देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२३ जिल्लामा देउवापक्षीय र १७ जिल्लामा पौडेल–कोइरालापक्षीय सभापति निर्वाचित

देशान्तर

काठमाडौँ  । कांग्रेसको ४० जिल्लामा नयाँ नेतृत्व चयन भइसक्दा पार्टी सभापति शेरबहादुर देउवा समूहको वर्चस्व देखिएको छ । १३ औं महाधिवेशनमा जिल्ला नेतृत्वमा कमजोर देखिएको देउवा समूहले प्रारम्भिक नतिजामा अग्रता लिएको हो । देउवा समूहका २३ जना र पौडेल–कोइराला समूहका १७ जना सभापति चुनिएका छन् । १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्ष (पौडेल–सिटौला) ले ५५ जिल्लामा नेतृत्व जित्दा देउवा समूह २२ जिल्लामा सीमित भएको थियो ।

प्रदेश १ का इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा देउवा समूह र भोजपुर, संखुवासभा, खोटाङ र तेह्रथुममा पौडेल–कोइराला समूहका नेता सभापति निर्वाचित भएका छन् । झापामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षीय देउमान थेबे र प्रवक्ता विश्वप्रकाश शर्मापक्षीय राम कट्टेलबीच प्रतिस्पर्धा भएको छ । झापा र उदयपुरमा मतगणना जारी छ । थेबेलाई पौडेल–कोइराला पक्षले पनि सहयोग गरेको छ । मोरङ र सुनसरीमा आइतबार तथा धनकुटा र सोलुखुम्बुमा बुधबार निर्वाचन तय भएको छ । वाग्मतीका नुवाकोट र दोलखामा पौडेल समूह र रामेछापमा देउवा समूहले जिल्ला नेतृत्व जितेको छ ।

नुवाकोटमा पौडेल समूहकै रमेश महत र जगदीशनरसिंह केसीबीच प्रतिस्पर्धा भएको थियो । देउवा समूहका प्रकाशशरण महतको सहयोगमा रमेश निर्वाचित भएका छन् । केन्द्रमा फरक समूहमा भए पनि नुवाकोटको राजनीतिमा महत दाजुभाइ (रामशरण–प्रकाशशरण) एक ठाउँ हुने गर्छन् । काभ्रेपाल्चोक र धादिङमा मतगणना भइरहेको छ । काठमाडौं र भक्तपुरमा आइतबार निर्वाचन हुँदै छ । ललितपुरमा सभापतिका लागि आइतबार पुनः मतदान हुँदै छ । चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र रसुवामा निर्वाचनको मिति तय भएको छैन ।

वरिष्ठ नेता पौडेलको गृहप्रदेश गण्डकीमा देउवा समूहले पाँच जिल्लामा नेतृत्व हत्याएको छ । स्याङ्जा, लमजुङ, मनाङ, म्याग्दी र पर्वतमा उक्त समूहका सभापति निर्वाचित भएका छन् । गोरखा र मुस्ताङमा पौडेल समूहले जितेको छ । बागलुङ र कास्कीमा पुनः मतदान भएको छ । तनहुँमा पौडेल समूहका वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा भएको छ ।

देउवापक्षीय नेता शंकर भण्डारीले आलेलाई समर्थन गरेका छन् । बागलुङमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने तय भएको छ । लुम्बिनीमा भने पौडेल समूह मजबुत देखिएको छ । सात जिल्लाको परिणाम आउँदा पाँच जिल्ला नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पामा पौडेल समूह र रूपन्देही तथा रुकुमपूर्वमा देउवा समूहबाट जिल्ला सभापति चुनिएका छन् । प्यूठानका सभापति विष्णुकुमार गिरी शेखर कोइरालानिकट मानिन्छन् । दाङमा मतगणना भइरहेको छ भने बाँके र बर्दियामा आइतबार निर्वाचन हुँदै छ । कपिलवस्तु र गुल्मीमा निर्वाचनको मिति तय भएको छैन ।

१३औं महाधिवेशनमा एक मात्र जिल्ला (हुम्ला) मा सभापति जितेको कर्णालीमा यसपटक देउवा समूहले पकड जमाएको छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा, सल्यान, जाजरकोट र सुर्खेतमा देउवापक्षीय नेता सभापतिमा चयन भएका छन् । कालीकोटमा भने पौडेल पक्षबाट सभापति चुनिएका छन् । दैलेखमा मतगणना भइरहेको छ । सुर्खेतका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा देउवा समूहले एकलौटी जित हात पारेको छ । जिल्ला सभापति कमलराज रेग्मीसहित पूर्वमन्त्रीहरू शिवराज जोशी, खड्कबहादुर बस्याल र विद्यार्थी नेता साधना घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सुर्खेतमा पौडेल समूहबाट उम्मेदवारी दिने मान्छे नहुँदा सभापतिमा देउवा समूहका उम्मेदवार निर्विरोध भएका हुन् । देउवाको गृहप्रदेश सुदूरपश्चिमका ४ जिल्ला अछाम, डोटी, बझाङ र डडेलधुरामा देउवा समूह र ३ जिल्ला बाजुरा, बैतडी र दार्चुलामा पौडेल समूहले सभापति जितेको छ । कैलालीमा अधिवेशन स्थगित भएको छ भने कञ्चनपुरमा मतगणना भइरहेको छ ।

प्रदेश २ का आठवटै जिल्लामा अधिवेशन अनिश्चित छ । सर्लाहीमा वडा अधिवेशनसमेत हुन सकेको छैन । अन्य जिल्लामा पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइरहेको छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले आफ्नो पक्षमा अधिकतम महाधिवेशन प्रतिनिधि ल्याउने प्रयास गर्दा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएको एक नेताले बताए । निधिको घर रहेको प्रदेश २ मा उनको बलियो प्रभाव छ ।

काठमाडौंमा सिंह–थापा भर्सेस देउवा–सिटौला

काठमाडौं जिल्ला अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाबीच गठबन्धन बनेको छ । अर्कातिर सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन छ । सिंह–थापा समूहले वर्तमान सभापति सबुजकृष्ण बानियाँलाई अघि सारेको छ । देउवा–सिटौला समूहले भने उपेन्द्र कार्कीलाई जिल्ला सभापतिको उम्मेदवार बनाएको छ । कार्की क्षेत्र नं. २ का निवर्तमान सभापति हुन् । दुवै समूहले शनिबार टिम घोषणा गरेका छन् । काठमाडौं जिल्ला अधिवेशनका लागि नेता सिंह र थापा आफैं मैदानमा उत्रिएका छन् भने देउवा–सिटौला समूहमा देउवाको प्रतिनिधित्व सहमहामन्त्री प्रकाशशरण महतले र सिटौलाको प्रतिनिधित्व भीमसेनदास प्रधानले गरेका छन् ।

देउवा–सिटौला समूहले उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागर रञ्जित र कुमारराज सुवेदी तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानलाई उम्मेदवार बनाएको छ । सिंह–थापा समूहले उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी, सचिवमा इन्द्र थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा अमिता प्रधान र रोमेल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । काठमाडौंमा करिब ३ हजार २ सय क्षेत्रीय प्रतिनिधि छन् ।

१५ जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने सम्भावना बढेको छ । प्रदेश २ का ८ र अन्य १० जिल्लामा कतै अधिवेशन स्थगन गरिएको छ भने कतै क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि जिल्ला अधिवेशनका लागि समय अपुग हुने अवस्था छ । प्रदेश २ मा जिल्ला अधिवेशनको मिति तय भएको छैन । चितवन, मकवानपुर, रसुवा, सिन्धुली, नवलपुर, गुल्मी र कैलालीमा जिल्ला अधिवेशन स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले रसुवा र सर्लाहीबाहेक अन्य जिल्लामा निर्वाचन प्रक्रिया अघि बढेको बताए । ‘प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइसकेपछि जिल्ला अधिवेशन नहुँदा पनि महाधिवेशनलाई खासै प्रभाव पार्दैन,’ उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा प्रदेश अधिवेशनअघिसम्म सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छानिइसक्नेछन् ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।