काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् ।
आज शीतल निवासमा राष्ट्रपति पौडेल र प्रदेश प्रमुखहरूबीच भएको भेटर्वार्तामा उहाँले लोकतन्त्रलाई सफल बनाउन प्रदेश सफल हुनुपर्ने धारणा राखे ।
“प्रदेशहरू सुदृढ भए यो व्यवस्था सुदृढ हुन्छ, संविधानको सम्पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्घीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाट संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।
प्रदेश प्रमुखहरू प्रदेशको प्रमुखका साथै केन्द्रको प्रतिनिधि पनि भएकाले सङ्घ र प्रदेशबीचको समन्वयकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले प्रदेश प्रमुखहरू सङ्घीयताको सेतुका रूपमा रहेका उल्लेख गरे ।
सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन नियममा रहेका अन्यौललगायत विविध पक्षका बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन हुन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए ।
प्रतिक्रिया