देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायधिश जबरालाई गेटमै छेक्ने बार एसोसियसनको तयारी

देशान्तर

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर जबरा अर्को गेटबाट सर्वोच्च छिरेका थिए ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताए । अदालत भवन र नेपाल बार एसोसिएसन भवनबीच सानो गेट छ । सर्वोच्च अदालत प्रवेश गर्न कानुन व्यवसायीले प्रयोग गर्ने उक्त गेटलाई शुक्रबार सर्वोच्च प्रशासनले बन्द गरिदिएको थियो ।

जसका कारण कानुन व्यवसायी सर्वोच्चमा छिर्न पाएनन् र उनीहरू मुख्य गेटमा पुगेर विरोध प्रदर्शन जारी राखे । बार अध्यक्ष श्रेष्ठले उक्त गेट खोल्न शुक्रबार नै सर्वोच्च प्रशासनलाई भनिसकेको र आइतबार पनि बन्द गरिए सडकबाटै मुख्य गेटमा धर्ना दिने बताए ।

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले पनि जबराको राजीनामा माग गर्दै बारले घोषणा गरेको कार्यक्रम यथावत् रहेको जनाएका छन् । उनले आइतबार बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने प्रवेशद्वारमै धर्ना दिइने बताए ।

नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । सर्वोच्च अदालतका २० मध्ये प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीशले पनि उनको राजीनामा माग गरिरहेका छन् ।