काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले सल्लाह गरी तोकिएको भनेको नेताहरूको वरीयताक्रम विवादले सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालमा प्राथमिकताका साथ चर्चा पाएको छ, हालाकि महाधिवेशनमा ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरी उपविजेता बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।
बिहीबार सार्वजनिक वरीयताक्रमलाई सरसर्ती नियाल्दा कोइरालालाई मानमर्दन गर्ने हेतुले सो तोकिएको देखिन्छ तर नेपाली कांग्रेसको विधानले वरीयताक्रम तोक्ने अधिकार सभापतिलाई दिएको छ । विगतको परम्परा हेर्ने हो भने निर्वाचनमा उपविजेतालाई स्वतः दोस्रो वरीयतामा राख्ने नेपाली कांग्रेसको इतिहास साक्षी छ ।
स्वयम् देउवालाई प्रजातान्त्रिक कांग्रेसबाट नेपाली कांग्रेसमा एकीकृत गर्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संस्थापक नेता कृष्णप्रसाद भट्टराईभन्दा पछिको वरीयतामा राखेको, त्यसैगरी १२ औं महाधिवेशनमा तत्कालीन सभापति सुशील कोइरालासँग पराजित हुँदा दोस्रो स्थानमा राखेको र १३ औं महाधिवेशनमा देउवासँगै पराजित वरिष्ठ नेता रामचन्द्र पौडेललाई दोस्रो वरीयतामा राखेबाट पनि कोइरालालाई होच्याउनकै लागि २० औं वरीयतामा राखेको पुष्टि हुन्छ । हिजो सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना मनोनीत गरेकोमा ६ जना पूर्वपदाधिकारी परेसँगै अब उप्रान्त डा. कोइरालाको वरीयता २६ औंमा पुगेको छ ।
नेपाली कांग्रेसको १३ औं र १४ औं महाधिवेशनमा पनि पदाधिकारीहरूको चुनाव भएको थियो, तर वरीयता तोक्दा उपविजेतालाई नै दोस्रो वरीयतामा राखेको देखिन्छ । वरिष्ठताको कसीमा गरेको निर्णय मान्ने हो भने पनि यसले पुष्टि गर्दैन ।
लोकप्रिय मत परिणामको आधारमा दोस्रो मत प्राप्त गर्ने महामन्त्री विश्वप्रकाश शर्माभन्दा नेविसंघमा उनकै उपसभापति रहेका गगनकुमार थापालाई मत बढी ल्याएका कारण १ नम्बर महामन्त्रीको वरीयता दिइएको देखिन्छ । त्यसैले सभापति देउवाको प्रतिस्पर्धी उपविजेता कोइरालालाई २० नम्बरमा पु¥याउनु नियतवश गरिएको निर्णय भन्ने स्पष्ट हुन्छ ।
सभापतिको प्रमाणपत्र ग्रहण गरेको दिन ‘अब आइन्दा म सबैको सभापति हुन्छु, कसैलाई पक्षपात गर्दिनँ’ भन्ने उनको अभिव्यक्ति यही साधारण निर्णयबाट ‘देखाउने दाँत’मात्र रहेको प्रमाणित हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने उनी अझै सच्चिएका छैनन् र सच्चिने मार्गमा अगाडि बढ्ने मनसुवा राख्दैनन् ।
यो निर्णय गर्दा वर्तमान निर्वाचित मुख्य पदाधिकारीहरूसँग पनि परामर्श गरी गरेको भन्ने समाचारहरू सार्वजनिक भएका छन् । त्यसो हो भने कोइरालाकै समूहबाट पदाधिकारीमा चुनिएकाहरूको पनि नियत सफा नदेखिएको र अडान नलिएको देखिन्छ । यसतर्फ सम्पूर्ण कांग्रेसजन, शुभचिन्तक र समर्थकहरूको ध्यान जानु जरुरी छ । सभापति देउवाले भनेजस्तै आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर तीन तहकै चुनावमा १ नम्बर पार्टी बनाउने हो भने यस्ता झिनामसिना विवादमा अल्झिनु उपयुक्त हुँदैन किनभने उनको यो सभापतिमा दोस्रो र अन्तिम कार्यकाल हो ।
कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौं वरीयतामा छन् । उनीहरूपछिको वरीयतामा सहमहामन्त्रीहरू छन् । सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर अघिल्लो वरीयतामा छन् । केन्द्रीय सदस्यहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाएका छन् । उनी १४ औं वरीयतामा रहँदा निवर्तमान महामन्त्री डा. शशांक कोइराला १५ औं नम्बरमा छन् ।
देउवाद्वारा पौडेलसहित १० जना केन्द्रीय सदस्य मनोनीत
कांग्रेस सभापति देउवाले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन् । केन्द्रीय सदस्य मनोनीत हुनेमा सभापति तथा पदाधिकारीमा पराजित नेतासमेत रहेका छन् ।
देउवाले वरिष्ठ नेता पौडेल तथा नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । यीमध्ये पौडेल, सिटौला, रेग्मी र विश्वकर्मा कुनै पनि पदमा उम्मेदवार थिएनन् भने सिटौलाले सभापतिमा देउवालाई समर्थन गरेका थिए ।
त्यस्तै, सिंह र निधि सभापतिमा तेस्रो र चौथो स्थानमा रहँदै पराजित भएपछि सभापतिको दोस्रो चरणको चुनावमा देउवालाई समर्थन गरेका थिए । देउवा प्यानलबाटै महामन्त्रीका उम्मेदवार रहेका महत पराजित भए पनि देउवाले केन्द्रीय समितिमा ल्याएका छन्, त्यस्तै सुजाता कोइराला प्रकाशमान प्यानलबाट उपसभापतिमा निर्वाचन लडी पराजित भएकी थिइन् । देशान्तर साप्ताहिककाे पुस १८ गतेकाे अंकबाट
प्रतिक्रिया