काठमाडौं । काठमाडौंको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।
राति १० बजेको समयमा काठमाडौंको टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल पछाडि विष्णुमती खोला किनाराबाट बाप्र०१–०३१ च ६१४१ नम्बरको निजी कार अचानक खोलामा खसेको थियो ।
काठमाडौंको धुम्बाराही बस्ने अंकुुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बगेकी थिइन् । चालक खोला किनारामा हामफाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।
बाँनियाटार पुलमा आइपुगी गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकी महिला दाङ घर भई हाल टोखा बस्दै आएकी थिइन् ।
उनलाई प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि ग्रिनसिटी अस्पताल पठाएको छ ।
क्रेनको सहायताले खोलाभित्र रहेको कारसमेत बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया