काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ पुस्ताको विश्वास जित्नका लागि २०६२÷६३ को आन्दोलनपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न एक स्वतन्त्र र शक्तिशाली आयोग बनाउन माग गरेका छन् । महामन्त्री थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको पनि बताए ।
नेविसंघ दोलखा–काठमाडौं सम्पर्क समितिले आज आयोजना गरेको ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नयाँ पुस्ताले राजनीतिक दल र नेताहरूलाई भ्रष्ट र काम नलाग्ने संस्थाको रूपमा बुझ्न थालेकाले उनीहरूको विश्वास जित्न पनि यस्तो आँट गर्नुपर्ने बताए । कुनै पनि दलको भागबन्डामा नपरेको मान्छेलाई आयोगमा राखेर निष्पक्ष छानबिन गराउन नसक्दासम्म अबको पुस्ताले नेताहरूलाई विश्वास नगर्ने पनि उनले स्पष्ट पारे ।
उनले नयाँ पुस्ताले सदाचारयुक्त राजनीति खोजेको बताउँदै उनीहरूको विश्वास आर्जन गर्न ठोस कदम चाल्नुपर्ने बताए ।
प्रतिक्रिया