देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीका कारण मुलुक नेतृत्वविहीन

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी लामो चीन भ्रमणमा छन् । तर सरकार टिकाउनका लागि एकसिटे पार्टीलाई समेत मन्त्री बाँड्दै हिँडेका प्रधानमन्त्री दाहालले मुलुक छोडेर विदेश भ्रमणमा जाँदासमेत कार्यवाहकको जिम्मेवारी नतोकेर गैरजिम्मेवारीपन प्रदर्शन गरेका छन् । त्यतिमात्रै होइन उनले आफ्नो भ्रमणलाई मन्त्रिपरिषद्बाट अनुमोदनसमेत गराएनन् । प्रधानमन्त्री दाहालको यो गैरजिम्मेवारीपनका कारण मुलुकको दैनिक प्रशासन सञ्चालनमा समेत समस्या सिर्जना भएको छ । दाहालको यो हर्कतले उनको नेतृत्व क्षमतामाथि समेत प्रश्न उठेको छ । नेतृत्वले त संकटको समाधान गर्नुपर्छ तर दाहाल दुई उपप्रधानमन्त्रीमध्ये कसलाई कार्यवाहक दिने भन्ने विवादमा पर्न नचाहेका कारण मुलुकको दैनिक गतिविधि नै ठप्प पारेर विदेश सयरमा गए ।
प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारबाही सञ्चालनार्थ मन्त्रिपरिषद्का वरिष्ठ सदस्यलाई कार्यवाहक दिने परम्परा थियो । तर यो पटक प्रधानमन्त्रीले कसैलाई पनि कार्यवाहक नतोकी विदेश गए ।

प्रधानमन्त्री दाहालले कार्यवाहक नतोकेसँगै मन्त्रिपरिषद्मा मर्यादाक्रमलाई लिएर उत्पन्न विवाद पनि सतहमा आएको छ । दाहालले यसअघि यूएई र भारत जाँदा कांग्रेसबाट सरकारको नेतृत्व लिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । स्वाभाविक रूपमा संसद्का सबैभन्दा ठूलो पार्टीको नेता हैसियतले प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई कार्यवाहक दिनुपर्ने थियो । तर काँध थापेर आफूलाई प्रधानमन्त्री बनाउने निधिको अपमान गर्ने ढंगवाट प्रधानमन्त्री लागेपछि यसलाई लिएर कांग्रेसमा असन्तुष्टि चुलिएको छ । संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि मधेसी दलहरूको समेत समर्थनमा प्रधानमन्त्री बनेका दाहालले मधेसी मोर्चाको समेत चाहनाबेगर राप्रपाका नेता कमल थापालाई उपप्रधानमन्त्री बनाएर कांग्रेसलाई बिच्क्याएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितमा तत्काल केही घटना भएर मन्त्रिपरिषद् बैठक बस्नुपर्ने अवस्था आएमा के गर्ने भन्नेबारे अहिले अन्योल छ । मर्यादाक्रमसमेत नतोकिएको अवस्थामा निधि नभएको मौका छोपेर मन्त्रिपरिषद्को केही दिनअघिको बैठकमा उपप्रधानमन्त्री थापा प्रधानमन्त्रीपछिको कुर्चीमा बसेका थिए । मर्यादाक्रम विवादकै कारण बालुवाटारमा प्रमुख दलको बैठकमा समेत निधि उपस्थित हुन छाडेका छन् । दाहालले बुझ्नुपर्ने अर्को सत्य के हो भने चीन जाँदा पो दाहालले मुलुकलाई नेतृत्वविहीन बनाए भोलिका दिनमा बस्ने मन्त्रिपरिषद्को बैठकमा पूरै मण्डले चरित्रका कमल थापालाई मन्त्रिपरिषद्को वरीयाताक्रममा दोस्रो स्थान दिइएमा उपप्रधानमन्त्री निधि यो सरकारबाट बाहिरिने निश्चितजस्तै छ । त्यसो भएमा दाहाल सरकारमा कांग्रेस रहिरहन्छ भन्ने पनि छैन ।

अर्कोतर्फ राजनीतिक योगदान हेर्ने हो भने पनि निधिभन्दा थापा फुच्चे देखिन्छन् । नेपाली विद्यार्थी संघको अध्यक्ष भइसकेको मान्छे हुन् निधि । निधि नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदाको बखत कमल थापा राष्ट्रवादी विद्यार्थी मण्डल भन्ने पञ्चहरू सम्मिलित विद्यार्थी मण्डलका कार्यकर्ता थिए । पछि अवसरवादी र मुसा प्रवृत्तिका थापा पार्टी विभाजन गर्दै राजाको कालमा गृहमन्त्री भएका थिए ।