देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुगम संगीतमा जमेका सविनको कलात्मक गला

देशान्तर

काठमाडौं । झट्ट हेर्दा बाक्लै दाह्री–जुँगा पालेको, गहुँगोरो वर्ण, पातलो जिउडाल अनि सामान्य पहिरनको युवकजस्तो देखिन्छ, उनलाई । कार्यस्थलबाहिर भेट्दा नजिकबाट नचिन्नेहरूले गन्तव्यहीन यात्री पो हो कि भन्ने ठान्छन् । तर, त्यो अनुमान पूरापूर गलत हुन्छ । उनका लागि मिनेट/मिनेट समयको महत्व छ । भेटघाट–जमघट गर्ने व्यक्ति पनि ‘विशेष’ नै हुन्छन् । ‘सेलिब्रेटी’ त साथमा भइरहन्छन् । ‘सेलिब्रेटी’को पनि रोजाइको ‘सेलिब्रेटी’मा पर्छन् उनी । जहाँ ‘सेलिब्रेटी’ र कलाको चर्चा हुन्छ– त्यहाँ स्वतः उनको नाम जोडिन्छ । फरक यति हो कि ‘सेलिब्रेटी’लाई देखेरै धेरैले चिन्छन् । उनको हकमा सबै ठाउँमा त्यो लागू हुँदैन, काहीँ नाम शब्द/वाक्यमा आउँछ त काहीँचाहिँ प्रत्यक्ष देख्न–भेट्न सकिन्छ । नेपथ्यमै रहेर पनि अद्वितीय भूमिका निर्वाह गर्छन् । र त उनको पथ पछ्याउनेको लर्को पनि लामै छ । नेपाली कलाकार हुनुको गर्व, समाज–राष्ट्रप्रतिको जिम्मेवारी तथा उत्तरदायित्व साबित गरेका छन् । परिणाम त गन्तव्यतर्फको पाइलालाई अझै अघि बढाउँदै शिखरतर्फ लम्कँदै छन् । कर्णप्रिय स्वरका धनी युवापुस्ताका लोकप्रिय गायक सविन सुवेदीको कलाकारितायात्रा हो यो ।

सविनको जन्म विसं ०५३ कात्तिक १७ गते मकवानपुर जिल्लाको हालको हेटौँडा उप–महानगरपालिका–९ लामसुरेमा पूर्णप्रसाद सुवेदी र सीताका दुई छोरामध्ये पहिलो सन्तानको रूपमा भएको हो । मध्यमवर्गीय परिवारका उनको बाल्यकाल साथीसंगीको तुलनामा पृथक् ढंगले बित्यो । अध्ययनका अलावा मनोरञ्जनात्मक क्रियाकलापमा सदा अब्बल सविनलाई त्यस्तै ३/४ वर्षको उमेरमा घरनजिकै रहेको श्री प्रगति माध्यमिक विद्यालयमा भर्ना गरियो । ०६९ सालमा राम्रो अंक ल्याएर उनले त्यहाँबाटै एसएलसी पास गरे । त्यसपछि भने उच्चशिक्षा अध्ययनसँगै गायन क्षेत्रबाटै भविष्य कोर्ने सुनौलो सपना सजाएर काठमाडौं भित्रिए । र, कलंकीस्थित एडमार्क एकेडेमीमा भर्ना भए अनि संगीत विषयमा त्यहाँबाटै कक्षा १२ सम्मको अध्ययन पूरा गरे । त्यतिबेलासम्म सविनको नसा–नसामा संगीतकै रंग बग्न थालिसकेको थियो ।

अब भने सविन थप अध्ययन र कलाकारितलाई एकैसाथ अगाडि बढाउने जमर्कोमा लागे । यही दौरानमा संगीत क्षेत्रकै अब्बल व्यक्तित्वहरूको संगतमा पुगे । उनीहरूकै पंक्तिमा मिसिएर आफ्नो गायन कला माझ्न थाले । यसरी खारिँदै जाँदा विभिन्न कार्यक्रम–स्थानहरूमा क्षमता देखाए । साथ, समर्थन र सफलता पनि बटुले । त्यसले उनमा झनै आत्मविश्वास बढ्यो । उसो त संगीतप्रति सविनको रुचि–आकर्षण सानैदेखिको हो । विद्यालयमा हरेक शुक्रबार आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये गायनमा अनिवार्य सहभागिता जनाएर उत्कृष्ट हुने विद्यार्थीमा पर्दथे, उनी । क्याम्पस पुगेपछि पनि त्यसले निरन्तरता पाइरह्यो । ६ कक्षामा अध्ययन गर्दाबाटै उनले हेटौँडाका ‘नामी’ प्रशिक्षक भोला जोशीसँग शास्त्रीय संगीतको कक्षा लिन थालेका हुन् । यो क्रम ४ वर्षजति चल्यो । ०६८ मा ‘हेटौँडा आइडल’ मा ‘टप पाइभ’ भएका सविनले यता काठमाडौंमा ११–१२ अध्ययन गर्दैगर्दा पनि रत्नबहादुर खड्गी र मीरा राणासँग करिब चार वर्ष सुगम शास्त्रीय संगीत–गायनको थप प्रशिक्षण पाए ।

प्रसंग ०७७/७८ को हो, सविन व्यावसायिक रूपमै गायनमा समर्पित भए । रेडियो नेपालको आधुनिक गीत प्रतियोगिता–०७८ मा उनी तेस्रो भए । यही मेसोमा सविनले ०७८ सालमै कृष्णबहादुर थापाको गीत र मीरा राणाको संगीतमा आफ्नो स्वर रहेको ‘स्वपनीले तिम्रो…’ बोलको गीत सार्वजनिक गरे । सुगम संगीतको ‘हिरो’ कहलिएका उनी फिल्मी र अन्य विधाका गीत गाउन पनि उत्तिकै पोख्त छन् । र त ओजस् थिएटर एन्ड फिल्म स्टुडियोबाट निर्मित फिल्मी गीत (कस्तुरी फिल्म)मा प्रतिस्पर्धात्मक कार्यक्रममा प्रथम गायक भए । हालसम्म सविनले एक सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । जसमा ‘बिहे भको छैन…’, ‘तिम्रो आँखै रसिलो…’, ‘तिम्रो याद आयो…’, ‘अँध्यारोमा चप्पल साटियो…’, ‘कुन देवको सृष्टि…’, ‘तिम्रो र मेरो…’, ‘तिमीले रोजेको मान्छे…’, ‘मैले त के जानेको थिएँ र…’, ‘आज त लभ पर्छ…’, ‘चाहन्छु हरदम…’ आदि बोलका गीत सफल र चर्चित मानिन्छन् ।

‘राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’ (एलसीपीए) अनि ‘प्रस्तोता समाज नेपाल’को पनि सदस्य रहेका सविनले सर्वोत्कृष्ट गायकको हैसियतमा ‘निम अवार्ड–२०२२’, ‘म्युजिक खबर म्युजिक अवार्ड–२०८१’लगायत थुप्रै सम्मान, पुरस्कार तथा अवार्ड हाता पारिसकेका छन् ।