ्ट नाकाबन्दीको घोषणा गर्दै मूकदर्शक भएर बस्ने विश्व राजनीतिक प्रवृत्तिले शान्ति, मानव अधिकार र मानवताका दृष्टिले आगामी दिन विश्वका लागि नै थप चुनौतीका दिन हुने संकेत गरेको छ । समय छँदै राष्ट्रसंघलगायतले युक्रेनमाथिको रसियाको आक्रमणलाई रोक्न, युक्रेनी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्दै त्यहाँ शान्ति स्थापना गर्न प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ ।

नेपाल सरकारले युक्रेनमाथि रूसले गरेको बर्बर आक्रमणको निन्दा गर्दै अविलम्ब युद्ध रोक्नुपर्ने धारण व्यक्त गरेको छ । नेपाल सरकारको यो प्रतिक्रियाले संसारको जुनसुकै ठाउँमा पनि कुनै पनि बहानामा कुनै पनि राष्ट्रले चाल्ने हस्तक्षेपकारी मानवता विरोधी तथा विश्वशान्तिमा नकारात्मक प्रभाव पार्ने घटनाको विरुद्धमा रहेको नेपाली जनमत र परम्परालाई मुखरित गरेको छ ।