काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने बताएका छन् ।
विद्या भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको उनले दाबी गरे ।
आइतबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै ओली निकट नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरु कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन ।’
भण्डारीले सक्रिय राजनीतिमा आउने कुरा गरेको तर कसरी अघि बढ्ने भन्ने केही कुरा नगरेको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनु हुन्छ ।’
संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिहरुलाई सक्रिय राजनीतिमा आउन बन्देज नगरेकाले विद्या भण्डारी पनि राजनीतिमा फर्किन सक्ने महासेठको भनाइ छ । पार्टीको सचिवालयमा पनि यसबारे छलफल भएको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ? किनकि संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन ।’
राजनीतिमा आउने नआउने भन्ने कुरा पूर्वराष्ट्रपति भण्डारीको व्यक्तिगत विषय भएको उनले बताए । अब राजनीति गर्छु भनेर भण्डारीले पार्टी सदस्यता रिन्यू गर्नु गरेको तर उनले पार्टीभित्र अन्तरविरोध बढाउने काम नगरेको उनले बताए ।
पार्टीका केही नेताहरुले मात्र अन्तरविरोध बढाउने काम गरेको र विद्या भण्डारीलाई पनि विवादमा ल्याएको महासेठले बताए । उनले भने, ‘हाम्रा पार्टीका केही, एक–दुई जना साथीहरुले जुन अन्तरविरोध बढाउने काम गरिरहनु भएको छ, त्यो पनि राम्रो होइन । पूर्वराष्ट्रपतिलाई जुन प्रकारले विवादमा ल्याउने काम गरिएको छ, त्यो पनि राम्रो कुरा होइन ।’
प्रतिक्रिया