देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेतृत्वले गल्ती गर्ने, कार्यकर्तालाई कारबाहीको डन्डा चलाउने ?

देशान्तर

दिनेश कोइराला, केन्द्रीय सदस्य नेका

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको, यसको वस्तुस्थिति कस्तो देखिएको छ ?

सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने क्रम चलि नै रहेको छ । सबैले आ–आफ्नो धारणा राखिरहनुभएको छ । केन्द्रीय कार्यसमितिको बैठकका लागि १३ वटा एजेन्डा छन् । १०० दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुति र निर्देशिका संशोधन, अनुसन्धान समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृसंस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय लिने, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा, नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको नाम संशोधन, कार्यसमितिको बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि र कार्यसम्पादन निर्देशिका पारित गर्ने, संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारिता, समसामयिक विषय र विविध गरेर एजेन्डा दिइएको छ । खास गरेर जो प्रतिनिधि खट्नुभएका साथीहरूले १०० दिने अभियानको प्रतिवेदन पेस गर्नुभएको छ । उहाँहरूले आफू प्रतिनिधि भएर गएको जिल्लाको वस्तुस्थिति, वास्तविकता र यथार्थता पेस गर्नुभएको छ । त्यसबाहेक समसामयिक राजनीतिक कुराहरू भइरहेका छन् ।

१०० दिने अभियनको समीक्षा गर्दा तपाईंहरूको बुझाइ के हो ?

यसमा मिश्रित बुझाइ पाएको छु । धेरैजसो साथीहरूले जिल्लामा उत्साह नभएको, संगठनलाई मजबुत बनाउन केन्द्रदेखि वडासम्म विशेष पहल गर्नुपर्ने र कमीकमजोरी सुधार गरेर कांग्रेसलाई अझ बलियो बनाउन हिजोको शैलीमा परिवर्तन गर्नुपर्छ । विशेषगरी गठबन्धन संस्कृतिले धेरै ठाउँमा धेरै साथीहरूलाई चोट पुर्‍याएको छ । गठबन्धनभन्दा पनि पार्टीलाई एक्लै बलियो बनाउने गरी लाग्नुपर्छ भन्ने आएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक र संसद्को बैठक उस्तै–उस्तै, त्यहाँ पनि कुर्सी खाली यहाँ पनि कुर्सी खाली होइन त ?

साह्रै खाली त भएको छैन ।

संसद्मा सभामुखले सुनिदिने, यहाँ सभापतिसहित पदाधिकारीले सुनिदिने ?

अहिले संसद् पनि चलिरहेको र केन्द्रीय कार्यसमितिको बैठक पनि चलिरहेकाले केही यस्तो भएको छ । केन्द्रीय सदस्य साथीहरू धेरै सांसद पनि हुनुहुन्छ । संसद् बैठक चलिरहेका बेला त्यहाँ पनि जानुपर्छ । कुनै–कुनै समय अलि कम देखिएजस्तो लागे पनि केन्द्रीय कार्यसमितिको बैठकको छलफल उत्साहजनक नै छ ।

यो केन्द्रीय कार्यसमितिको बैठकमा एजेन्डाभन्दा पनि आफू कसरी चर्चामा अउने भन्ने कुरा बढी भएको जस्तो लाग्दैन ?

हाम्रो केन्द्रीय कार्यसमितिको बैठकमा मात्रै होइन नि, देशमै त्यही चलिरहेको छ । हाम्रो पार्टीसहित नेतृत्वहरूमा कमीकमजोरी छन् । देखिएको कमीकमजोरीलाई स्टन्टबाजी गरेर चर्को विरोध गर्दा जनताबाट वाहीवाही हुन्छु भन्ने मनोभावना लिएर बोल्नेहरू पनि छन् । यहाँ जसले विरोध गरेको छ, ऊ आफू कस्तो छ त्यो भने उसैलाई थाहा छैन । तर स्टन्ट गरेपछि वाहीवाही भइदिने प्रवृत्ति पार्टीमा मात्रै होइन यो देशमा चलिरहेको छ । यसलाई मैले कांग्रेसको मात्रै होइन कि देशकै समस्याको रूपमा लिएको छु ।

अहिले जारी केन्द्रीय कार्यसमितिको बैठकमा कसरी भाइरल हुने होडबाजी नेताहरूमा देखियो, यसले कांग्रेसलाई राम्रो गर्छ त ?

भाइरल हुने भन्ने सोचाइ त छैन होला । जो भाइरल भएको छ, उसले केन्द्रीय कार्यसमितिको बैठकमा धेरै कुराहरू राखिरहेको हुन्छ । सकारात्मक कुराहरू मिडियामा आउँदैन । नकरात्मक कुराहरू बाहिर आइदिएपछि त्यो बढी चर्चा मिडियादेखि सामाजिक सञ्जालमा आएपछि भाइरल भएको हो । जुन जति मिडियामा आएको मात्रै बोलिएको हुँदैन । हाम्रो समाज नै यस्तो भइदियो कि, सकारात्मक कुुराहरू भन्दा पनि नकारात्मक कुराहरू बाहिर आउने र ल्याउने चलन नै छ ।

केन्द्रीय कार्यसमितिको एजेन्डामा सरकारको समीक्षा पनि गर्ने छ, कसरी ?

नेपाली कांग्रेस अहिले एमालेसँगको गठबन्धन सरकारमा छ । संसद्को ठूलो दल भएको नाताले कांग्रेसको यो सरकारप्रति जिम्मेवारी र दायित्व पनि छ । सरकारको समीक्षाको विषय कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयमा आउला । तर हाम्रा साथीहरूले व्यक्तिगत तरिकाले राख्दै गर्दा सरकार जसरी जान पर्ने थियो त्यो गएको छैन । अहिलेको सरकारको कार्यशैलीमा पनि असन्तुष्टिहरू छन् । एक शब्दमा भन्नुपर्दा साथीहरू सरकारप्रति ‘निराश’ हुनुहुन्छ । तर साथीहरूले कार्यशैली परिवर्तन गरेर द्रुत गतिमा अघि बढ्नुपर्छ भन्ने धारणा पनि राख्नुभएको छ । कांग्रेसको बैठकमा समस्याको मात्रै कुराहरू भएका छैनन्, समाधानका उपायहरूबारे पनि साथीहरूले धारणा राख्नुभएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताहरूको बुझाइमा सरकार जनताका मुद्दामा उदासीन भन्ने हो ?

व्यक्तिगत रूपमा साथीहरूका धारणाहरू यस्तो आएका छन् । मेरो पनि धारणा भन्नुहुन्छ भने अहिलेभन्दा फरक तरिकाले सरकार अगाडि बढ्नुपर्ने थियो । जुन–जुन विषयमा सरकारले गम्भीरताका साथ लाग्नुपर्ने थियो, त्यो नलागेको अवस्था छ ।

०७९ मा चुनाव भयो, त्यतिबेला गठबन्धन गरेको अहिले पनि त्यसकै समीक्षा कति आवश्यक ?

विगतका घटना परिघटनालाई विश्लेषण गर्दै आउने दिनहरूका लागि सजग हुनैपर्छ । समीक्षाको क्रममा आएको हो । हिजोको गठबन्धनले हामीलाई कहाँ–कहाँ प्रभाव पर्‍यो, कहाँ असर गर्‍यो ? त्यसको फाइदा र बेफाइदा के भयो ? र अब अगाडि जाँदा कसरी राम्रो हुन्छ भन्ने कुरा त समीक्षा हुनै पर्‍यो नि !

नामै उल्लेख गरौँ न, डा. शेखर कोइरालाले विनोद चौधरी अनि मोहन बस्नेतले गगन थापामाथि जुन खालको टिप्पणी गर्नुभयो नि यसले पार्टीलाई एक बनाउनेभन्दा पनि दूरी बढाउने अवस्था देखिएन र ?

यो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक हो । केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना मनमा लागेका कुराहरू राख्नु लोकतन्त्रको ‘ब्युटी’ अर्थात् सुन्दर पक्ष नै हो । तर कहिलेकाहीँ नेगेटिभ कुराहरू बाहिर गइदिन्छ । पोजेटिभ कुराहरू अलि छाया पर्ने पनि हुन्छ । जुन तपाईंले नामै लिएर प्रश्न गर्नुभयो, त्यो समय परिस्थितिअनुसार मनमा लागेका कुराहरू बैठकमा राखिएको हो । केन्द्रीय समितिमै राख्न सकिएन भने त बाहिर झन् विस्फोट हुन्छ नि ! हाम्रो दुर्भाग्य के हो भने केन्द्रीय समितिमा राखेका कुराहरू हुबहु बाहिर आइदिने भएकाले समस्या भएको छ । अझ हाम्रोमा राखेको कुराहरू भन्दा बढी नै बाहिर आउँछ ।

त्यसो भए प्रत्यक्ष प्रसारण किन नगरेको त ? पहिला जसैगरी गरेको भए ढुक्क हुन्थ्यो कि !

आन्तरिक आफ्नो बैठक लाइभ गर्न त्यति राम्रो हुँदैन । आन्तरिक समीक्षा हुन्छ । नेता भनेको व्यक्ति मात्रै होइन सार्वजनिक मान्छे पनि हो । त्यसकोबारेमा केही कुराहरू राख्नु पर्ला । त्यसले गर्दा लाइभ (प्रत्यक्ष प्रसारण) नगर्नु नै राम्रो हो ।

कांग्रेसमा नेतृत्वले गल्ती गर्ने अनि कार्यकर्तालाई कारबाहीको डन्डा चलाउने चलन पनि छ नि है ?

चलन त छैन । कता–कता त्यस्तो देखिएको कारणले गर्दा त्यस्तो हुनुहुन्न भन्ने हाम्रो धारणा हो । मैले केन्द्रीय कार्यसमितिमा स्पष्ट रूपमा राखेको पनि छु । डेढ वर्षअगाडि हामीले माओवादीसँग मिलेर चुनाव लडेका थियौँ । माओवादीसँग सहयोग लिने र दिने गर्ने । अन्त्यमा हामीलाई माओवादीले धोका दिने । डेढ वर्षपछि अहिले हामी एमालेसँग सहकार्य गरेर सरकारमा छौँ । डेढ वर्षअगाडि माओवादीसँग सहकार्य गर्दा पार्टीलाई एक किसिमले माओवादीलाई बुझाउने । अनि देशको नेतृत्व एमालेलाई बुझाउने । त्यसको दोषी को ? यसको दोषी तल्लो निकायका साथीहरू त होइन । यसको सबै दोष हामी केन्द्रीय कार्यसमितिमा रहेकाले लिनुपर्छ । गल्ती हामी गर्ने अनि कारबाहीका डन्डा तल्लो तहका कार्यकर्तालाई चलाउने होइन । तल्लो निकायका साथीहरूलाई कारबाही गर्ने कुरा गलत छ भनेर पनि भनेका छौँ । जसले रुख चिह्नको विरुद्धमा अर्थात् नेपाली कांग्रेसको विरुद्धमा उम्मेदवारी दिएका छन्, उनीहरूबाहेक सबैको कारबाही फुकुवा गर्नुपर्छ भनेर भनेका छौँ ।

गठबन्धनविरुद्ध उम्मेदवार बनेका र उनलाई सघाएकालाई कारबाही फिर्ता गर्नुपर्छ होइन त ?

हो । अवश्य । जुन दलसँग हिजो मिलेर गयौँ, त्यो दलले धोका दिएर गइसकेपछि पनि हामीले साथीहरूलाई कारबाही गरिरहने त ? यो मिल्दैन । माओवादीले रोल्पामा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेदवार उठायो । किनभने त्यहाँ माओवादीको पकड थियो । स्वतन्त्र रूपमा चुनाव उठेकालाई संस्थागत रूपमा माओवादीले निर्णय गरेर भोट हाल्दा प्रदेश सभापति पुन पराजित हुनुभयो । माओवादीले स्वतन्त्र जितेकालाई कारबाहीको त कुरा छोड्नुस् मन्त्री नै बनायो । त्यसैले उनीहरूले स्वतन्त्र उठाएर जिताएर मन्त्री नै बनाउने । अनि हाम्रो साथीहरू उनीहरूको विरुद्धमा लड्दा कारबाही भोग्नुपर्ने यो हुँदैन । यसले विगतदेखि संघर्ष गरेर पार्टीमा गरेको योगदानको अवमूल्यन गर्न मिल्दैन ।

तपाईंले भन्ने शब्द ‘हाइपरसोनिक’ भनेको के हो ?

हाँस्दै । एउटा कुनै प्रसंगमा थियो । अनुशासन समितिको कुरामा आउँछ । जसरी अस्वाभाविक रूपमा कसैले टिकट लिएर जान्छ, अर्को सम्बन्धित जिल्लाभन्दा बाहिर जान्छ । अथवा सम्बन्धितबाहेक बाहिरको पार्टीको व्यक्तिले टिकट लिएर जान्छ, एकैपटक जाँदा कार्यकर्तालाई पनि थाहा हुँदैन । अस्वाभाविक तालले टिकट लिएर गएको हुन्छ, त्यसले गर्दा हाम्रा पुराना साथीहरू पहिला असन्तुष्ट हुन्छन् । साथीहरूको बीचमा मनमुटाव हुन्छ । आक्रोश हुन्छ । पछि केही समयपछि त्यसलाई साम्य बनाइन्छ । पछि चुनावको नतिजा आउँदा पराजित भयो भने फलानाको अन्तरघातले गर्दा हारेँ भन्छ, जित्यो भने मेरो क्षमताले जितेँ भन्छ । बाहिरबाट टिकट लिएर जाँदा विगतदेखि त्यहाँ रगत पसिना बगाएका साथीहरूलाई कारबाही गर्नुपर्छ भन्ने कुरा अस्वाभाविक हो ।

कांग्रेसमा चन्दा दिनेले विशेष अधिकार खोज्न थालेको भन्ने टिप्पणी पनि हुन्छ नि आजभोलि ?

चन्दा दिने, धन, डन, भुइँमान्छे सबैको योगदान यो पार्टीमा छ । सबै मिलेपछि मात्रै एउटा पार्टी बन्ने हो । प्लेन उड्नका लागि सानोदेखि ठूलोसम्म सबै पाटपुर्जाको आवश्यकता पर्छ, त्यसैगरी पार्टी चल्नलाई सबैको साथ सहयोग चाहिन्छ । मान्छेको जीवन चल्न पनि आर्थिक पाटोको भूमिका हुन्छ । जसरी गाडी चल्नका लागि फ्युल चाहिन्छ, त्यसैगरी अर्थविना मान्छेको जिन्दगी र पार्टी चल्न पनि सक्दैन । आर्थिक महत्वपूर्ण पाटो हो । तर यो होइन कि आर्थिक हुँदा सबै हुन्छ । अर्थात् अर्थले सबैलाई प्रभाव र छायामा पार्न हुँदैन भन्ने हो ।

नेपाली कांग्रेसलाई एक ढिक्का बनाउन के–के गर्नुपर्छ ?

अनुशासनको कुरा छ । त्यसमा गुट–उपगुटको आधारमा चल्न हुँदैन । जिल्लामा आन्तरिक द्वन्द्व छ, ठाउँ पाएपछि सिद्धाइहालौँ भन्ने मानसिकता कोहीमा पनि हुनुहुँदैन । हाम्रो केन्द्रीय समितिले नै अदूरदर्शी निर्णय गरेमा पार्टीलाई नै अप्ठ्यारो पर्छ । गल्ती हामी गर्ने अनि अनुशासनको डन्डा तल्लो निकायमा चलाउन हुँदैन । यति भन्दै गर्दा पार्टीलाई छाडातन्त्रमा छाडौँ भन्ने होइन । विगतमा नेपाली कांग्रेसकै उम्मेदवारविरुद्ध लडेकालाई भने कारबाही गर्नुपर्छ । अर्को कुरा नेपाली कांग्रेसमा आर्थिकको प्रसंग जोडिएको छ । आर्थिकको कुरा विगतमा कहीँ पनि उठेको थिएन । अस्तिको केन्द्रीय कार्यसमितिको बैठकमा विनोद चौधरीले ‘पैसा लिन लाज नमान्ने, अनि पैसा दिएकोलाई नेता मान्न लाज मान्ने’ भनेको सुन्दा त्यो हामीलाई अस्वाभाविक लागेको छ ।

हामीले यसमा प्रश्न पनि उठाएका छौँ । यस विषयलाई थप प्रस्ट पार्न पनि भनेका छौँ । कसले हो पैसा लिएको, पैसा दिएको भए पारदर्शिता हुनुपर्‍यो । उहाँले सिंगो पार्टीलाई दिनुभएको हो कि, कुनै व्यक्तिलाई दिनुभयो ? तर कसैले चन्दा दिएकै आधारमा नेता मान्न त लाज लाग्छ । तर, विनोद चौधरीले चन्दा दिएकै आधारमा उहाँलाई नेता मानेको होइन । उहाँ एकजना अब्बल र बौद्धिक व्यक्तित्व हुनुहुन्छ । उहाँ उद्योग व्यवसायी पनि हो । त्यसैले अब्बल व्यक्तिले अब्बल शैलीमा राजनीति गर्नुहोस् भन्ने हो । उहाँको आर्थिक कारणभन्दा पनि बौद्धिकताका कारणले नेता मानेका हौँ ।

गोदावरीमा बसेको महासमिति बैठकदेखि अहिलेसम्म कति सुध्रियौँ ?

सुध्रिने बिग्रने भन्ने मापदण्ड त के हुने हो र ? तर पनि जसरी यो संगठनलाई चुस्त दुरुस्त बनाएर अगाडि लानुपर्ने थियो, त्यो भइरहेको छैन । प्रयास भइरहेको छ । महाधिवेशन नजिक आउन लागेको कारणले पनि अरू कुराहरू छायामा परेका छन् । गोदावरीदेखि अहिलेसम्म आउँदै गर्दा हामी ७७ वटै जिल्ला गयौँ, समीक्षा गर्‍यौँ, १०० दिने अभियान धेरै ठाउँमा प्रभावकारी भएका पनि छन् । त्यहाँका साथीहरूको कुरा पनि सुनेका छौँ । ती कुराहरू केन्द्रमा बुझाउने काम पनि भएको छ । जति हुनुपर्ने हो त्यति भएको छैन । तर थोरै भए पनि सकारात्मक तरिकाले अघि बढेको छ ।

नेपाली कांग्रेसको भ्रातृसंस्थाहरूको विषयमा के गर्ने अब ?

भ्रातृसंस्थाको विषयमा यो केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्छ । सबै भ्रातृसंस्थाको अधिवेशनको मिति नै सार्वजनिक गर्छौं । त्यतिबेला पनि गर्न नसके भ्रातृसंस्थाको नेतृत्व विघटन हुन्छ । भ्रातृसंस्थाको विषयमा हामीले केन्द्रीय कार्यसमितिमा व्यापक छलफल गरेका छौँ ।

नेपाली कांग्रेसको महाधिवेशन कहिले ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने पक्षमा म छु । तर त्यो अवस्था र सम्भावना मैले देखेको छैन । केले रोक्यो भन्ने हाम्रो प्रश्न पनि हो । हाम्रो हातमा पनि धेरै छैन । यस विषयमा नेतृत्वलाई भनि पनि रहेका छौँ । क्रियाशील सदस्यताको कारण हो भने यसलाई अगाडि बढाऔँ । विधान र संविधानअनुसार डेढ वर्षसम्म म्याद थप गर्न सक्छौँ, तर त्यो उपयुक्त विधि भने होइन । हेरौँ, हामीले आवाज उठाइरहेका छौँ । जति सक्दो चाँडो १५औँ महाधिवेशन गर्नुपर्छ ।

सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा हुन्छ र म अब रिटायर्ड हुन लागेँ भनेको कुराले बैठकमा कति प्रभाव परेको छ ?

सभापतिजीले केही समय पहिला राखेको धारणाको सबैले सम्मान नै गरेका छन् । यसलाई हामीले सकारात्मक रूपमा लिएका पनि छौँ । तर समयमै भनेको कुन समयलाई मान्ने हो । स्वाभाविक कार्यकाल सकिएको समयभित्र हो कि थपिएको कार्यकालको समय हो यस विषयमा स्पष्ट त छैन । हामीले विशेष अवस्थामा लिन पाउने कार्यकालको सुविधा प्रयोग गर्न नपरे हुन्थ्यो भन्ने लागेको छ ।

अहिलेको बैठक हेर्दा ०८३ मंसिरमा अधिवेशन हुने सम्भावना त देखिन्छ, यो बैठकले केही मितिहरू तय गर्छ त ?

१५औँ महाधिवेशनको मिति तोकौँ भनेर हामीले कुरा राखेका छौँ । तर अहिले नै मिति तोकिन्छ भन्ने त मलाई लागेको छैन ।

पार्टीभित्रको आन्तरिक गुटबन्दी कस्तो अवस्थामा छ ?

पार्टीभित्रको आन्तरिक गुटबन्दीको कुरा गर्नुहुन्छ भने बर्तमान कार्यकाल जति सहज कुनै पनि थिएन । शेरबहादुर देउवाले अहिले कार्यकाल पूरा गर्दै गर्दा अहिले जस्तो सहज कहिल्यै थिएन । यसअघिको कार्यकाल निकै अप्ठ्यारो थियो । धेरैपटक बैठकहरू हुन नसकेका उदाहरण नै छन् । टेबुल ठोकाठोक भएका थिए । मिटिङ बोलाए पनि तीन दिनसम्म सुरु हुन सक्दैनथ्यो । तर, अहिले सबैले पार्टी सभापतिलाई सहयोग गर्नुभएको छ । पार्टीमा विगतमा निकटतम प्रतिस्पर्धीले हो समस्या पार्ने गरेको । तर, अहिले डा. शेखर कोइरालाको शालीनता र भद्रताका कारणले गर्दा कहीँ कतै पार्टी र सभापतिलाई असजिलो पार्नुभएको छैन । अहिले हामीले बैठक तोक्न ढिला गरेका छौँ, तर सुरु हुनका लागि एक मिनेट पनि ढिला भएको छैन ।

संस्थापनइतरको गुट भने एक छैन है ?

त्यस्तो अवस्था त मैले देख्दिन । तपाईंले प्रश्न गरेको जस्तो कुरा त मैले पनि मिडियामा सुनेको छु । टिमको मिटिङ नबसेकाले त्यस्तो कुरा आएको होला । अहिले हामीलाई गुटको मिटिङ गर्नुपर्ने आवश्यकता पनि छैन । आवश्यक पर्दा बसिहाल्छ ।

१५औँ महाधिवेशनमा कांग्रेसको सिनारियो कस्तो देखिन्छ ?

अहिले त्यस्तो केही क्लियर भएको छैन । सबै आ–आफ्नो तरिकाले लाग्नुभएको छ । केन्द्रीय सभापति शेरबहादुर देउवा उम्मेदवार नहुने भइसकेपछि सिनारियो चेन्ज हुन सक्छ ।

सबैभन्दा ठूलो कुरा अहिले पनि राजनीतिमा विकृति छ । अहिले व्याप्त भ्रष्टाचार भनेको मुलुकको सबैभन्दा ठूलो समाधान गर्नैपर्ने मुद्दा हो । जतातजै राजनीतिक अस्थिरता र अस्तव्यस्तता छ । यसको अन्त्यका लागि नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ । अकुत सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्छ । उच्च ओहदामा बसेकाहरूको बर्षौंदेखि अख्तियारमा जालो लागेर बसेका फाइलहरू खोल्नुपर्छ । यसैगरी अहिले सबैभन्दा ठूलो विकृति पार्टी कब्जा गर्ने होडबाजी छ । भ्रष्टाचार बढ्नुको कारण पार्टी कब्जा गर्नलाई पनि हो । जसरी पनि पैसा कमाएर पार्टी कब्जा गर्छु भन्ने मानिसकता नेताहरूमा हावी भएको देखिएको छ । धन्न हाम्रो नेपाली कांग्रेसमा दुई–दुई कार्यकालमा नेतृत्व अटोमेटिक चेन्ज हुने भएकाले अलि कम छ । अरू पार्टीको अवस्था हेर्नुस् त । एमाले माओवादीसहित अन्य पार्टीहरूको नेतृत्वको हालत उस्तै देख्नुहुन्न र । नेतृत्वमा रहेकासँग नयाँ व्यक्तिले प्रतिस्पर्धा नै गर्न नसक्ने अवस्था निर्माण भएको छ, कारण अकुत सम्पत्तिको प्रयोग । माओवादीमा प्रचण्ड र एमालेमा ओलीलाई कसैले पनि काउन्टर दिन सक्दैन । किनभने उहाँहरूसँग सबै कुरा छ । कांग्रेस विधानअनुसार चल्ने पार्टी भएकाले हो, नत्र त सभापति देउवासँग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन । १३औँ महाधिवेशनबाट पहिलोपटक सभापति बन्नुभएका देउवाले १४औँमा झन् बढी प्रभाव पारेको त हामीले देखेकै हौँ त । त्यसैले यस्ता कुराले धेरै अर्थ राख्छ । अहिले राजनीतिक दलहरूको नेतृत्व परिवर्तन नहुनुको कारण पनि यही हो जस्तो लाग्छ । अहिले नीतिगत भ्रष्टाचारले देश आक्रान्त बनेको छ । यसबाट कसरी बाहिर निकाल्ने भन्ने सबैभन्दा ठूलो चुनौती हो । यसबाट देशलाई जोगाउनुपर्छ ।