देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षक छनोट खुला प्रतिस्पर्धाबाट मात्रै गर्न नेविसंघको माग

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने कानुनी व्यवस्था गर्न माग गरेको छ ।

संघीय संसद्को समितिमा विद्यालय शिक्षा विधेयकका विषयमा छलफल भइरहेका बेला शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न नेविसंघले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति प्रकाशित गरेर शिक्षक छनोट प्रक्रियालाई योग्यताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति गर्ने कानुनी व्यवस्था गर्न माग गरेका हुन् ।

नेविसंघले शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धिलगायत विषयमा ध्यानाकर्षण गराएको हो । अस्थायी तथा राहत शिक्षकका हकमा ‘गोल्डेन ह्याण्डसेक’जस्ता राहतको व्यवस्था गर्नुपर्ने अध्यक्ष शेर्पाले बताए ।

नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न पनि सरकारसँग माग गरेको छ । विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि बनेको विद्यालय शिक्षा विधेयक यही असार १५ गतेभित्र जारी गर्नेगरी सरकारले शिक्षक महासंघसहित सरोकार भएकासँग लिखित सहमति गरे पनि कार्यान्वयन भएको छैन ।