देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

देशान्तर

काठमाडौं । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेको छ । उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । ‘पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ,’ उनले भने ।

नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । संघले आजदेखि लागु हुनेगरी समर्थन मूल्य तोकेको छ ।

बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको छ ।

व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट) को ठूलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने गरेका अध्यक्ष पोखरेलले बताए । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको उनले बताए ।

गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचेकाले नयाँ चल्ला राख्न सकेका छैनन् । अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो ।

धेरै किसान विस्थापितसमेत भएको अध्यक्ष पोखरेल बताउँछन् । गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्छ ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट यहाँ ल्याइएका नमुना हेर्दा ५० फार्ममा एच ९ (एचनाइन) रोगको संक्रमण देखिएको छ ।

यससँगै गम्बारो, साल्मोनेलाजस्ता समस्या छन् । जसले गर्दा अण्डाको उत्पादन घटेको उहाँ बताउँछन् । वर्षात् समयमा चर्को गर्मीसँगै ढुसीजन्य आहारका कारण रोग बढ्ने र उत्पादन घट्ने प्रमुख डा. श्रेष्ठ बताउँछन् ।