देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अकबरी सुन सरह


अपराधको सूर्य निलेर उदाएको मान्छे
तर ऊ अपराधी ठहरिएन
दुनियाँको मुक्तिदाता बन्यो
उनीहरूको रेखदेख गर्न
कतिपटक ‘रेख–देख–आसन’मा बस्यो पनि ।

असन्तुलित सन्तुलन बिग्रेर
एकपटक, फगत एकपटक
उद्दण्ड बनेर अखडामा लड्दा
कुस्तीबाज कानेको जस्तो उसको नकाब फुस्क्यो
उसको खतरनाक चेहरा सबैले देखे ।

प्रलयकारी आगो ओकल्यो
रेख–देख गर्न बसेकाहरूकै अगाडि
ती त्यहाँ बस्न नसकेर सब भागाभाग भए
अनि पोलेको घाउ निको पार्न
आगोमा ओत लागेर सेकाउन थाल्यो ऊ
एक दिन होइन, दुई दिन, बर्सौंवर्ष
पूरा एक दशक ।

उसको सर्वोच्च संरक्षक यहाँको धर्ताकर्ता
त्यस दिनदेखि नै लागिपरिराखे
अनवरत प्रयत्न गरिराखे सुनपानी छर्कन
उनलाई भाले खान यस्तै कालो मान्छेहरू नै चाहिने
नाकानाकामा छन् उनका सुनपानी छर्किने दासहरू
मालिकको सेवा गर्ने मौका पर्खिरहेका ।

एउटा नाकाको तैनाथले यो सौभाग्य प्राप्त ग¥यो
दायाँबायाँ केही नहेरेर कामातुर मान्छेजस्तो
उसले मालिक रिझाउने यो मौका छोपी हाल्यो
यति धेरै तागत थियो उसको स्पर्शमा
त्यो गोल्डेन टच अर्थात् सुनौलो स्पर्शमा
गोलसरह कालोलाई सुनसरह चोखो बनाइदियो
निक्खरा चोखो, अकबरी सुनसरह ।

ऊ फेरि मुक्तिदाता बन्न चाहन्छ दुनियाँको
ऊ फेरि ‘रेख–देख–आसन’मा बस्न चाहन्छ
एउटै लाटोकोसेरोले बगैँचा ध्वस्त पार्न सक्छ
यहाँ त हाँगाहाँगामा छन् लाटोकोसेराहरू
के हाल होला यो चार जात छत्तीस वर्णको बगैँचाको ।