काठमाडौं । भारतले नेपालका प्रमुख तीन दल र मधेसी मोर्चाबीच वार्ताको मध्यस्थता गर्न आफू इच्छुक रहेको जनाएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार नयाँदिल्लीमा संघीय समाजवादी फोरमका उपमहासचिव अभिशेकप्रताप साहलाई यसबारेमा जानकारी गराएको नयाँपत्रिका दैनिकमा समाचार छ ।
साहका अनुसार स्वराजले नेपालको हरेक आन्दोलनसँग भारतको भूमिका जोडिएको उल्लेख गर्दै अहिले पनि भारत मध्यस्थ गर्न तयार रहेको बताएकी हुन् । नेपालको समस्या राजनीतिक भएको र गोली चलाएर राजनीतिक समस्या समाधान नहुने पनि स्वराजले बताएको साहको भनाइ छ ।
चीनलाई तान्न खोजियोः राजनाथ
भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल र भारतको सम्बन्धमा प्रभाव पार्ने गरी चीनलाई तान्न खोजिएको उल्लेख गर्दै आफ्नो देशको ध्यानाकर्षण भएको बताएका छन् । फोरम नेता अभिषेकप्रताप साहसँगको भेटमा गृहमन्त्रीले जनस्तरमा रहेको सम्बन्धलाई प्रभावित पार्न खोजिएकोमा असन्तुष्टिसमेत जनाएका छन् । ‘नेपालमा गहिरिँदो समस्याले भारतको सुरक्षा चासो पनि थपिएको छ । हामी चिन्तित छौँ । नेपालमा चीनको गतिविधि बढाउन खोजिएको छ र चीनलाई नेपाल–भारत जनस्तरको सम्बन्ध प्रभावित पार्न तान्न खोजिएको छ । ७० लाख नेपाली भारतमा बस्छन्, उनीहरूको भारतीय जनतासँगको सम्बन्धमा समेत खलबल गराउने कोसिस भएको छ ।
यो राम्रो होइन,’ गृहमन्त्रीको भनाइ उद्धृत गर्दै साहले भने । मधेसी नेता दिल्लीबाट फर्केपछि मात्र वार्ता मधेसी मोर्चाका नेताहरू आइतबार दिल्ली जाँदै छन् । परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्रीसाग संवाद गरेर ‘संकेत’ ल्याएपछि त्यस विषयमा थप छलफल गर्न उनीहरू दिल्ली जान थालेका हुन् । मोर्चाका नेता महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र राय यादव र राजेन्द्र महतो दिल्ली जानेछन् । महतो तराईमै रहेका कारण उनी उतैबाट दिल्ली जानेछन् भने तीनजना काठमाडौंबाट दिल्ली जान लागेका हुन् ।
तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी भने दिल्लीमै छन् । दिल्लीले मोर्चासँग छलफल गरी संविधान संशोधनको प्रक्रिया र सीमांकनबारे राजनीतिक समिति बनाउन प्रमुख दललाई सुझाब दिएको थियो । तर, तीन दलले मोर्चासँग छलफल नगरी प्रक्रिया अगाडि बढाएकोमा मोर्चा आक्रोशित छ । दिल्लीमा मोर्चाका नेताहरूले विदेशमन्त्री सुष्मा स्वराजसहित उच्च राजनीतिक भेटघाट गर्नेछन् । उनीहरू फर्किएपछि मात्र तीन दल र मधेसी मोर्चाको वार्ता हुने स्थिति छ ।
प्रतिक्रिया