December 1, 2021, Wednesday
२०७८ मंसिर १६
ताजा अपडेट
ताजा अपडेट ×

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै


बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । प्रस्ताव पेश भएसँगै मतदान पनि सोमबार नै हुने बताइएको छ ।

Advertisement

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि बहुमत प्राप्त दलको हैसियतमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

गठबन्धनको दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ ।