देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेतन बने नेपाल म्युजिक एन्ड फेसन अवार्डको निर्णायक

देशान्तर

नेपाली सांगीतिक आकाशका प्रखर व्यक्तित्व लोकप्रिय गायक चेतन राईले ‘पाँचौँ नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२४’मा कुशल निर्णायकको भूमिका निर्वाह गरेका छन् । र त उनलाई ‘निर्णायक सम्मान–२०२४’ प्रदान गरिएको छ । ‘स्टार वान इन्टरटेनमेन्ट प्रालि’ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चेतनलाई सम्मान–प्रशंसापत्र प्रदान गरेका हुन् ।

‘तपाईंको विशेषज्ञता, विचारशील मूल्यांकन र समर्पणले प्रतिस्पर्धाको गुणस्तर–अखण्डता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ’ प्रमुख अतिथि नेपाल, कार्यक्रम निर्देशक बालकृष्ण पोखरेल र कार्यक्रम संयोजक सरिता भारतीद्वारा हस्ताक्षरित निर्णायक चेतनलाई दिइएको प्रमाणपत्रमा भनिएको छ, ‘निर्णायकको रूपमा तपाईंको बहुमूल्य योगदानको हार्दिक कदर र सम्मानस्वरूप यो प्रमाणपत्र प्रदान गरिएको छ ।’

उसो त प्रस्तोता समाज नेपालका सदस्यसमेत रहेका चेतन यसअघि पनि दर्जनौँ सम्मान, पुरस्कार तथा अवार्डसहित अभिनन्दित भइसकेका छन् । ‘राप्ती साहित्य परिषद् सल्यान सम्मान–२०७८’, ‘वल्र्डवाइज मिडिया नेटवर्ट प्रालि सम्मान–२०७९’, ‘लाइन्स क्लब अफ सल्यान सम्मान–२०८०’, ‘एल्लो टाइगर मुभिज् एन्ड इन्टरटेनमेन्ट प्रालि सम्मान–२०८१’ आदि यसैका केही उदाहरण हुन् । यसैगरी, सर्वोत्कृष्ट गायकको हैसियतमा उनले ‘राप्ती म्युजिक अवार्ड–२०६८’, ‘नेसनल गण्डकी म्युजिक अवार्ड–२०७८’, ‘एएनपी नेसनल अवार्ड–२०७८’, ‘जिनियस म्युजिक अवार्ड–२०७९’, ‘म्युजिक खवर म्युजिक अवार्ड–२०८०’, ‘जीवन्त नेपाल म्युजिक अवार्ड–२०८०’, ‘हिमालयन इन्टरनेसनल अवार्ड–२०८२’ लगायत पनि पाइसकेका छन् ।

प्रभुराज ढकाल, उदय सोताङ, चन्द्रराज शर्मा र सुदेशराज शर्माजस्ता विज्ञसँग प्रशिक्षण लिएपछि भोटाहिटीको ललितकला क्याम्पसबाट संगीतको अध्ययन पूरा गरी गायन विधामै समर्पित भएका चेतनको २०६६ मा पहिलो ‘एल्बम’ ‘सेभेन’ आएको हो । त्यसपछि क्रमशः ‘साउन्ड’, ‘स्टेप’ र ‘स्टेज’ ‘एल्बम’ पनि पस्किसकेका उनको पाँचौँ ‘एल्बम’ ‘स्पिड’ सार्वजनिकको पर्खाइमा छ ।

आधुनिक, पप, लोकपप आदि सबै विधाका गीत गाउन उत्तिकै माहिर चेतनले हालसम्म ६ दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । नेपालका असंख्य गायकहरूको भिडमा पृथक पहिचान बनाउन सफल उनले सामान्यदेखि ठूल्ठूला ‘स्टेज प्रोग्राम’हरूमा समेत गाएरै ‘हाईहाई’ कमाइरहेका छन् ।