देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ए लोकतन्त्र, खै तिम्रो उडान ?

देशान्तर

प्रदीप ढकाल

१०४ वर्षीय जहानिया राणाशासनको अन्त्यसँगै २००७ साल फागुन ७ गते नेपालको ईतिहासमा प्रजातन्त्रको सुनौलो उषाले लाली छर्दै नवयुगको सूत्रपात गर्‍यो। प्रजातन्त्रको यस उदयले तत्कालीन समयमा नेपाल एउटा नयाँ मार्गमा अग्रसर भएको सन्देश देशभित्र मात्र नभई विश्वभर फैलायो। तर, दुर्भाग्यवश, तत्कालीन शासकहरूमा अनुभवको अभावका कारण परिकल्पना गरिएका कार्यहरूमा ढिलाइ भयो। फलतः २०१५ सालमा मात्र निर्वाचन सम्पन्न भयो। यस निर्वाचनमा नेपाली कांग्रेसले बहुमत हासिल गर्‍यो र विश्वेश्वरप्रसाद कोइराला नेपालको इतिहासमै प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो। विडम्बना! भर्खरै पल्लवित हुँदै गरेको कलिलो प्रजातन्त्रको वृक्षलाई तत्कालीन महाराजधिराज श्री ५ महेन्द्र वीरविक्रम शाहदेवले २०१७ साल पुस १ गते निर्ममतापूर्वक निमोठिदिए। देशमा राजनैतिक अस्थिरताको कालो बादल मडारियो र ‘पार्टीहरू विदेशी शक्तिको इशारामा रम्न थाले’ भन्ने वक्तव्यका साथ मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था लागू भएको घोषणा गरियो।

त्यत्रो सङ्घर्षपश्चात् प्राप्त प्रजातन्त्रले स्वतन्त्रपूर्वक हुर्कन पाएन। २०१७ मा निर्दलीय पञ्चायत घोषणा गरेका महेन्द्रको २०२८ सालमा हृदयाघातका कारण देहावसान भयो। तत्पश्चात् उनका ज्येष्ठ पुत्र वीरेन्द्र वीरविक्रम शाहदेव गद्दीमा आए। गद्दीमा आउने बित्तिकै उनी अलि उदार प्रवृत्तिका भएका कारण तत्कालीन शासकहरूलाई उनीबाट प्रजातन्त्र फिर्ता हुने विश्वास थियो। तर दुर्भाग्यवश, त्यसो हुन सकेन। उनीबाट पनि प्रजातन्त्र फिर्ता नहुने देखेपछि २०४६ साल फागुन ७ गते नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा जनआन्दोलन घोषणा भयो। फागुन ७ बाट सुरु भएको आन्दोलन चैत्र २६, अर्थात् ४९ औँ दिनमा, राजा वीरेन्द्रले जनताको नाममा सम्बोधन गर्दै त्यसै दिनदेखि मुलुकमा बहुदलीय प्रजातन्त्र सुरु भएको र निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएको घोषणा गरे।

२०४६ सालको पहिलो जनआन्दोलन नेपालको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो। यसले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्र अन्तर्गत बहुदलीय प्रजातन्त्रको युगको सुरुवात गर्‍यो। यस ऐतिहासिक परिवर्तनले ठूलो आशा जगायो, किनकि नागरिकहरूले अन्ततः मौलिक राजनीतिक स्वतन्त्रता र आफ्ना प्रतिनिधिहरू छान्ने अधिकार प्राप्त गरे। नयाँ संविधान जारी गरियो, जसले नागरिक स्वतन्त्रताको ग्यारेन्टी गर्‍यो र संसदीय प्रणाली स्थापना गर्‍यो। सुरुका वर्षहरूमा विभिन्न राजनीतिक दलहरूले चुनावमा प्रतिस्पर्धा गर्दै जीवन्त राजनीतिक परिदृश्य देखियो, जसले नयाँ सशक्त जनताको आकांक्षालाई प्रतिविम्बित गर्‍यो।

यद्यपि, नवोदित प्रजातन्त्रले चाँडै नै महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्‍यो। राजनीतिक अस्थिरता एक आवर्ती विषय बन्यो, दलहरूभित्रको आन्तरिक द्वन्द्व र सत्ताको लागि तीव्र प्रतिस्पर्धाका कारण सरकारहरू बारम्बार परिवर्तन भइरहे। यस अन्तर्निहित अस्थिरताले दीर्घकालीन नीति कार्यान्वयन र विकास पहलहरूमा बाधा पुर्‍यायो। यसका अतिरिक्त, जनआन्दोलन पछिको दशकमा २०५२ सालमा माओवादी जनयुद्धको उदय भयो। यस सशस्त्र द्वन्द्वले राष्ट्रलाई लामो समयसम्म हिंसाको चपेटामा पार्यो र प्रजातान्त्रिक प्रक्रियामा गम्भीर अवरोध पुर्‍यायो, जसले गर्दा शासन र विकासको सट्टा बढ्दो संकट व्यवस्थापनमा ध्यान केन्द्रित भयो। यी चुनौतीहरूका बाबजुद, यस अवधिमा सार्वजनिक चेतना र राजनीतिक बहसहरूमा सहभागितामा उल्लेखनीय वृद्धि भयो। सञ्चार माध्यमको स्वतन्त्रता विस्तार भयो, र नागरिकहरू आफ्ना अधिकारहरूप्रति बढी सचेत भए, जसले भविष्यका प्रजातान्त्रिक आन्दोलनहरूको लागि महत्वपूर्ण आधारशिला तयार गर्‍यो। दिगो प्रजातन्त्रको प्रारम्भिक वाचाले उल्लेख्य अवरोधहरूको सामना गरे पनि, जनताको सार्वभौमसत्ताको बीउ रोपिएको थियो, तर यसो हुँदै गर्दा २०५८/२/१९ का दिन दरबार हत्या काण्ड हुन पुग्यो। त्यसपछि भाइ ज्ञानेन्द्र वीरविक्रम शाह सत्तामा आए। सत्तामा आएपछि उनले बुवाको बाटो समात्दै २०६२ साल माघ १९ गते प्रत्यक्ष शासन सत्ता लिँदै संसद विघटन गरिदिए। यस निर्णयसँगै उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार बर्खास्त गरे र कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका सबैको शक्ति आफूले लिएको घोषणा गरे।

त्यसपछि, उनले धेरै राजनीतिक नेताहरूलाई गिरफ्तार गरे वा घरमै नजरबन्दमा राखे, जसमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, शेरबहादुर देउवा लगायतका नेताहरू पनि थिए। यो कदमलाई लोकतन्त्रविरोधी भन्दै देशभरि ठूलो विरोध भयो र यही आन्दोलनले २०६२/६३ सालको जनआन्दोलन (दोस्रो जनआन्दोलन) जन्मायो, जसको परिणामस्वरूप राजतन्त्र अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो खुल्यो।

आज गणतन्त्र स्थापना भएको १७ वर्ष पुगिसक्दा पनि जनतामा कुनै आशाका किरण देखिएका छैनन्। चारैतिर भ्रष्टाचार, चोरी, डकैती, बलात्कार, हत्या हिंसाका लहरहरू व्याप्त छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकजसो २५०० देखि ३००० जना युवाहरू विदेशिँदै छन्, गाउँघर रित्तिँदै छन्। लोकतन्त्र आयो तर जनताले त्यसको वास्तविक प्रत्याभूति गर्न पाएका छैनन्। ‘कोही नभएको जात्रा हाँडी गाउँमा’ भनेझैँ, व्यवस्थापिकाका दुई ठूला दल मिलेर सरकारमा छन् तर देशको सबैभन्दा सम्माननीय व्यक्ति प्रधानमन्त्री जहाँ पाइला हाल्छन्, त्यहीँ ‘चोर देश छोड’ भन्ने नारा लाग्छ। जनतामा चरम निराशा छाएको छ। दुईतिहाइको दम्भले सरकार तानाशाही बनिरहेको छ। ए लोकतन्त्र, तिमी कसको हातमा पर्यौ? तिमी कहाँ चुक्यौ? ए लोकतन्त्र, खै तिम्रो उडान ?
सत्यवती गुल्मी