देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्झिने – बिर्सिने

देशान्तर

वसन्त लोहनी

स्वार्थ अभिप्रेरित सम्झनाहरूले
उधुम मच्चाउँछन्
मुटु साट्न आउँछन्, धड्कन दिन आउँछन्
सम्बन्धको अग्लो शृंखला
हनुमानले जस्तो बोकेर आउँछन्
जसै स्वार्थ सकियो, ती बेपत्ता हुन्छन्
मरेको मान्छेलाई जुम्राले छोडेजस्तो गरेर

सम्झिन खोजेपछि मात्र जन्मिएका सम्झनाहरूले
भविष्यको स्वार्थ प्रदत्त गीत देखेनन् भने
ती पनि, अझ झन् चाँडो, त्यसै गरी हराएर जान्छन्

उसको संघर्षमा, म असिना पसिना भएको
उसले मन नपराएको मान्छेलाई, मैले तिरस्कार गरेको
उसलाई चोट लाग्दा, मैले दुखेर अइया… भनेको
उसको आँखा रसाएको देख्दा मैले केही सोधिन
तर मेरो आँखाबाट गंगा जमुना बहेको
बल्ल उसले हाँस्दा म रमाएको
यो सँगालोलाई कति सम्झिने ? कति बिर्सने ?

निश्चल सम्झनाहरू अनायास आउँछन् संवेदना बोकेर
मनको धरालाई उर्वरा गर्न
मनोरागलाई पोषण गर्न
ती बाँच्नको लागि आउँछन्
संवेदनाहरू बचाउनको लागि आउँछन्
हराएर जानको लागि होइन
असंवेदनशील हुँदै गएका मान्छेहरू
कहालीलाग्दो भिडभाडमा एक्लै भएकाहरू
त्यो स्पन्दनलाई हिफाजत गर्न सक्दैनन्
अनि हातमा भएको गुमाउँछन्
नभएको प्राप्तिको लागि भौँतारिन्छन्
नियति आफ्नो–आफ्नो, जिन्दगी आफ्नो–आफ्नो

खुम्चिएका मान्छेलाई
फराकिलो फाँटमा पुर्‍याइदियो भने
ऊ डराउँछ, हराउँछु कि भनेर
ऊ झन् निसासिन्छ, सास फेर्न नसक्ने हुन्छ कि भनेर
खुम्चिएको मान्छे,
सानो, होइन, अति सानो परिवेशमा
प्रदूषणभित्र नै रमाउँछ
झ्याउँकिरीको लागि टनेल नै प्रिय हुन्छ
खुला आकाश होइन