काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)मा सक्रिय राजनीतिक ‘कमब्याक’को घोषणा गरेसँगै पार्टीभित्र नयाँ तरंग पैदा भएको छ । शनिबार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उनले आफूले पार्टी सदस्यता नवीकरण गरेको र एमालेको एक सक्रिय सदस्यको रूपमा पुनः जोडिएको बताएकी छन् ।
उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दायित्व अझै पूरा नभएको भन्दै त्यसका लागि आफू अग्रसर रहेको बताइन् । ‘मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन, देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो,’ उनले भनेकी छन् । उनले जननेता मदन भण्डारीको भनाइ ‘जनता भनेका भगवान् हुन्’ र ‘राजनीतिमा थकाइ भन्ने हुँदैन’लाई स्मरण गर्दै आफू जीवनभर राष्ट्र र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् ।
विद्याले राष्ट्रपति पदबाट बाहिरिएको दुई वर्षभन्दा बढी समयपछि विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल र जनतासँग अन्तरक्रिया गरेर आफूले देशको सामाजिक–आर्थिक विकासबारे गहन चिन्तन गरेको बताइन् । उनले समयको पदचाप बुझेर संयमतापूर्वक अघि बढ्नुपर्ने र सबैको माया तथा विश्वास पाइरहने विश्वास व्यक्त गरिन् ।
उनको यो सक्रिय राजनीतिमा फर्कने निर्णयले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती थपिएको विश्लेषकहरूले बताएका छन् । पार्टीभित्र उनको प्रभाव र लोकप्रियताले नयाँ गतिशीलता ल्याउन सक्ने र नेतृत्वमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
शनिबारको कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई प्रमुख अतिथि बनाइएको थियो भने भण्डारीलाई विशिष्ट अतिथिको रूपमा राखिएको थियो । प्रधानमन्त्री ओली शनिबार नै स्पेन भ्रमणमा जाने भएकाले पहिला नै भाषण गरेर बिदा हुँदा भण्डारीले आफ् कुरा पनि सुनेर जान आग्रह गरेकी थिइन् ।
जवाफमा ओलीले भने, ‘विद्याजीको कुरा पहिला पनि सुनेकै हो ।’ विगतमा मदन भण्डारी फाउन्डेसनबाट आफूलाई शक्तिमा पु¥याएका ओली र विद्याको सम्बन्ध अहिले त्यति सहज भने नभएको एमालेकै नेताहरू बताउँछन् । भण्डारीको चीन भ्रमणपछि त झनै ओली सशंकित बनेका छन् ।
भण्डारीले राजनीतिमा फर्किने इच्छा देखाएसँगै एमालेमा गुटबन्दी सुरु भइसकेको रूपमा धेरैले अर्थ लगाएका छन् । यसअघि भएका पार्टीका आन्तरिक चुनावहरूमा अध्यक्ष ओलीले सहमतिका लागि फर्मान जारी गर्दा पनि कार्यकर्ताहरूले चुनावी प्रतिस्पर्धा रोज्न थालेका छन् भने पार्टीकै शीर्ष नेताहरूका बीचमा पनि गुटबन्दी सुरु भइसकेको छ । यसबीचमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा निषेध गर्नका लागि विधानमै व्यवस्था गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरे पनि अन्य पदाधिकारीले नमान्दा पोखरेल नै अप्ठ्यारोमा परेका छन् ।
अहिले खास गरेर विधान अधिवेशन नजिकिँदै गर्दा उमेरहदको विषय एमालेमा पेचिलो बन्दै गएको छ । भदौमा विधान अधिवेशन र मंसिरमा महाधिवेशन गर्ने तयारीमा रहेको एमालेका अध्यक्ष ओलीले आफू स्वस्थ रहेको र १५–२० वर्ष नेतृत्वमा नचिहाउन भनेका थिए । तर, विधानमा भएको व्यवस्था ७० वर्षे कार्यान्वयन भएमा उनी महाधिवेशनमा उम्मेदवार नै बन्न पाउने छैनन् । अहिले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरू उमेरहद जसरी पनि लगाएर ओलीलाई पार्टीबाट बिदा गर्ने र भण्डारीलाई नेतृत्वमा स्थापित गर्ने रणनीतिमा लागेको बुझिएको छ ।
प्रतिक्रिया