काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय शिक्षा विधेयक–२०८०’मा सहमति जुटाउन पाँच दिनको समय दिएको छ ।
समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटाउनका लागि थप समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको समिति सभापति अम्मरबहादुर थापाले बताए ।
बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमा शिक्षक महासंघसँग केही बुँदामा कुरा नमिलेकाले समिति समक्ष समय मागेका थिए । उनले विधेयकलाई छिटो टुंग्याउन आफू प्रयत्नरत रहेको बताए ।
‘विधेयक बनाउँदा सरोकारवाला पक्षको भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘शिक्षक महासंघसँग धेरै कुरा मिले पनि केही कुरामा मिल्न बाँकी छ । त्यसका लागि मलाई केही समय चाहिन्छ ।’
समिति सदस्य श्याम घिमिरेले शिक्षक महासंघसँग केही कुरा मिल्न बाँकी भएकाले विधेयकलाई टुंग्याउनका लागि केही समय आवश्यक रहेको बताए । समिति सदस्य छविलाल विश्वकर्माले सरोकार पक्षको अपनत्व हुने गरी विधेयक जारी गर्नुपर्ने भन्दै नमिलेको कुरा मिलाउनतर्फ सबै लाग्नुपर्ने बताए ।
समिति सदस्य विद्या भट्टराईले शिक्षकको बढुवा पारदर्शी तरिकाले हुनुपर्नेमा जोड दिइन् । समिति सदस्य सरिता भुसालले ५० वटा बैठक विधेयकका सम्बन्धमा बसे पनि अझै निचोडमा पुग्न नसक्दा आफूलाई दुःख लागेको बताइन् ।
समिति सदस्य रेखा शर्माले विधेयकलाई त्यतिकै अड्काएर राख्न नहुने भन्दै चाँडो पारित गर्न आग्रह गरिन् ।
समिति सदस्य देवेन्द्र पौडेलले समितिमा पार्टीको ह्विप नलाग्ने भएकोले बहुमतले पास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । समिति सदस्य ईश्वरी घर्तीले शिक्षकको बढुवा समितिले तोकेअनुसार हुनुपर्नेमा जोड दिइन् ।
समिति सदस्य सुमना श्रेष्ठले विधेयकमा शिक्षकको मात्र नभएर विद्यार्थीका कुरा पनि समेट्नुपर्नेमा जोड दिइन् । समिति सदस्य ज्ञानु बस्नेत सुवेदीले मिल्न नसकेका कुरालाई समितिबाटै नै मिलाएर लैजानुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया