देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलको हाहाकार यथावत्

देशान्तर

आज असार १५ गते, राष्ट्रिय धान दिवस, नेपालका कृषक दाजुभाइहरूले ‘मानो रोपेर मुरी फलाउने’ दिन हर्षोल्लासका साथ मुलुकको प्रमुख अन्नबाली धान रोपेर मनाउनुपर्नेमा मलको हाहाकारकाबीच खिन्न मनका साथ मनाउनुपर्ने बाध्यता सरकारले सिर्जना गरेको छ । धानको उत्पादनलाई अर्थतन्त्र वृद्धिको मेरुदण्डको रूपमा पनि लिइन्छ । तर, उत्पादन बढाउन आवश्यक मलखादको बर्सेनि हुने अभाव यस वर्ष पनि यथावत् रूपमा रहेपछि कृषकहरूले हैरानी व्यहोर्नु पर्ने निश्चित छ । राजनीतिमा स्वच्छ छवि र इमानदार भनेर चिनिएका कृषिमन्त्री रामनाथ अधिकारीले नै मलको अभाव हुने स्विकारेबाट पनि यो कुरा पुष्टि हुन्छ ।

सरकारले समयमै मल आयात र वितरणको व्यवस्था गर्न नसक्दा किसानहरू निराश छन् । मलको कालोबजारी मौलाएको छ, डिलरहरूले मनपरी मूल्यमा मल बेचिरहेका छन् । यो समस्या नयाँ होइन, तर सरकारको उदासीनताले यसलाई जटिल बनाएको छ । मल आपूर्तिका लागि ठोस योजना बनाउनुको सट्टा सरकारले आश्वासनको खेतीमा समय खर्चिरहेको छ ।

नेपालको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले साँढे २६ प्रतिशत योगदान दिएकोमा कूल कृषि उत्पादनमा धानको २० प्रतिशत योगदान रहेकाले धानको उत्पादनमा हुने घटबढले देशको समग्र आर्थिक वृद्धिदरमा उल्लेखनीय प्रभाव पार्ने कृषिविज्ञहरूको भनाइ छ । कृषिप्रधान देश नेपालको कूल जनसंख्याको ठूलो हिस्सा प्रत्यक्ष वा परोक्ष रूपमा कृषि क्षेत्रमा आश्रित रहेको अवस्थामा बाली लगाउने समयमा नेपालमा बर्सेनि रासायनिक मलको अभाव हुँदै आएकोमा यस वर्ष पनि विगतका वर्षहरूको नियती दोहोरिन थालेको छ । मुख्य कृषिबाली धान खेती र गहुँ खेती गर्ने बेला किसानले सधैँको वर्षझैँ यस वर्ष पनि मल अभाव खेप्नुपरिरहेको छ । धान रोप्नुपर्ने बेला किसानहरू रासायनिक मलको जोहो गर्न भौँतारिनुपर्ने अवस्थाले हैरानी र सास्ती खेप्नुपरेको छ ।

मल कृषि उत्पादनमा वृद्धि ल्याउनका लागि अत्यावश्यक तत्व हो । तर, विगत केही वर्षदेखि नेपालमा रासायनिक मलको अभाव एक जटिल र बारम्बार दोहोरिने समस्या बन्दै जानु दुर्भाग्य हो । मलमा परनिर्भरता, सरकारी प्रक्रिया र ढिलासुस्ती, कमजोर भण्डारण र वितरण प्रणाली, अनियमितता र कालोबजारीलगायतका कारण मल अभाव हुने गरेको छ । मल अभावको प्रमुख कारण भनेको देशमा रासायनिक मल उत्पादन गर्ने उद्योग नभएकाले औपचारिक र अनौपचारिक संयन्त्रमार्फत विदेशबाट मल आयात गर्नुपर्ने भए पनि मागअनुसार पर्याप्त परिणाम आयात हुन नसक्नु हो ।

नेपालमा प्रायः सबै मल भारत, चीन लगायतका मुलुकहरूबाट आयात गरिन्छ । मल आयात प्रक्रिया ढिला हुनु, खरिद प्रक्रिया जटिल हुनु, टेन्डर प्रक्रिया समयमा नहुने र ढुवानीमा ढिलाइलगायत कारणले बर्सेनि मलको अभाव बेहोर्न बाध्य हुनुपरेको छ ।

असारको बेलामा कृषि प्रधान भनेर चिनिएको देशमै किसानले मल नपाउनु निकै विडम्बना हो । बर्सेनि नेपालमा मलको अभावले कृषि क्षेत्रलाई गम्भीर रूपमा असर गरिरहेको छ । सरकारले पटक–पटक रासायनिक मल ल्याउनका लागि गृहकार्य गरिरहेको भन्दै आए पनि खेती गर्ने बेला मलका लागि सधैँ ‘पुर्पुरोमा हात राख्नु पर्ने’ किसानको समस्या झन् विकराल बन्दै गएको छ । देशभर अहिले पनि रासायनिक मलको अभाव छ । देशभरका किसानले युरिया, डीएपी, पोटासजस्ता रासायनिक मलको अभाव निरन्तर भोगिरहेका छन् ।

धान रोप्ने समयदेखि धान गोड्ने समय, मकै छर्ने समयजस्ता बाली लगाउने मौसममा सधैँ अभाव हुँदा देशकै अर्थतन्त्रमा समेत प्रभाव पारिरहेको छ । सरकारले रासायनिक मल खरिदका लागि भन्दै हरेक वर्ष अर्बौं रकम विनियोजन गर्दै आएको छ । तर पनि किसानले समयमा मल पाउन सकेका छैनन् । बर्सेनि आवश्यक हुने रासायनिक मलको माग पूरा गर्न सकेको छैन । नेपालमा मल आपूर्तिको व्यवस्था परम्परागत किसिमको भएकाले सधैँ मल अभावको अवस्था सिर्जना हुने गरेको छ ।

कृषिमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् । बजारमा ११ लाख टन मल माग भए पनि आपूर्ति एक चौथाइ भएकाले किसानलाई समयमै दिन नसक्ने भन्दै निरीहता प्रदर्शन गरे ।

मलको अभाव केवल कृषि क्षेत्रको मात्र समस्या नभएर यो देशको अर्थतन्त्र र खाद्य सुरक्षासँग गाँसिएको विषय हो । बर्सेनि देशमा देखिएको मलको अभाव हुने समस्याको समाधानका लागि सरकारले दीर्घकालीन सोच, योजनाबद्ध नीति र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो ।