देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तजबिजबाट नेतृत्व छान्ने तयारी, कस्तो खाका ल्याउलान् ओलीले ?

देशान्तर

चितवन । एमालेको नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले आफूमा केन्द्रित गरेका छन् । उपमहासचिव विष्णु पौडेलले शनिबार साँझ बन्दसत्रमा राखेको प्रस्ताव पारित भएकाले आइतबार ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने भएका छन । अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकांक्षी घनश्याम भुसालले अधिकार केन्द्रित गर्ने ओलीको निर्णयमा विरोध जनाएका छन ।

बन्दसत्रमा ओलीले झन्डै दुई घण्टा लामो सम्बोधन गरेपछि उपमहासचिव पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सबैजसोले ताली बजाएर अनुमोदन गरेका थिए । उपाध्यक्ष रावल र उपमहासचिव भुसालले भने उठेर निर्णयमा असन्तुष्टि जनाएका थिए । त्यसपछि कार्यक्रम सञ्चालन गरिरहेका महासचिव ईश्वर पोखरेलले रावललाई बोल्न समय दिएका थिए ।

आकांक्षीले उम्मेदवारी दर्ताको तयारी गरिरहँदा निर्वाचन प्रक्रिया रोकेर बन्दसत्रले नेता छान्ने अधिकार ओलीलाई दिएको हो । ‘यहाँ निर्वाचन आयोगले अथवा जसको हातमा शक्ति छ उसले प्रस्ताव गर्ने भयो । त्यो शक्तिशालीले जुनसुकै ठाउँमा एमालेलाई औपचारिक रूपमा नियन्त्रण गर्दै लैजान्छ,’ उपमहासचिव भुसालले भने । उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउने निर्णयमा भुसाल पछि हटेका छैनन । ‘अहिलेसम्म अध्यक्षले सहमतिका लागि भनेर मसँग कुनै कुरा गर्नुभएको छैन । म उपाध्यक्ष पदमा उम्मेदवारी दिन्छु,’ उनले भने ।

शनिबार बिहान बन्दसत्र सकेर निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका थियो । तर पदाधिकारी बढाउन विधान संशोधन गरेर बन्दसत्र आइतबार बिहान १० बजेसम्म स्थगन गरिएको छ । शक्ति सन्तुलन मिलाउँदै आइतबार ओलीले पदाधिकारी सहित केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने नेता खगराज अधिकारीले बताए ।

पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने र आगामी चुनावमा सकेसम्म राम्रो परिणाम ल्याउने रणनीतिक लक्ष्यसहित सर्वसम्मतिका लागि ओलीले विधान संशोधनमार्फत पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने विकल्प खोजेका थिए । शुक्रबार मध्यरातदेखि शनिबार साँझसम्म विभिन्न अनौपचारिक प्रस्तावमा नेताहरू व्यवस्थापन गर्ने कोसिस भइरहेको छ तर नेतृत्व सर्वसम्मत चयन हुने अझै सुनिश्चित भएको छैन ।

दसौं महाधिवेशनबाट पाँच वर्षका लागि सर्वसम्मत नेतृत्व चयन गरेर आफू शक्तिशाली र निर्विकल्प अध्यक्ष रहेको सन्देश पार्टीभित्र र बाहिर प्रवाह गर्ने ओलीको चाहना छ । त्यसैले आफ्नो समूहमा मात्र होइन, दसबुँदे सहमति गरेर एमालेमै बसेका केही नेता र पूर्वमाओवादी समूहका नेताको पनि उचित व्यवस्थापनका लागि दुई महिना नपुग्दै विधान संशोधन गर्न उनले केही लचकता देखाएका छन ।

ओलीको प्रस्तावअनुसार सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी ३०१, पोलिटब्युरो ९९, स्थायी कमिटी ४५ र पदाधिकारी १९ सदस्यीय रहने गरी विधान संशोधनको प्रस्ताव पारित गरेको थियो । विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवको व्यवस्था छ । स्थायी कमिटी सदस्य र पोलिटब्युरो भने केन्द्रीय कमिटीबाट चयन हुनेछन । संशोधित विधानमा केन्द्रीय निर्वाचन, लेखा र अनुशासन आयोग २५–२५ सदस्यीय बनाउने व्यवस्था छ । २५ सदस्यीय आयोगमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २२ सदस्य रहनेछन ।