देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर

देशान्तर

अहिले स्थानीय तहहरूको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । विकास निर्माणका अलावा सामाजिक परिचालन, चेतना जागरण तथा आय आर्जनका कार्यक्रममार्फत सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन् स्थानीय स्थानीय तहहरूले । स्थानीय तहहरू लोकतन्त्र र सुशासनलाई जनस्तरसम्म पुर्‍याउने संस्थागत संयन्त्र हुन् । देशभरका स्थानीय तहहरूमध्ये एक हो, बाग्मती प्रदेशअन्तर्गत चितवन जिल्लामा पर्ने भरतपुर महानगरपालिका ।

ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक रूपले मुलुककै अग्रणी नगरीको रूपमा आफ्नो पहिचान बनाएको भरतपुर महानगरपालिका पवित्र नारायणी नदी किनार तथा प्रसिद्ध धार्मिकस्थल देवघाटधामको काखमा अवस्थित छ । वि.सं. २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई समायोजन गरी भरतपुर नगर पञ्चायतको रूपमा रही २०४८ सालदेखि भरतपुर नगरपालिकाको रूपमा सञ्चालित भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७१ साल मंसिर १६ को निर्णयले यस भरतपुर नगरपालिकालाई आसपासका पाँच गाविस मंगलपुर, फुलबारी, गीतानगर, शिवनगर र पटिहानी समावेश गरी भरतपुर उप–महानगरपालिकामा स्तरोन्नति गरिएको थियो भने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ साल फागुन २७ को निर्णयले यस भरतपुर उप–महानगरपालिकामा नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाविस समेत थप गरी भरतपुर महानगरपालिकामा स्तरोन्नति भएको थियो ।

उपलब्ध स्रोत, साधनको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन गर्दै एउटा समृद्ध महानगर बनाउने योजनाका साथ अगाडि बढेको छ, भरतपुर महानगरपालिका । काम गर्ने इच्छाशक्ति, लगनशीलता र इमानदारी भएमा विकासले फड्को मार्नसक्ने उदाहरण यस महानगरपालिकाले दिएको छ । यस महानगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक र उदाहरणीय छन् । ‘मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर’को दीर्घकालीन लक्ष्य कार्यान्वयन गर्दै महानगरवासीको सेवा र विकासमा दृढ संकल्पित रहेको छ, यस स्थानीय तह । आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको माध्यमबाट आधुनिक भरतपुर, समृद्ध भरतपुरको बनाउन सक्रिय छ यस महानगरपालिका । यस स्थानीय तहले उपलब्ध स्रोतसाधनको न्यायपूर्ण वितरण र दक्षतापूर्ण उपयोग गर्दै आममहानगरवासीलाई परिवर्तनको अनुभूति हुने गरी रूपान्तरणकारी योजनाहरू कार्यान्वयन गर्दै आएको छ ।

ती आयोजनाहरू अधिकांश सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पुगेका छन् । यस महानगरले संघ तथा प्रदेशमा समेत आवश्यक पहल गर्दै समन्वय, सहजीकरण र साझेदारीबाट महानगरको समग्र विकासका आयोजनाहरू अगाडि बढाइरहेको छ ।

विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरूको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्यांकनका हरेक चरणहरूमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वदलीय सर्वपक्षीय माध्यमबाट सहभागितात्मक पद्धतिको सिद्धान्तलाई यस स्थानीय तहले पूर्ण रूपमा अवलम्बन गर्दै आइरहेको छ । विकास निर्माणका अलावा सामाजिक परिचालन, चेतना जागरण तथा आय आर्जनका कार्यक्रममार्फत सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ ।

महानगरवासीहरूको जनजीवनमा सकारात्मक परिवर्ततनको अनुभूति गर्ने गरी विकासशील, स्वच्छ र सुन्दर महानगर बनाउने अभियानमा छ, यस भरतपुर महानगरपालिका । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, खाद्य सुरक्षा, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै अगाडि बढेको छ, यस भरतपुर महानगरपालिका ।

यस स्थानीय तहले समावेशी र दिगो विकासको माध्यमबाट गुणस्तरीय र दिगो भौतिक पूर्वाधारको विकास गर्दै आएको छ । सुशासन प्रवद्र्धनमार्फत समृृद्ध महानगर र खुसी महानगरबासी बनाउने अभियानका साथ अगाडि बढेको छ, यस महानगरपालिका । आधारभूत तथा आधुनिक सहरी सेवा सुविधाको पर्याप्त उपलब्धतासहित वातावरणीय र आवासीय दृष्टिकोणबाट स्वच्छ, उद्यमशीलता र शैक्षिक विकासको दृष्टिकोणबाट सृजनशील र उत्पादन तथा व्यवसायको दृष्टिबाट समृद्ध औद्योगिक महानगरको रूपमा विकास गर्दै आएको छ, यस स्थानीय तहले ।

सहरी सुशासन तथा पारदर्शिताका लागि यस महानगरपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमका रूपमा अंगीकार गरी त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ । आगामी दिनमा महानगरलाई अझै सबल, सक्षम र विकसित गर्न यस भरतपुर महानगरपालिका सफल रहोस् ।