काठमाडौं । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठजनालाई प्रहरीले सोमबार उद्धार गरेको छ ।
धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठजनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उहाँसहित परिवारका चारजनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलंकाका एकै परिवारका चारजनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।
सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ ।
प्रतिक्रिया