देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नागरिक उड्डयन प्राधिकरणको सुधारमा जोड

देशान्तर

काठमाडौं । मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित र सुरक्षित तुल्याउन संस्थागत संरचना सुधारेर सेवालाई चुस्त बनाइनुपर्नेमा विज्ञ एवं सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले हालको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानं)लाई विभाजन भन्दा पनि संस्थागत सुधारको खाँचो औँल्याए ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा नेपाल सरकारका पूर्वसचिव किशोर थापाले क्यानको संरचनागत सुधार गरेर जानुपर्ने खाँचो औँल्याए । फ्रान्सलगायत विश्वका अन्य मुलुकमा पनि ‘अथ्योरिटी बडी‘ एउटै रहेको उदाहरण प्रस्तुत गर्दै नेपालको सन्दर्भमा दुई अलग निकाय बनाउन जरुरी नरहेको उनले बताए ।

पूर्वसचिव थापाले भने, ‘अलग–अलग दुईवटा प्राधिकरण गठन नगरौँ । हालको प्राधिकरणलाई अझ व्यवस्थित गरौँ । पर्यटन मन्त्रालयको महाशाखालाई बलियो बनाऔँ । हवाई विभागको संरचना बनाएर अगाडि बढ्न सकिन्छ, त्यसैले हतारमा विधेयक पारित गराउनेतर्फ नलागौँ ।’

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा गैरसैनिक हवाई उडान ऐन, २०१५ को प्रावधान केही पनि उल्लेख नगरेर त्रुटि गरेको उनले दाबी गरे ।

क्यानका पूर्वमहानिर्देशक रतिश चन्द्रलाल सुमनले अलग–अलग निकाय बनाउँदैमा हवाई सुरक्षाप्रणालीमा सुधार आउन नसक्ने जिकिर गरे । उनले क्यान सेवाप्रदायकमा बढी केन्द्रित भएको र नियामकीय काममा ध्यान नदिएकाले हवाई सुरक्षाअभिवृद्धि हुन नसकेको उल्लेख गरे ।

‘सुरक्षामा जति बजेट हुनुपर्ने हो त्यो छैन । विमानस्थल सेवामा नाफामात्रै हेरेर हुँदैन हवाई सुरक्षामा पनि लगानी बढाउनुपर्छ ।’

विसं ०८१ माघ १९ गते प्रतिनिधिसभामा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समितिका सदस्यहरूले हवाई सुरक्षालाई राम्रो बनाउन के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भनेर विज्ञहरूसँग जिज्ञासा राखेका थिए ।

समितिका सभापति राजकिशोर यादवले मुलुकको हवाई सेवालाई व्यवस्थित र सुरक्षित बनाउन के कस्ता उपाय अपनाउन सकिन्छ र प्रस्तावित नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा समेट्नुपर्ने विषयबारे विज्ञहरूबाट रायसुझावका लागि बैठकमा छलफल गरिएको जानकारी दिए ।

समितिले हवाई सेवा प्राधिकरण विधेयकमाथि विज्ञहरूबाट सुझाव लिएको हो । विज्ञहरूले विधेयकका प्रावधान र समेट्नुपर्ने विषयमा समितिलाई प्रस्तुतीकरण दिएका थिए ।