देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिश्रको नवमण्डले चरित्रले विवेकशीलमा विभाजन

देशान्तर

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले अध्यक्ष मिश्रको ‘मार्ग परिवर्तन’ दस्तावेज केन्द्रीय समितिको दुई–तिहाइ बहुमतबाट पारित भएको दाबी गरेको छ । संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्ने अध्यक्ष मिश्रको प्रस्ताव पारित भएसँगै साझा विवेकशील पार्टी दुई चिरामा विभाजित भएको छ ।

मिश्रले आफ्नो राजनीतिमा कुन उद्देश्यले आएको भन्ने पनि स्पष्ट पारेका छन् । मिश्रको परिवार नै लोकतन्त्रका मूल्य मान्यतालाई कहिल्यै अँगालेन् । मिश्रका पिताजी मनुजबाबु मिश्र २०४६ सालमा बहुदल आएपछि बहुदलीय व्यवस्था खारेज नभएसम्म अर्धभूमिगत जीवन विताए । उनी बहुदलिय व्यवस्थाको विरोधमा अर्धभूमिगत भएका हुन् ।

रवीन्द्र पनि अहिले नेपाली नागरिकले दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिका विरुद्धमा उभिएर आफ्नो असली रूप देखाएका छन् । नेपालमा वामपन्थी पार्टीहरू धेरै भएको अवस्थामा आम नागरिकले वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा आस गरेर गएको चुनावमा दिएको जनमतको अपमान गर्दै आ–आफ्नो असली चरित्र देखाउँदै संघीयता र धर्म निरपेक्षताका विरुद्धमा देखिएका छन् ।

मिश्रको यो चरित्रलाई अधिकांशले नवमण्डलेको संज्ञा दिएका छन् । पञ्चायतकालदेखि नै राजतन्त्रको वकालत गर्ने परिवारका सदस्य रवीन्द्रले पछिल्लो समय नेपालको संविधान २०७२ लाई चुनौती दिने गरी संघीयता र धर्म निरपेक्षताको विषयमा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव गरेर अहिलेको यो व्यवस्था धरापमा पर्नेहरूसँग साँठगाँठ गरेको देखिन्छ ।

नेपालको संविधानमाथि प्रहार सुरु भएका बेलामा रवीन्द्र मिश्रले आफ्ना मालिक खुसी पार्नका लागि यो प्रस्ताव ल्याएको निष्कर्षसहित साझा विवेकशील पार्टीको ठूलो समूहले विद्रोह गरेको छ । मिलन पाण्डेको नेतृत्वमा साझा विवेकशीलका चर्चित नेताहरूले मिश्रलाई छोडेका छन् । मिश्र पक्षले पार्टीको सिद्धान्तविपरीत संघीयता र धर्म निरपेक्षताका बारेमा जनमतसंग्रहको विषय उठाएपछि पाण्डे समूहले विद्रोह गरेको हो ।