काठमाडौं । निरन्तर पार्टीको नेतृत्वमा रहिरहने आकांक्षाका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक प्रतिस्पर्धामा तीब्र हस्तक्षेप गरेको पाइएको छ ।
नजिकिँदै गरेको केन्द्रीय महाधिवेशनका लागि गरिएको सेल, टोल, वडा, स्थानीय र प्रदेशमा प्रचण्डले पूर्ण हस्तक्षेप गरी नेतृत्व चुनेको पाइएको हो । पार्टीको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरी आफ्ना नातागोता र नजिकका मानिसलाई सत्तामा पु¥याउन पल्केका प्रचण्डले यस पटकको महाधिवेशनमा पनि तल्लो तहमा हस्तक्षेप गर्दा संविधानले परिकल्पना गरेको लोकतन्त्र नै कमजोर हुने चिन्ता बढ्न थालेको छ । आन्तरिक हस्तक्षेप र तल्ला निकायमा आफ्नो प्यानल बलियो बनाएकै कारण प्रचण्ड निरन्तर एक दशकभन्दा बढी समयदेखि अध्यक्षमा रहिरहेका छन् ।
अध्यक्ष प्रचण्डले पार्टीमा मात्र नभई भ्रातृ संगठनमा पनि हस्तक्षेप गरेको विषय बाहिरिएको छ । तिलकराज भण्डारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदार थिए । उनले निर्वाचनको माग पनि नगरेका होइनन् । तर, पार्टीले आन्तरिक निर्वाचनलाई विधानतः खुला गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक निर्वाचन हुन दिएनन् र प्रचण्ड स्वयंले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहको नाम तोकिदिए ।
यसैगरी, अखिल क्रान्तिकारीमा मात्र होइन, प्रदेश अध्यक्षहरूमा समेत प्रचण्डले आफैं नाम तोकेको पाइएको छ । प्रचण्डले तोकेका नाम प्रतिस्पर्धीहरूले स्वीकार नगर्दा कतिपय प्रदेशको अधिवेशन सकिए पनि अध्यक्ष चयन हुन नसकेको माओवादी स्रोतले देशान्तरलाई जनाएको छ ।
तल्ला कमिटीहरूमा नेतृत्वबाट धमाधम हस्तक्षेप हुनेपछि माओवादी केन्द्रका नेता युवराज चौलागाईंले फेसबुकमा माथिल्लो नेतृत्वको हस्तक्षेपका गरेको विषय असन्तुष्टिसहित फेसबुकमार्फत पोखेका छन् ।
केन्द्रीय सम्मेलनका लागि माओवादीले तल्ला निकायमा सम्मेलनहरू गर्दै आइरहेको छ । प्रदेश सम्मेलनहरूको गत मंसिर २५ गते पार्टी अध्यक्ष प्रचण्डले एकसाथ भर्चुअल विधिबाट उद्घाटन गरेका गरेका थिए । माओवादी केन्द्रले कागजी प्रक्रियामा सबै निकायको चुनाव खुल्ला प्रतिस्पर्धाबाट सम्पन्न गर्ने भनेको छ । तर, स्वयं प्रचण्डले निर्वाचन हुन दिएका छैनन् । नेताहरूका अनुसार, निर्वाचन हुन नदिएर आफ्नो हस्तक्षेपकारी भूमिकालाई निरन्तर तार दिने प्रचण्डको चाहनाले प्रदेश सम्मेलनहरूमा आन्तरिक निर्वाचनको अभ्यास हुन नपाएको हो ।
‘प्रचण्ड नै आन्तरिक निर्वाचनका लागि तयार हुनुहुन्न । उनी काहीँ पनि चुनाव हुन नदिने सोचमा हुनुहुन्छ,’ माओवादीका एक नेताले देशान्तरसँग भने, ‘यसको एउटै कारण हो, उहाँ राष्ट्रिय सम्मेलनबाट आफू अनुकूल टिम बनाउन चाहनुहुन्छ ।’
नेकपा माओवादी केन्द्र प्रदेश १ को प्रथम सम्मेलन पदाधिकारी चयन नगरी सम्पन्न भयो । सदस्यकै लागि निर्वाचन हुने अवस्था आएपछि केन्द्रीय सदस्यहरूको टोलीले छलफल गरी २६९ जना प्रदेश कमिटी सदस्यहरूको नाम टुंगो लगायो । अध्यक्षसहित पदाधिकारी छनोट गर्न नसकेपछि सदस्यहरूको मात्रै शपथ भयो । त्यहाँ पनि प्रचण्डको ठाडो हस्तक्षेपका कारण त्यस्तो भएको देखिएको हो ।
त्यसैगरी प्रदेश २ को सम्मेलन पुस ३ गते (शनिबार) सम्मका लागि स्थगित गरिएको छ । ३० स्थानीय तहको सम्मेलन हुनै बाँकी भएकाले उदघाटन मात्र गरेर स्थगित गरिएको हो । त्यसमा पनि केन्द्रको हस्तक्षेपकै कारण रहेको छ ।
बागमती प्रदेश कमिटीमा २७५ सदस्य चयन गरिएको छ तर, अध्यक्ष टुंगो लागेको छैन । अध्यक्षमा ५ जनाले दाबी गरेका छन् । त्यहाँ आकांक्षीहरूबीच निर्वाचन गराउनुभन्दा सहमति गर्ने भनेर प्रदेश सदस्यहरूको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
प्रदेश अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल, सिन्धुलीका बिदुर खड्का, भक्तपुरका डीपी ढकाल, काभ्रेका इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ रदनानाथ गौतम ‘प्रयास’, दोलखाका विशाल खड्का दाबेदार छन् ।
गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चुनिएकी छन् । तर अन्य पदाधिकारी चुनिन बाँकी छन् । उपाध्यक्ष, सचिवसहितका पदाधिकारी पछि मात्र चयन गरिने माओवादी केन्द्रले जनाएको छ । गण्डकीमा माओवादीले २८ सदस्यपछि थप्ने गरी गुरुङको अध्यक्षतामा २२९ सदस्यीय कमिटी गठन गरेको छ ।
माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका सुदर्शन बराल चयन भएका छन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २१७ सदस्यीय कमिटी चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको छ ।
बराल, केन्द्रीय प्रवक्ता कृष्णबहादुर महरा र स्थायी कमिटी सदस्य वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत अध्यक्ष बनेका हुन् । सचिवका लागि माओवादी प्रवक्तासमेत रहेका कृष्णबहादुर महराले तुलसीराम पुनलाई अघि सारेका छन् भने अर्थमन्त्री जनार्दन शर्माले ज्वाईं लुमाकान्त न्यौपानेलाई बनाउन चाहेका छन् । लुमाकान्त न्यौपाने ‘सागर’, सुवास पुनलगायत पनि दाबेदार छन् । यसरी नेताका आफन्तले नै पार्टीको नेतृत्व लिने हो भने माओवादी पार्टी झनै कमजोर हुने देखिन्छ ।
कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र अध्यक्षमा विमला केसी चयन भएकी छन् । केसीसंगै राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि अध्यक्षका दाबेदार थिए । नेतृत्वले चुनाव गराउनुको साटो केन्द्रीय सदस्यहरूबीच सहमति खोज्यो । त्यहाँ पनि नभएपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरे र २११ प्रदेश सदस्यहरू चयन भयो ।
सुदूरपश्चिम प्रदेशमा पनि अध्यक्षसहित पदाधिकारीमा टुंगो लाग्न सकेको छैन । सहमतिका आधारमा चयन गर्न छलफल जारी रहेको निवर्तमान प्रदेश सचिव नेपबहादुर चौधरी बताउँछन् । अर्थात् निर्वाचनमा जाने योजना छैन ।
नेताहरूका अनुसार प्रदेश अध्यक्षमा शरदसिंह भण्डारी, नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी, हरि ज्ञवालीलगायतका नेता आकांक्षी छन् ।
जति वर्ष भूमिगत आन्दोलन ग¥यो त्यो धेरैभन्दा धेरै वर्ष त माओवादीले खुल्ला राजनीतिमा बिताइसकेको छ । खुला राजनीतिमा आएको १५ वर्षमा माओवादी केन्द्रले तीन वटा आम निर्वाचनमा भाग लिइसक्यो । तर पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यासलाई भने सधैं रोकिरहेको छ ।
सम्मेलन-अधिवेशन गर्ने, तर नेतृत्व चयन भने पार्टीको मूल नेतृत्वले छान्ने गर्दै आएको छ । त्यसको पछिल्लो उदाहरण हो, प्रदेश सम्मेलन । जसको मुख्य विषय प्रचण्ड र उनको समूह केन्द्रीय राजनीतिबाट हटिन्छ कि भन्ने डरका कारण रहेको पनि पुष्टि भएको छ ।
प्रतिक्रिया