देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेखरको अभिव्यक्तिप्रति कँडेल र चौधरीले गरे प्रतिवाद

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शेखर कोइरालाको अभिव्यक्तिप्रति केही नेताहरूले आपत्ति जनाएका छन् । सोमबार शेखर कोइरालाले बोलेको कुरालाई लिएर मंगलबारको बैठकमा देवेन्द्रराज कँडेल र विनोद चौधरीले प्रतिवाद गरेका हुन् ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा शेखरले पार्टी सभापति शेरबहादुर देउवामाथि एमालेलाई प्रधानमन्त्री किन दिएको ? मलाई कारबाही गर्न खोजेको हो ? जस्ता प्रश्न तेर्स्याएका थिए ।

पार्टीभित्र अनुशासनको कुरा उठाउँदै कोइरालाले भनेका थिए, ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ? सभापतिज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रिय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन ।’

कोइरालाको यो अभिव्यक्तिलाई लिएर सांसद समेत रहेका चौधरीले प्रतिवाद गरे । कोइरालाले गठबन्धन, एमालेसँगको सहकार्य, भ्रातृ संगठन, सर्वोच्चबाट दोषी ठहर भएकाहरूलाई पनि बचाएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका थिए ।

मंगलबारको केन्द्रीय कार्य समिति बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले पार्टीको विधानबमोजिम निरुपण भएको विषयलाई पार्टी नेतृत्व गर्छु भन्ने व्यक्तिले विवादित बनाउनु दुःखद रहेको बताए ।

गुटको राजनीतिका नाममा निजी क्षेत्रका आफूजस्ता मान्छेलाई छेक्ने र कांग्रेस उम्मेदवारलाई हटाउन खुलेआम घर-घरमा गएर विपक्षीलाई भोट माग्ने लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनाललाई बोक्ने काम गरिएको उनले बताए ।

चौधरीले भने, ‘कांग्रेसमा निजी क्षेत्रका हामीजस्ता मान्छेको भूमिका के हो ? सम्पन्न नेपाल बनाउने एजेण्डा दुनियाको अगाडि पस्किने क्रममा यस्ता व्यक्तिहरुलाई भित्र्याउने हो कि रोक्ने हो ? गुटको राजनीतिका नाममा हामीजस्ता मान्छेलाई छेक्ने, हृदयेश त्रिपाठीको लागि बुथबुथमा मान्छे राखेर कांग्रेसका शीर्ष नेतालाई तथानामा गाली गरेर हराउन हरप्रकारको तिकडम गर्ने लुम्बिनीका महामन्त्री विक्रम खनाल जस्तालाई बोक्ने नेताले भोलिको कांग्रेसको नेतृत्व कसरी गर्छ ?’

चौधरीले अर्थतन्त्र बुझेको व्यक्तिले अर्थ मन्त्रालय चलाउँछु भन्दा स्वार्थको द्वन्द्व हुने हो भने प्रतिष्ठित र अनुभवी व्यक्तिहरूलाई कांग्रेस प्रवेशमा रोक्नुपर्ने बताए । उनले दोहोरो मापदण्ड त्याग्नुपर्ने भन्दै स्वार्थका द्वन्द्वका नाममा आफूहरूजस्ता व्यक्तिलाई रोक्न खोजिएकोमा दुःख व्यक्त गरे ।

चौधरीले जेलनेल खाएका बाहेक अन्य पेशामा प्रतिष्ठा कमाएका व्यक्तिको आवश्यकता छैन भनेर कांग्रेसले निर्णय गर्न चुनौतीसमेत दिए ।

उनले नवनियुक्त कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई कुर्सीमा बस्दा अपमान गर्ने र साथमा बस्दा अछुतो हुन्छु भन्ने मानसिकता समेत नेतामा देखिएको आरोप लगाए ।

चौधरीले त्यही उमेश श्रेष्ठसँग चन्दा माग्न जाँदा, सहयोग माग्न जाँदा सानो नहुने तर कोषाध्यक्ष माग्न लाज हुने अवस्थाले कांग्रेसलाई लज्जित बनाएको बताए ।