देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभ्रेको नालामा पुल भाँचियो, सडक अवरुद्ध

देशान्तर

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो ।

उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो । पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धोँजूले उक्त सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।