विसं. २०५४ देखि २०६९ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका स्मार्टफोन र इन्टरनेटको युगमा हुर्केका, प्रविधिमैत्री र नवप्रवर्तनमा रुचि राख्ने ‘जेन जी’ अर्थात् युवापुस्ता समाजलाई नयाँ दिशातर्फ उन्मुख गराउन सक्ने सम्भावना बोकेको पुस्ता भएकाले उनीहरूको विचारलाई दबाउने होइन, सहकार्य गर्दै अगाडि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको माग सर्वत्र उठ्न थालेको छ ।
जेन जी अर्थात् ‘जेनरेसन जेड’ पुस्ताको अहिलेको युगमा, यो पुस्ताले परिवारका लागि होइन, देशका लागि लड्ने नेता स्वीकार गर्ने पक्षमा रहेको र नयाँ पुस्ताको विश्वास जित्न नसके अब उनीहरूको बीचमा जान नसकिने विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरूको अभिव्यक्तिबाट अब नयाँ पुस्ताको विचारलाई नजरअन्दाज गरेर अगाडि बढन नसकिने महसुस नेताहरूले गर्न थालेको बुझिन्छ । यसको तात्पर्य अब युवापुस्तालाई नजरअन्दाज गरी नेतृत्वमा नल्याए पुराना राजनीतिक दलहरू असान्दर्भिक बन्ने लक्षण बढ्दै छ । त्यसैले युवापुस्तालाई नेतृत्वमा स्थापित गर्नैपर्ने आवश्यकता छ ।
डिजिटल प्रविधिको विकाससँगै हुर्किएको जेन जी पुस्ता सूचना प्रविधिसँग अभ्यस्त भइरहेको छ । जेन जी पुस्ताको समस्यालाई सम्बोधन गर्न सरकारले ठोस योजना ल्याउन जरुरी छ । नेपालमा जेन जी पुस्ता सामाजिक परिवर्तन तथा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने क्षमतायुक्त पुस्ता बन्दै गएको छ । उनीहरूको आवाज सुन्नु, सिकाइ र नेतृत्वमा स्थान दिनु अहिलेको आवश्यकता पनि हो ।
युवा पुस्तालाई रोजगारी वा आफ्नै व्यवसाय सुरु गर्न सक्षम बनाउन भविष्यको बजारमा आवश्यक हुने सीप प्रदान गर्न डिजिटल प्रविधि, एआई, डेटा साइन्स, ई–कमर्सजस्ता क्षेत्रमा विशेष तालिम पनि आवश्यक देखिएकाले सरकारले यसतर्फ आफ्ना नीति तथा कार्यक्रमहरू लक्षित गर्नुपर्ने देखिन्छ । जेन जी पुस्ता आफ्नो योग्यता पुष्टि गर्न उचित समय र सही अवसरको खोजीमा भएकाले उनीहरूको इच्छा, आकांक्षा र विचारलाई बुझेर राजनीतिक नेतृत्व अगाडि बढ्नुपर्ने अहिलेको धरातलीय यथार्थता हो ।
यो पुस्ता राजनीतिक घटनाक्रमप्रति सजग यसकारण छन्, उनीहरू नेताहरूका भाषण मात्र सुन्दैनन्, त्यसको परीक्षण पनि गर्ने गरेका छन् । अनलाइन सूचना र सामाजिक सञ्जालको पहुँचले गर्दा जेन जी पुस्ता लोकतन्त्रको मूल्यमान्यता, मानवअधिकार, पारदर्शिताजस्ता विषयमा बढी सचेत छन् ।
अहिले युवा पुस्ताको भविष्य सुनिश्चित गर्न ठोस नीति र प्रतिबद्धता आवश्यक रहेको छ । नवीनता, उत्साह, र विश्वसँग जुध्ने साहस भएका जेन जी पुस्ताले सामाजिक सञ्जाल, ई–कमर्स, र स्टार्टअपजस्ता क्षेत्रमा नयाँ अवसरहरू खोजिरहेका छन् । नेपालका युवाहरूलाई रोजगारीको अवसर अभाव, शिक्षाको गुणस्तर, र राजनीतिक अस्थिरताजस्ता चुनौतीहरूको सामना गर्नु परिरहेको अवस्था छ । युवा पलायन हाम्रो देश लागि ठूलो चुनौतीको रूपमा देखापरेको छ ।
जुनसुकै सरकार आए पनि बेरोजगारी समस्या समाधान गर्ने प्रतिबद्धताअनुसार काम नगर्दा बेरोजगारी बढ्दो छ । स्वदेशमा रोजगारीका अवसरहरू नहुँदा युवाहरू विदेशिन बाध्य छन् । प्रत्येक वर्ष झन्डै साँढे चार लाख युवा श्रमबजारमा प्रवेश गरिरहेको तथ्यांक छ । देशका विकास योजनाका दस्ताबेजहरूमा रोजगारीलाई उच्च प्राथमिकता दिइएको हुन्छ । तर त्यसको उद्देश्यअनुसार कार्यान्वयन हुन नसक्दा बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरू बाहिर आइरहेका छन् ।
बेरोजगारी समस्याको समाधानका लागि सरकारले विभिन्न रोजगारमूलक कार्यक्रमहरू ल्याएको भए पनि त्यो प्रभावकारी बन्न सकेका छैनन् । क्षणिक लोकप्रियताका लागि वितरणमुखी कार्यक्रमभन्दा पनि स्वदेशमा नै उत्पादन वृद्धि गरी पुँजी निर्माण हुने किसिमका कार्यक्रमहरू ल्याउन आवश्यक भए पनि त्यो अनुरूप काम हुन सकेको छैन । हाम्रोजस्तो विकासोन्मुख देशमा बेरोजगारी समस्याको अन्त्य गर्न सके मात्र आर्थिक विकासको ढोका खुल्न सक्छ । केवल सत्ताको लागि मात्र केन्द्रित मुलुकका प्रमुख राजनीतिक दलहरूले भयावह अवस्थामा देखिएको बेरोजगारी समस्या समाधानका लागि संकल्प गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।
उच्च शिक्षा अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरूको संख्या पनि पछिल्लोपटक ह्वात्तै बढेको छ । नेपालमा गुणस्तरीय शिक्षा, प्राविधिक र अनुसन्धानमुखी शिक्षाको अभाव, अवसरहरूको कमी , र बेरोजगारी समस्याले नेपाली विद्यार्थीहरूलाई विदेशिन प्रेरित गरेको छ । विदेशिने युवाशक्तिलाई फेरि देशकै विकासमा सक्रिय गराउन सरकारका नीति तथा कार्यक्रमहरू केन्द्रित हुनुपर्नेमा त्यो देखिएको छैन ।
उच्च शिक्षाका लागि विदेश गएका नेपाली युवाहरूले अनुभव, ज्ञान र सीप आर्जन गरी देशको विकासमा योगदान गर्न सक्छन् । त्यस्ता युवालाई सरकारले देशमा फर्कन र काम गर्न उत्प्रेरणा दिनुपर्छ । यद्यपि अधिकांश नेपाली विद्यार्थीहरूले विदेश गएपछि त्यहीँ नै स्थायी बसोवासको बाटो रोजिरहेको अवस्था देखिएको छ ।
मुलुकका युवा पुस्ताको भविष्य सुनिश्चित गर्न सरकारको ठोस नीति तथा प्रतिबद्धता आवश्यक छ । जेन जी पुस्ताको क्षमता र ऊर्जालाई सही दिशामा लगाउन सके नेपालको विकास प्रक्रियामा ठूलो योगदान पुग्नेमा दुईमत हुन सक्दैन ।
प्रतिक्रिया